साप्ताहिक संवाददाता
- केदार घिमिरे माग्नेबुढो
दुई दशक पूरा गरेकोमा साप्ताहिकलाई हार्दिक बधाई। साप्ताहिक पढ्ने त आदत नै भैसक्यो। साप्ताहिकले मनोरञ्जन, ज्ञान, स्वास्थ्यजस्ता विविध पक्षलाई समयसापेक्ष ढंगले प्रस्तुत गर्दै आएको छ। साप्ताहिकले आफूले आफैंलाई प्रतिस्पर्धीका रूपमा लिएको अनुभूति पुराना संस्करणका पानाहरू पल्टाउँदा हुन्छ। पत्रिकाको मौलिकता ठूलो कुरा हो। सम्पूर्ण परिवारका लागि साप्ताहिक सदा मित्र बनिरहोस्— धेरै-धेरै शुभकामना।
- कला सुब्बा कोरियोग्राफर, आरजे
बधाई छ, साप्ताहिक टिमलाई। समग्रमा साप्ताहिकले सबै कुरा समेटेको छ, जुन मलाई एकदमै राम्रो लाग्छ। कहिलेकाहीं मध्यपृष्ठमा जुन मोडलको तस्बिर आउँछ, त्योचाहिँ अनप्रोफेसनल हुन्छ। जुन ग्लामर हुनुपर्ने हो त्यो हुँदैन, साथै उनीहरूको डे्रेसअप र स्टाइल 'चिप' लाग्छ।
- प्राश्ना शाक्य, गायिका
पत्रिकाहरूमा अब्बल पत्रिका हो— साप्ताहिक। यसले दिने मनोरञ्जनका समाचार मजस्तै लाखौं पाठकले अत्यधिक रुचाउँछन्। मलाई सबैभन्दा मन पर्ने इन्फो प्लस इन्टरटेनमेन्टको प्याकेज हो। ब्लो अपको तस्बिरचाहिँ अलिक सुधार्ने हो कि ?
- नरेशदेव पन्त, गीतकार/सञ्चारकर्मी
युवाहरूलाई लक्षित गरेर अघि बढेको साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना। साप्ताहिकको प्याकेजमा समाचार दिने स्टाइल मलाई मनपर्छ तर मनोरञ्जनलाई अलिक बढि नै फोकस गरेको हो कि भन्ने महसुस हुन्छ। साप्ताहिक ज्ञानवर्द्धक पत्रिका बनोस शुभकामना छ।
- लक्ष्मी खतिवडा, नेतृ, तरुण दल
सर्वप्रथम साप्ताहिक युनिटलाई २० वर्षको यात्रा पुरा गरेकोमा धेरै-धेरै बधाई। साप्ताहिकका हरेक कुरा काम गर्ने शैलीदेखि प्रस्तुति अनि सम्प्रेषणसम्म मलाई मनपर्छ। साताभरि छुटेका समाचार तथा विभिन्न क्रियाकलाप सातामा एकैपटक साप्ताहिक पढेर अपडेट हुने मौका पाइन्छ। साप्ताहिकको पेपर क्वालिटी अलिक राम्रो भैदिए तथा फ्रन्ट कभर डिसेन्ट अनि ग्ल्यामरस बनाउन सके सुनमा सुगन्ध हुने थियो।
- विश्व गौतम, फेसन डिजाइनर
यति ठुलो यात्राका निम्ति धेरै-धेरै बधाई। साप्ताहिकले रंगपत्रकारिताको आयामलाई उजिल्याएको छ। यसले नेपाली कला साहित्य तथा खेलकुदलाई प्रबर्द्धन गरेको छ जुन सराहनीय पक्ष हो। राजनैतिक समाचारलाई पनि गसिपका रूपमा समावेश गर्दै पत्रिकाको पेपर क्वालिटी बढाउन सुझाव दिन्छु। अरु त सबै राम्रो छ त्यहि भएर नै साप्ताहिक यति लोकप्रिय पनि छ।
- प्रमोद खरेल, गायक
साप्ताहिकलाई धेरै-धेरै बधाई छ। सर्वोत्कृष्ट मनोरञ्जन पत्रिका हो— साप्ताहिक। यसले आफ्नो जुन पहिचान बनाएको छ, त्यसअनुरूप नै आफूलाई निरन्तरता दिँदै जाओस्। अनावश्यक परिवर्तनले यसको पहिचान हराउन सक्छ, त्यसैले केही पनि परिवर्तन नगर्नुहोला।
- सुनिल थापा, अभिनेता
साप्ताहिकले २० वर्ष यात्रा पूरा गरेकोमा धेरै-धेरै शुभकामना। हरेक व्यक्तिको चाहना हुन्छ, साप्ताहिकमा आफ्ना बारेमा २ शब्द भए पनि लेखियोस्, किनभने यो सर्वप्रिय पत्रिका हो। केवल यही पत्रिकाको माध्यमबाट धेरै व्यक्तिले चर्चा पनि कमाएका छन्। यो पत्रिकाले जति अरू विधालाई स्थान दिन्छ, लोक तथा दोहोरी गीतलाई पनि समेटिदिए सुनमा सुगन्ध हुने थियो।
- रमेशराज भट्टराई, गायक/संगीतकार
साप्ताहिक आफैंमा सिंगो संसार हो, तथापी भन्नुपर्दा, साप्ताहिक युवा पुस्ताको ढुकढुकी हो। सबैको मन जितेको यो पत्रिकाले पस्किने खुराक सबैले मन पराउँछन्। यसले आगामी दिनमा सन्देश मुलक सामग्री प्रकाशन गरिदिए अझ राम्रो हुने थियो।
- दमन रूपाखेती, हास्यकलाकार
हरेक शुक्रबार बिहान साप्ताहिकबाट मेरो दैनिकी सुरु हुन्छ। मलाई साप्ताहिक एकदमै मनपर्छ। यसका सबै सामग्री उत्कृष्ट छन्। पुरुष मोडललाई पनि ब्लो अप मा राख्न सुरु गरे साप्ताहिकमा नयाँपन आउँथ्यो कि ? समग्रमा रिफ्रेसिङ छ— साप्ताहिक।
- नम्रता सापकोटा, मोडल
२० वर्ष पुगेकोमा साप्ताहिक परिवारलाई हार्दिक शुभकामना। मलाई सर्वाधिक मन पर्ने पत्रिका हो— साप्ताहिक। साप्ताहिकले संगीतका बारेमा अझ बढी समाचार दिनुपर्छ जस्तो लाग्छ। साप्ताहिकको असाध्यै राम्रो पक्ष भनेको सबै विषयसम्बन्धी पेज छुट्टयाउनु हो। यतिको समावेशी पत्रिका संभवत अरु नहोला।
- किरण माइकल, संगीतकर्मी/लेखक