साप्ताहिक संवाददाता
अफ्रिकी चलचित्र महोत्सव
गत मंगलबार प्रारम्भ भएको चौथो अन्तर्राष्ट्रिय नेपाल-अफ्रिका चलचित्र महोत्सव-२०१४ बिहीबार सम्पन्न भएको छ। महोत्सवमा नेपालसहित नाइजेरिया, मोरक्को, युगान्डा, दक्ष्ािण अफ्रिका, कंगो, इजिप्ट आदि देशका चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवकी संयोजक डा. मञ्जु मिश्रले अफ्रिकाको सांस्कृतिक विविधताका सम्बन्धमा जान्न, नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन गर्न तथा नेपालीलाई अफ्रिकामा अध्ययन तथा काम गर्न जाने प्रेरणा दिन महोत्सवको आयोजना गरिएको बताइन्। मिश्रले आगामी वर्ष अफ्रिकामा नेपाली चलचित्र महोत्सव आयोजित गर्न पहल भैरहेको समेत जानकारी दिइन। महोत्सवमा सञ्चारकर्मी डब्बु क्षेत्रीद्वारा निर्देशित चलचित्र 'राहदानी' पनि प्रदर्शन गरिएको थियो।
विवाह गर्दै सुस्मिता
अभिनेता भुवन केसीकी पूर्वश्रीमती तथा अभिनेत्री सुस्मिता बमजनले दोस्रो विवाह गर्न लागेको समाचार सार्वजनिक भएको छ। सुस्मिताले प्रेमी सोहन जैसवालसँग वैवाहिक जीवन प्रारम्भ गर्न लागेको बताइन्छ। उद्योगपति जैसवालसँग सुस्मिताले जेठ महिनाभित्रै विवाह गर्ने अनुमान गरिएको छ। भुवन केसीसँग सम्बन्धविच्छेद भएपछि सुस्मिता जैसवालसँगको प्रेममा छिन्। जैसवालले लगानी गर्ने एउटा चलचित्र सुस्मिताले निर्देशन गर्ने चर्चा पनि चलिरहेको छ।
रेन्जरको शुभसाइत
सरोज पौडेलले निर्देशन गर्ने चलचित्र 'रेन्जर' को शुभमुहूर्त गत साता काठमाडौंमासम्पन्न भयो। यो चलचित्रमा नन्दिता केसी, सौजन्य सुब्बा, जेनी कुँवर, पुष्कर भट्ट, सूरवीर पण्डित, दिनेशजंग खड्का, बिमला गिरी, अच्युतराज अर्याल, भाष्कर बानियाँ, सुरज सिंह, भावना गुरुङ, नीरज भण्डारी आदि कलाकारले अभिनय गर्नेछन्।
लज्जाको फस्र्टलुक
छवि ओझाको नयाँ चलचित्र 'लज्जा' को फस्टलुक सार्वजनिक भएको छ। तिहारको अवसर पारेर कात्तिक ७ गते प्रदर्शनमा आउने यो चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन्। नवल नेपालद्वारा निर्देशित यो नारीप्रधान चलचित्रको पोस्टरमा आर्यन र शिल्पालाई प्राथमिकता दिइएको छ।
छायांकनमा पूनर्जन्म
निर्माता मोहनकृष्ण श्रेष्ठको चलचित्र 'पुनर्जन्म' को छायांकन प्रारम्भ भएको छ। नायकद्वय आर्यन सिग्देल तथा गजित विष्टले सैनिकको भूमिका निर्वाह गरेको यो चलचित्र काठमाडौंवरपरका लोकेसनमा छायांकन भैरहेको छ। सजन श्रेष्ठले निर्देशन गरिरहेको यो चलचित्रमा केकी अधिकारी पनि महत्वपूर्ण भूमिकामा छिन्।
नेफ्टाको चहलपहल
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने सातौं संस्करणको नेफ्टा एवार्डका लागि जुरीले चलचित्र हेर्न थालेको छ। हङकङमा हुने यो एवार्डका लागि सञ्चारकर्मी भरत शाक्य संयोजक रहेको जुरीमा प्रभावकरदेव शर्मा, विश्वेस श्रेष्ठ, रक्षा सिंह राना तथा रामशंकर प्रधान सदस्य छन्। जुरीले गत जेठ १ गते चलचित्र 'उमा' बाट यो कार्य थालनी गरेको हो। करिब १ सयवटा चलचित्र हेरेपछि जुरीले उत्कृष्ट पाँचको तालिका एक महिनाभित्र सार्वजनिक गर्ने बताइएको छ।
भुवन अब निर्देशक
अभिनेता भुवन केसी अब निर्देशकका रूपमा दर्शकमाझ आउनेछन्। निर्माताका रूपमा स्थापित भैसकेका भुवनले काजोल फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र 'डि्रम' मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यो चलचित्रमा भुवनकै छोरा अनमोल केसी मुख्य भूमिकामा रहने पक्का भैसकेको छ।
बिर्खेलाई चिन्छस्
संगीतकर्मी अराज केशवको डेब्यु निर्देशनको चलचित्र 'बिर्खेलाई चिन्छस्' प्रदर्शनका लागि तयार छ। भदौ २० गते प्रदर्शनमा आउने यो चलचित्र अभिनेता सुवास थापाले निर्माण गरेका हुन्। चलचित्रको कथा अभिनेता थापाको जीवनसंघर्षको कथासंग मेल खाने बताइन्छ। चलचित्रमार्फत आयुषा राई नायिकाका रूपमा डेब्यू गर्दैछिन्।