चलचित्र पत्रकार संघले चलचित्र दिवस-२०७१ को अवसर पारेर साप्ताहिकका सहकर्मी कृष्ण भट्टराईलाई यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ। बुधवार काठमाडौंमा चलचित्र दिवस मनाउने क्रममा भट्टराईलाई प्रमाणपत्रसहित नगद १५ हजार ५ सय ७५ रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरेको हो। समारोहमा कामना प्रकाशनका पत्रकार विदुर गिरीलाई 'चलचित्र पत्रकारिता सम्मान-२०७१' द्वारा सम्मानित गरिएको थियो भने स्टार एफएमएका सञ्चारकर्मी राज श्रेष्ठलाई 'चलचित्र पत्रकारिता पुरस्कार' बाट पुरस्कृत गरिएको थियो। समारोहमा नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा सचिव पदमा विजयी चलचित्र पत्रकार ध्रुव लम्साललाई विशेष सम्मान गरिएको थियो ।