विश्वमा हरेक दिन कुनै न कुनै दिवस परिरहन्छ। सन् २००६ देखि हरेक वर्षको मे ७ का दिन मनाउन थालिएको विश्व गधा दिवस यसपटक नेपालमा समेत मनाइएको छ। श्रममा प्रयोग भएका गधालाई मानव मजदुरसरह सुविधा उपलब्ध गराउन माग गर्दै मे ८ तारिखका दिन पशुअधिकारकर्मीहरूले गधाको पूजा गर्दै मीठो खान दिएर यो दिवस मनाएका हुन्। साताव्यापी रूपमा विश्व मजदुर दिवस मनाइएको अन्तिम दिन उही र उस्तै मागसहित विश्व गधा दिवस मनाउन थालिएको हो। विश्व गधा दिवसको अवसर पारेर एनिमल नेपालले अघिल्लो बुधबार ललितपुर जिल्लाका विभिन्न इँटाभट्टामा कार्यक्रम गरी गधालाई मीठो दाना ख्वाएको थियो। त्यसअघि पशुअधिकारकर्मीहरूले जावलाखेलदेखि गोदावरीसम्म र्याली निकालेका थिए। यसपटकको गधा दिवसले गधासँग पनि मानव मजदुरसरह व्यवहार गरौं, आवाजविहीनहरूप्रति न्याय गरौं भन्ने नारा बोकेको थियो। गधालाई ग्रामीण क्षेत्रहरूमा विभिन्न प्रकारका सामान ओसार-पसारका लागि कडा परिश्रम गराइन्छ। फुड एन्ड एगि्रकल्चर अर्गनाइजेसनको अध्ययनअनुसार विश्वमा ४ करोड १० लाख गधा छन् । गधा र मानिसबीचको सम्बन्ध ६ हजार वर्षदेखिको मानिन्छ। हिन्दूधर्ममा गधालाई भगवती शीतलादेवीको वाहनका रूपमा पुज्ने चलन छ।