साप्ताहिक संवाददाता
शंकरको शंकरमै
'हेयययय.....शंकर हो मेरो नाम शंकर' चलचित्रका लागि राजेश हमालले गर्जनका साथ भनेको यो डायलग जर्बजस्त हिट मानिन्छ। यो डायलगकै कारण राजेश हमालको पर्यायवाची नाम नै बन्यो— शंकर। तिनै शंकरले गत साता प्रेमिका मधु भट्टराईसँग इन्गेजमेन्ट गरे। संयोगको कुरा फिल्मी शंकरले मधुसँगको औपचारिक सम्बन्धको सुरुवात लाजिम्पाटस्थित शंकर होटलबाटै सुरु गरे। इङ्गेजमेन्ट समारोहमा राजेशले मधुलाई आमाको चिनोस्वरूप नेकलेस, चुरा र औंठी पहिर्याइदिएका थिए। जेठमा जन्मिएका, जेठा छोरा, जेठमै फिल्मी करियर सुरु गरेका, जेठमै प्रेमिकासँग पहिलो पटक भेटेका हमालले जेठमै मधुसँग वैवाहिक सम्बन्ध गाँस्न लागेका हमाल निकटस्थ चिरञ्जीवी आचार्य बताउँछन्। अक्सर जेठमा जेठो छोराको विवाह गर्न नहुने भनिए पनि कुनै वर्षको जेठ १४ गते मधुसँग भेट भएकाले त्यसैलाई शुभसाइत मानेर सोही दिन विवाह गर्न लागेको हमालको तर्क छ।
हराएकी छैनन् झरना
'म चलचित्र क्षेत्रबाट हराएकी छैन', नायिका झरना थापा यस्तै प्रतिक्रिया दिइरहेकी छिन्। लामो समयदेखि चलचित्रमा नदेखिएका कारण पनि उनलाई अचेल चलचित्रकर्मीदेखि सञ्चारकर्मीसम्मले 'चलचित्र क्ष्ाेत्रबाट किन हराएकी ?' भन्ने जिज्ञासा राख्छन्। आफैंले निर्माण गरेको पछिल्लो चलचित्र 'फेसबुक' ले राम्रो व्यवसाय गर्न नसकेको स्वीकार गर्ने झरना आगामी दिनमा धेरै पटक सोचेर मात्र चलचित्र निर्माण गर्ने योजनामा छिन्। त्यसो त यतिबेला उनी शीर्षक राख्न बाँकी रहेको एउटा चलचित्रको प्रि-प्रोडक्सनमा व्यस्त छिन्। 'शुभचिन्तक तथा दर्शकका लागि भए पनि म पुनः सक्रिय हुनु पर्ने भएको छ, झरना भन्छिन्— 'म अहिले आफ्नै ब्यानरमा नयाँ चलचित्र निर्माणको तयारी गरिरहेकी छु। प्रारम्भिक प्रक्रियाहरू सम्पन्न भैसकेका छन्। अबको केही दिनमै छायांकन प्रारम्भ हुनेछ।'
सुरबिनाको यौन शिक्षा
डेब्यु चलचित्र 'झेली' की नायिका सुरबिना कार्की पहिलो चलचित्रबाटै दर्शकको ध्यान आकषिर्त गर्न सफल भएकी छिन्। चलचित्रमा सुरबिनाले बोलेको 'सेक्सी बूढा, पानी त सित्तैंमा आउँदैन' भन्ने संवादले उनलाई चर्चामा ल्यायो। यही चलचित्रबाट एउटा एवार्डका लागि नवनायिकाको विधामा मनोनीत सुरबीनाले चलचित्रमा डेब्यू गर्नुअघि केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्। चलचित्र 'कात्तिक' मा आर्यन सिग्देल तथा 'नाइके' मा भूपेन चन्दसँग अनस्क्रिन रोमान्स गरिसकेकी सुरबिना यौनसम्बन्धी एक जिज्ञासामा भन्छिन्— 'यो मेरो कल्पनाभन्दा पनि बाहिरको कुरा हो, तर आफ्ना साथी-सँगीसँग यौनको विषयमा भने अलि खुलेर कुरा गर्नुपर्छ। जसले आफूमा कुनै यौन समस्या पर्दा समाधान गर्न सकियोस् र विवाहपूर्वको यौन सम्बन्धको नकारात्मक असरका विषयमा ज्ञान आर्जन हुन सकोस् अनि विवाहपूर्वको यौनसम्बन्धले सिर्जना गर्ने नकारात्मक कुराहरूमा सचेत हुन सकियोस्। त्यति हो मैले जानेको यौनका बारेमा।'
डेब्यु अञ्जनाको
अञ्जना कट्टेल पूर्वी नेपालका दर्शक-श्रोताका लागि परिचित नाम हो। २१ वर्षअघि मकवानपुरको हेटौंडामा जन्मिएकी अञ्जना अहिले इटहरीमा स्थायी बसोबास गर्छिन्। अग्लो कद तथा सुन्दर मुहारकी अञ्जना यतिबेला विराटनगरको मकालु टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा कार्यरत छिन्। उनको परिचय यतिमै सीमित छैन। अञ्जना नीर शाहद्वारा निर्देशित ऐतिहासिक चलचित्र 'सेतो बाघ' बाट नायिकाका रूपमा डेब्यू गर्दैछिन्। 'सेतो बाघ' को छायांकनमा सहभागी भएर हालै इटहरी फर्किएकी अञ्जनाले उक्त चलचित्रमा आफूले राजकुमारी साहज्यादीको भूमिका निर्वाह गरेको बताइन् । 'सेतो बाघ' को अभिनयबाट उत्साहित अन्जनाले अहिलेसम्म अभिनयलाई रहरका रूपमा मात्र लिएकी छिन्।