साप्ताहिक संवाददाता
सूचना-प्रविधिको यो युगमा सिक्न चाहने र सफलता प्राप्त गर्न चाहनेहरूका लागि धेरै अवसर छन्, त्यस्ता अवसर पहिचान गरी उपयोग गर्ने अक्कल चाहिन्छ। फेसबुक पनि एउटा यस्तै सजिलो माध्यम हो, जसको सदुपयोग गर्न सक्ने हो भने लोकसेवाको परीक्षामा सफलता हात पार्न सकिन्छ। नेपालमा झन्डैै १५ प्रतिशत जनताले फेसबुक प्रयोग गरिरहेको र फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्नेहरूमा अधिकांश युवायुवती नै रहेको तथ्यबाट पनि के पुष्टि हुन्छ भने लोकसेवाको तयारी गर्नेहरूमध्ये धेरैजसो फेसबुकको पहुँचमा छन् र त्यसको प्रयोग पनि गरिरहेका छन्। अहिले लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर बनाइएका विभिन्न पेजमा लाइक गर्ने, त्यस्ता सामग्रीहरू सेयर गर्ने तथा कमेन्ट गर्नेहरूको संख्या निरन्तर बढिरहेको छ।
कसरी गर्ने फेसबुकको सदुपयोग ?
अहिले मोबाइलबाटै लोकसेवाको तयारी सम्भव भएको छ। मोबाइलमा इन्टरनेट चलाएर विभिन्न उपयोगी सूचना, सामग्री, तथ्य, तथ्यांक तथा जानकारी, पाठ्यवस्तुहरू प्राप्त गर्न र अध्ययन गर्न सकिन्छ। लोकसेवालाई लक्षित गरेर खोलिएका विभिन्न पेजमा लाइक गर्ने हो भने आफ्नै वालमा निरन्तर रूपमा लोकसेवा परीक्षासम्बन्धी महत्त्वपूर्ण तथा नवीनतम सामग्रीहरू प्राप्त गर्न सकिन्छ, जसलाई तत्काल टिपोट गरी अध्ययन गर्नु उपयुक्त हुन्छ।
केही उपयोगी फेसबुक पेज
लोकसेवाको नाम जोडेर धेरै फेसबुक पेज सिर्जना गरिएका छन्, तर केही पेज त्यसमा राखिने सामग्रीहरू, पेज लाइक गर्नेहरूको संख्या तथा अपडेटका हिसाबले निकै चर्चित र उपयोगी छन्।
- लोकसेवा आयोग नामक फेसबुक पेज लाइक गर्नेहरूको संख्या १ लाख ८८ हजारभन्दा बढी छ। यो पेजमा सामान्य ज्ञानसम्बन्धी सामग्रीहरूका साथै लोकसेवा आयोगका विज्ञापन, नतिजा सूचनाका साथै लोकसेवा परीक्षा तयारीलाई लक्षित गरी विभिन्न खालका सामग्री निरन्तर रूपमा अपडेट भैरहेका हुन्छन्।
- घरबाटै लोकसेवाको तयारी नामक फेसबुक पेज पनि लोकसेवाको तयारी गर्ने फेसबुकेहरूबीच चर्चित छ। यो पेजलाई झन्डै ६० हजारले लाइक गरेका छन्। नायब सुब्बा, खरिदार, शाखा अधिकृत आदिको परीक्षालाई लक्षित गरेर यो पेजमा विभिन्न खालका सामग्री अपडेट गरिएको हुन्छ। यो पेजमा सामान्य ज्ञानका साथै आइक्यू प्रश्नोत्तर समेत दिइने भएकाले बढी उपयोगी हुनसक्छ।
- लोकसेवा आयोग डट एन पी नामक अर्को फेसबुक पेज पनि परीक्षा तयारीका लागि सहयोगी सावित हुनसक्छ। यो पेज लाइक गर्नेहरूको संख्या झन्डै २५ हजार छ र यसमा फेसबुकेहरूको सक्रिय सहभागितासमेत देखिन्छ।
- फेसबुकबाटै लोकसेवाको तयारी नामक फेसबुक पेज फेसबुकेहरू लाई नैै लक्षित गरेर सिर्जना गरिएको पेज भएको कुरा यसको नामले नै पुष्टि गर्छ। यो पेजलाई १९ हजार जनाले लाइक गरेका छन्।
