सेलेना गोमेज कोरियन एयरको उडानबाट अघिल्लो सोमबार अपराह्न १२ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन्। बुद्ध एयरका एयर होस्टेज तथा कर्मचारीले विमानभित्र उनीसँग खिचाएको तस्बिर टि्वटरमा सार्वजनिक भएपछि सेलेना गोमेज नेपाल आएको खुलासा भएको थियो। त्यसलगत्तै बुद्ध एयरको एयरपोर्ट सर्भिस बसअगाडि एक जना प्रशंसकसँग खिचाएको सेलेना गोमेजको अर्को तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उक्त तस्बिर अत्यधिक रिट्विट एवं सेयर भयो। त्यसपछि सेलेना गोमेजका एक जना नेपाली प्रशंसकले उनीसँग भक्तपुरमा खिचाएको तस्बिर पनि फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
नेपाल बसाइका क्रममा सेलेना गोमेजले नेपाली सारी पनि लगाएकी थिइन्। मिडियालाई छल्दै नेपालका विभिन्न स्थान घुमेकी गायिका सेलेना गोमेजले पहिलो पटक सारीसहितको आफ्नो तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। इन्स्टाग्राममा उनले 'सारी नट सरी' क्याप्सन दिँदै, निधारमा रातो टीका, सुन्तला रंगको पोते, सारी, ब्लाउज र रातो चुरा लगाएको आफ्नो 'सेल्फी' पोस्ट गरेकी थिइन्।
युनिसेफकी सद्भावना राजदूतका रूपमा सेलेना गोमेज नेपालगन्ज, दाङ र बर्दियाका विभिन्न गाउँमा युनिसेफद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन नेपाल आएकी थिइन्। सेलेनासम्बन्धी समाचार संग्रह गर्ने टि्वटर एकाउन्टले उनी काठमाडौंको द्वारिका'ज होटलमा बसेको जनाएको थियो। उनले द्वारिका'ज होटलका कर्मचारीहरूसँग तस्बिरसमेत खिचाएकी थिइन्। साडी लगाएकी सेलेना गोमेजले युनिसेफका महिला सुरक्षाकर्मीहरूसँग पनि तस्बिर खिचाएकी थिइन्। नेपाल आएकै दिन भक्तपुर पुगेकी सेलेना भोलिपल्ट मंगलबार बिहान बुद्ध एयरमार्फत् नेपालगन्ज हुँदै बर्दिया पुगेकी थिइन्।
सोही दिन सेलेना गोमेजले दाङको सतवरिया गाविसस्थित राप्ती माविस्थित बाल विकास केन्द्रको भ्रमण गरेकी थिइन्। त्यहाँ उनले बालमैत्री कक्षाको अवलोकन गर्नुका साथै बालक्लबका सदस्यहरूसँग अन्तरसंवाद गरेकी थिइन्। सेलेना गोमेजले सतबरियाको निबुमा विद्यार्थीलाई वाद्यवादन उपकरण उपहारसमेत दिएकी थिइन्। उनले दाङको गंगापरस्पुरस्थित स्वास्थ्यकेन्द्रका अतिरिक्त नारायणपुरमा सञ्चालित खुला दिसामुक्त अभियानको समेत अवलोकन गरेकी थिइन्। दाङमै रहेका बेला उनी थारु नृत्यमा सहभागी हुनुका साथै हापुरमा प्यारालिगल कमिटीद्वारा आयोजित कार्यक्रममा समेत सहभागी भइन्। त्यसपछि उनी नेपालगन्ज फर्किएकी थिइन्। त्यसको भोलिपल्ट सेलेनाले दाङको देउखुरी पुगेर त्यहाँका स्कुले विद्यार्थीसँग भलाकुसारी गर्नुका साथै थारु समुदायमा पुगेर नाचगानसमेत गरेकी थिइन्।
बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रूपेश जोशीका अनुसार दाङ र नेपालगन्जको कार्यक्रम सकेर सेलेना बिहीबार काठमाडौं फर्किएकी थिइन्। उनले शुक्रबार नेपाल छाडेको बताइन्छ। सेलेना गोमेजका साथमा अर्की सुप्रसिद्ध गायिका एस्ले कोल पनि नेपाल आएकी थिइन्। विश्वभरका प्रशंसकले सेलेना र एस्लेको नेपाल भ्रमणको समाचारलाई प्राथमिकताका साथ अनलाइन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका भए पनि युनिसेफको नेपालस्थित कार्यालयले भने उनको नेपाल भ्रमणलाई अत्यन्त गोप्य राखेको थियो। अझै पनि सेलेना गोमेजको अफिसियल फेसबुक र टि्वटर एकाउन्टमा यस विषयमा केही बताइएको छैन। १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना क्यानेडियन पपस्टार जस्टिन बिबरसँगको रोमान्सका कारण चर्चामा आइरहन्छिन्। सुन्दर हिमाली देश नेपाल घुमिरहँदा गोमेजले सम्भवतः आफूभित्र दैवी शक्ति जागृत भएको अनुभव गरिन् कि कुन्नि ? आफ्नो टि्वटरमा लेखिन्- 'मेरो शक्तिलाई पुनः फर्काउँदै।'