साप्ताहिक संवाददाता
ब्राजिलीयन टिमका प्रशिक्षक लुइज फिलिपे स्कोलारीले कस्तो टिम छनोट गर्नेछन् ? आउने केही दिनमा लगभग सबै टिमले विश्वकपका लागि प्रारम्भिक टिम घोषणा गर्नेछन्। स्कोलारीले भने अहिले तत्काल आफ्नो टिमका प्रमुख आठ खेलाडी घोषणा गरेका छन्। यिनै खेलाडीको वरिपरि यसपटकको ब्राजिलीयन टिम चल्नेछ।
यी आठ खेलाडीको सूचीले कसैलाई आश्चर्यमा पनि पारेको छैन। थिएगो सिल्भा र डेविड लुइजले ब्राजिलको मध्यपंक्ति सम्हाल्ने तय जस्तै छ। यी दुईमध्ये पनि पीएसजीका सिल्भाले टिमको नेतृत्व सम्हाल्न सक्छन्। चेल्सीका लुइज सम्भवतः कप्तानका लागि दोस्रो रोजाइ हुनेछन्। यसपल्टको ब्राजिलीयन टिममा चेल्सीका खेलाडीको बाहुल्यता हुन सक्छ।
किनभने ओस्कर, विलियन र रामेरिसले पनि ब्राजिलीयन टिममा स्थान पाउने लगभग तय जस्तै छ। अर्को इङ्लिस प्रिमियर क्लब टोटनहमका पउलिन्हो पनि स्कोलारीका प्रिय खेलाडी हुन्। उनको स्थान पनि निश्चत जस्तै छ। ब्राजिलीयन लिगका फ्रेड र टोरन्टोमा खेलिरहेका जुलियो सिजर पनि प्रशिक्षकका रोजाइ हुन्।
यो सूचीमा नेयमार कसरी छुट्न सक्छन् र ? बार्सिलोनाका फरवार्ड नेयमार अहिलेको ब्राजिलका सबैभन्दा चर्चित खेलाडी हुन्। उनैले ब्राजिलीयन टिमको आक्रमण सम्हाल्ने निश्चित जस्तै छ। 'हामी आफ्नै घरमा आफ्नै समर्थक अगाडि खेलिरहेका छौं, यो फाइदा पनि हो, दबाब पनि हो। जे होस, हामीले कडा मेहनत गर्नु पर्ने निश्चित छ,' प्रशिक्षक स्कोलारी भन्छन्।