- लोकसेवाको तयारी कक्षा नामक फेसबुक पेजमा नायब सुब्बा एवं खरिदारको विषयगत पत्रको नोट समेत राख्ने गरिएको छ।
- लोकसेवा सहयोगी, लोकसेवा आयोगको परीक्षा सोधिने प्रश्नहरूजस्ता फेसबुक पेज पनि लोकसेवा परीक्षाको तयारीका लागि सहयोगी सावित हुन सक्छन्।
फेसबुक पेज मात्र होइन, लोकसेवा तयारी कक्षा, पब्लिक सर्भिस कमिसन प्रिपेरेसनजस्ता फेसबुक ग्रुपहरूसमेत लोकसेवा आयोगको परीक्षा तयारी गरिरहेकाहरूका लागि लक्षित गरी सिर्जना गरिएका छन्। त्यस्ता ग्रुपमा सहभागी भएर आफ्नो ज्ञानको दायरा बढाउन तथा लोकसेवा आयोगको परीक्षा तयारीलाई अझ गति दिन सकिन्छ।
अनलाइन अभ्यास
कतिपय वेबसाइटले लोकसेवाको परीक्षा तयारीलाई लक्षित गर्दै परीक्षार्थीका लागि अनलाइन मार्फत नै अभ्यास गर्न समेत सम्भव बनाइदिएका छन् । परीक्षार्थीहरूलाई सशुल्क तथा निःशुल्क रूपमा वस्तुगत एवं विषयगत प्रश्नको उत्तर लेखनको अभ्यास गराउन विभिन्न वेबसाइट सञ्चालनमा छन्। लोकसेवा एमसीक्यू डटकम निःशुल्क रूपमा इतिहास, कला, संस्कृति, राजनीति, विज्ञान आदि विषयमा बहुवैकल्पिक वस्तुगत प्रश्नहरूको निःशुल्क रूपमा अनलाइन परीक्षा दिएर अभ्यास गर्न सकिन्छ। लोकसेवा गाइड डटकममा भने लोकसेवा आयोगका विभिन्न पदको परीक्षाको तयारी गर्न केही शुल्क तिर्नुपर्छ। शुल्क तिरिसकेपछि उक्त वेबसाइटले विभिन्न पदका वस्तुगत तथा विषयगत पाठ्यसामग्रीहरू प्रदान गर्नुका साथै अनलाइनमार्फत लगातार परीक्षा दिन सकिने एवं फिडब्याकसमेत दिने व्यवस्था मिलाएको छ। उक्त वेबसाइटले वस्तुगत मात्र नभएर विषयगत पत्रको समेत अनलाइन अभ्यास गराउँछ।
- यी नेपाली वेबसाइट मात्र नभएर विभिन्न खाले विदेशी वेबसाइटमा समेत निशुल्क रूपमा आईक्यू र सामान्य ज्ञानका प्रश्नोत्तरको अभ्यास गर्न सकिनुका साथै राष्ट्रिय अन्तराष्ट्रिय विषयका उपयोगी पाठ्यसामग्री समेत प्राप्त गर्न सकिन्छ। त्यसका लागि गुगलमा गएर आई क्यू टेष्ट (IO test) वा जी के टेस्ट (GK test) टाइप गरी सर्च गरेर आफूलाई आवश्यक सामग्री खोज्न सकिन्छ भने लेखन अभ्यास, स्मरणशक्ति बढाउने उपायजस्ता टिप्ससमेत सहजै प्राप्त गर्न सकिन्छ।
- नयाँ-नयाँ कुरा सिक्न तथा परीक्षामा आफूलाई अब्बल सावित गर्न सूचना-प्रविधिले धेरै सजिलो र सस्तो बनाइदिएको छ। फेसबुकजस्ता सामाजिक सञ्जाल, ब्लग तथा वेबसाइटहरूको उपलब्धताले अब आफ्नो मोबाइलबाटै घर बसी-बसी लोकसेवा परीक्षाको तयारी सम्भव हुँदै गएको छ। सरकारी जागिरप्रतिको बढ्दो क्रेजले बढाउँदै लगेको प्रतिस्पर्धा एवं परिवर्तित पाठ्यक्रमका कारण सिकाइका तरिकामा नविनताको खाँचो खटि्कएका बेला अब परम्परागत किताबी घोकाइबाट मात्र परीक्षामा सफलता प्राप्त गर्न सकिँदैन। यस्तो अवस्थामा सबैको पहुँचमा रहेको फेसबुकलाई समेत खुला तथा उपयोगी पाठशालाका रूपमा सदुपयोग गर्न सकियो भने लोकसेवाको परीक्षामा सफलता हात पार्न केही सहज हुन सक्छ।
