साप्ताहिक संवाददाता
नायिका अरुणिमा लम्सालले आमा बनेपछि कमब्याक गरेको चलचित्र 'पीपल' आज शुक्रबार सार्वजनिक हुँदैछ। पुराना चलचित्रकर्मी नीरञ्जन कसजूको डेब्यु निर्देशनको यो चलचित्र व्यावसायिक धारमा आधारित छ। चलचित्रमा नायिका अरुणिमा लम्सालले दलित युवतीको भूमिका निर्वाह गरेकी छिन्। गर्भवती भएर सहरबाट गाउँ पुगेकी अरुणिमाले गाउँलेहरूको तिरस्कारपछि गाउँ नजिकैको पीपलको रूखमा सन्तान जन्माएको प्रसंगबाट प्रारम्भ हुने यो चलचित्रमा दुई पुस्ताबीचको कथा समेटिएको छ जसमा अरुणिमा र किशोर खतिवडाले अघिल्लो पुस्ताको प्रतिनिधित्व गरेका छन् भने यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्ने सुष्मा अधिकारी तथा अमित ठकुरीले दोस्रो पुस्ताको प्रतिनिधित्व गरेका छन्।
निर्देशकः प्रशान्त तामाङ
कलाकारः केकी अधिकारी, प्रशान्त तामाङ, कुशल याख्वा, रोमन लिम्बु, उज्ज्वल बुढाथोकी, आशिष ठाकुर, विवेक थेवे, अविरल शर्मा तथा प्रेम कुमार जिमी।
धरानका चलचित्रकर्मी प्रशान्त तामाङको डेब्यु निर्देशनको चलचित्र 'ठूलो मान्छे' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। बाल मनोविज्ञानमा आधारित यो चलचित्रमा स्कुले बालबालिकाहरू मुख्य भूमिकामा छन्। चलचित्रमा विद्यालयमा पढाउने पुरातन शैलीभन्दा सांगीतिक विधिबाट पढाउँदा विद्यार्थीले सिक्ने सिकाइमा सकारात्मक प्रभाव पर्ने कुरा पनि दर्शाइएको छ। यो चलचित्र अभिभावकले आफ्ना छोराछोरीलाई पढाइमा मात्र घोटाउने, जबरजस्ती पढ्न लगाउने तर रुचिअनुसारको शिक्षाबाट बञ्चित गर्दा विद्यार्थीहरूमा के-कस्तो प्रभाव पर्छ र त्यसले नेपाली समाजमा कस्तो असर परिरहेको छ भन्ने विषयमा केन्दि्रत छ। सानो उमेरमा बुबा आमादेखि अधिकांश अग्रजले बालबालिकालाई आशिष दिँदा 'ठूलो मान्छे' बनेस् भन्छन् तर उनीहरूले कहिल्लै पनि असल मानिस बनेस भनेर नभनेको प्रसंग जोडिएको यो चलचित्रमा नायिका केकी अधिकारी पनि विद्यार्थीको भूमिका छिन्। चलचित्रका निर्देशक प्रशान्त तामाङ यही चलचित्रमार्फत नायकका रूपमा डेब्यु गर्दैछन्।
निर्देशक ः सुवास कोइराला
कलाकारः प्रियंका कार्की, दिव्यदेव पन्त, सुशीलराज पाण्डे, एमएस अग्रज, राजन इशान, नरेश पौडेल, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर तथा सिमोनजंग मल्ल।
संगीतकार ः स्वप्निल शर्मा, बाबु बोगटी, कसम नेपाल, शैलेन्द्र सिंह तथा शैलेश श्रेष्ठ।
आज शुक्रबार सार्वजनिक हुने चलचित्र 'आवरण' नायिका प्रियंका कार्कीको वरिपरि घुमेको छ। यो चलचित्र एउटा मान्छेको बाहिरबाट देखिने र भित्री स्वरूपमा कस्तो फरक हुनसक्छ भन्ने कथामा आधारित छ। रहस्यमय कथामा आधारित भनिएको यो चलचित्र निर्देशन गर्नुअघि निर्देशक सुवास कोइरालाले 'अपवाद' शीर्षकको चलचित्र निर्देशन गरेका थिए। अनिल योञ्जनले निर्माण गरेको यो चलचित्रका छायांकार हरि हुमागाईं हुन्। चलचित्रमा नायिका प्रियंका कार्कीसहित बाबु बोगटी, यमबुद्ध, सुजिता गुरुङ, बाबु बोगटी तथा हेमन्त रानाको पाश्र्व गायन छ। 'नाईँ नभन्नु ल-२' का बाल नायक अनुभव रेग्मीका साथमा बालिका आँचल अग्रज केसीले पनि यो चलचित्रमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्।