साप्ताहिक संवाददाता
समूह 'सी' का खेल मंगोलियाको उलनबटोरमा भएका थिए र त्यहाँ जानुअघि प्रशिक्षकले भनेका थिए, 'हाम्रो उद्देश्य अन्तिम चरणका लागि छनोट हुनु हो।' मनाङले त्यो उद्देश्य त प्राप्त गर्यो नै, त्यो भन्दा ठूलो मनाङ समूहको विजेता रह्यो। जितपछि नवीनको प्रतिक्रिया थियो— 'हाम्रा लागि यो ठूलो उपलब्धी हो, हामी यसमा सन्तुष्ट छौं।'
मनाङले आफ्नो पहिलो खेलमा कम्बोडियाली लिग च्याम्पियन सेभरिङको सामना गरेको थियो र त्यसमा ६-३ को जित निकाल्न सफल रह्यो। त्यसमा दीपक राईले २ गोल गरेका थिए भने सुलभ मास्के, निराजन मल्ल तथा अजिजले १-१ गोल गरेका थिए। थप एक गोल आत्मघाती रह्यो। मनाङको सफलता अन्ततः यही जितमा आधारित भयो।
लिगको अर्को खेलमा घरेलु टिम इर्चिम एफसीले सेभरिङलाई ३-१ ले हराएपछि मनाङ अर्को चरणमा पुग्ने तय भएको थियो। यस्तोमा मनाङ र इर्चिमबीचको खेलले समूह विजेता तय गर्ने निश्चित थियो। उक्त खेल गोलरहित बराबरीमा टुंगियो। मनाङले सफलतापूर्वक इर्चिमको लगातारको आक्रमण रोकेको थियो।
मनाङ गोल अन्तरका आधारमा समान अंकमा पनि समूह विजेता भयो। यससँगै मनाङले थप २ वटा उपलब्धि हात पारेको छ, पहिलो मनाङले अन्तिम संस्करणको प्रेसिडेन्ट्स कपको अन्तिम चरण खेल्नेछ, जसमा मनाङसँगै छ टिम हुनेछन्। त्यसबाहेक मनाङले एएफसी कपको प्ले-अफ पनि खेल्नेछ। यसक्रममा मनाङ एएफसी प्ले-अफ खेल्ने पहिलो नेपाली क्लब हुनेछ।