अर्जेल केसी
खरिदारको परीक्षा दिँदा ध्यान दिनुपर्ने कुरा
लोकसेवाअन्तर्गत खरिदारको परीक्षा जेठको अन्तिम साता सञ्चालन हँुदैछ। लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्न चाहनेहरू यतिबेला कडा मेहनत गरिरहेका छन्। उनीहरूले विषयवस्तु र पाठ्यक्रमअनुसार अध्ययन गरेर मात्र पुग्दैन, परीक्षामा जानुपूर्व र परीक्षा दिँदा पनि विभिन्न कुराको ख्याल गर्नुपर्ने हुन्छ।
अंकभार
खरिदारको परीक्षामा प्रथम पत्रअन्तर्गत सामान्यज्ञान र सामाजिक अध्ययनतर्फ वस्तुगत बहुउत्तरमा २५ वटा प्रश्न हुन्छन् जसको अंकभार ५० हुन्छ। त्यसैगरी छोटो उत्तर ८ वटा हुन्छन्, जसको अंकभार ४० हुन्छ। लामो उत्तर दिनुपर्ने प्रश्न एउटा हुन्छ जुन १० अंकको हुन्छ। यसरी जम्मा १०० पूर्णांकका लागि एक घण्टा समय उपलब्ध हुन्छ। त्यस्तै द्वितीय पत्रमा सेवासम्बन्धी प्रश्नहरू सोधिन्छ। यसमा पनि वस्तुगत बहुउत्तर दिनुपर्ने प्रश्न २५ वटा, छोटो उत्तर दिनुपर्ने प्रश्न ८ वटा तथा लामो उत्तर दिनुपर्ने प्रश्न एउटा हुन्छ। यसमा पनि १०० अंकभारको परीक्षा हुन्छ जसका लागि १ घण्टा समय पाइन्छ। अन्तर्वार्ता भने ३० पूर्णांकको हुन्छ।
परीक्षा दिँदा ध्यान दिनुपर्ने कुरा
सबैभन्दा पहिले त आफू कुन सेवा, समूह र उपसमूहअन्तर्गत परीक्षा दिँदैछु भन्ने ख्याल गर्नुपर्छ। लोकसेवाको परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्छ। अरू मसी प्रयोग गरेको खण्डमा परीक्षा नै रद्द हुन्छ। लिखित परीक्षाको प्रत्येक पत्रका लागि उत्तीर्ण अंक ४० प्रतिशत मानिन्छ भने वस्तुगत बहुउत्तर प्रश्नमा गल्ती गरेको खण्डमा २० प्रतिशत अंक काटिन्छ। ऐन, नियम र नीतिहरूमा विशेष ध्यान दिनुपर्छ।
वस्तुगत प्रश्न हल गर्दा शैक्षिक परीक्षामा जस्तो चिह्न लगाउने नभएर जुन उत्तर सही हो त्यसको अक्षर चिह्न लेख्नुपर्छ। जस्तो क, ख, ग, घ मध्ये सही उत्तर क हो भने दिइएको बक्समा क लेख्नुपर्छ। केरमेट भए अथवा एकभन्दा बढी ठाउँमा लेखे त्यसलाई रद्द गरिन्छ र २० प्रतिशत अंक काटिन्छ। यद्यपि लामो र छोटो उत्तर लेख्नुपर्ने प्रश्नहरूमा गल्ती भए पनि अंक काटिँदैन। लामो/छोटो उत्तर लेख्ने क्रममा समयको विशेष ख्याल गर्नुपर्छ। कतिपय प्रश्नमा निजी विचार निकै महत्वपूर्ण हुन्छ।
त्यसैगरी उत्तरपुस्तिका बुझाउनुपूर्व एकपटक आफ्नो नाम, रोलनम्बर आदि जाँच गर्नुपर्छ। प्रश्न छुट्यो कि अथवा तलमाथि पर्यो कि भन्ने कुरा पनि ख्याल गर्नुपर्छ। त्यस्तै समावेशीतर्फ संलग्न हुने उम्मेदवारहरूले जुन-जुन समावेशी पदका लागि परीक्षामा संलग्न भएको हो उत्तरपुस्तिकाको माथिल्लो भागमा उक्त कुरा उल्लेख गर्नुपर्छ। सानोतिनो गल्तीले परीक्षाको नतिजामै असर पुग्न सक्ने भएकाले यस्ता कुराहरू विशेषः रुपमा ख्याल राख्नुपर्ने हुन्छ।
रामजी बलामी