साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७१
काठमाडौं
'आनन्द कार्की एकल साँझ-२०७१' शीर्षकको उक्त कार्यक्रममा गायक कार्कीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकहरूलाई नचाउनसमेत सफलता प्राप्त गरे। गाउँले इन्टरटेन्मेन्टले आयोजना गरेको एकल गायन कार्यक्रममा आनन्दले करिब तीन घण्टाको अवधिमा आधुनिक, गजलदेखि चलचित्रका गीत सम्म गाउन भ्याए। दर्शकहरूको उल्लेख्य सहभागितामा साँझ ५ बजे गायक कार्कीले 'गुरु बन्दना' बाट एकल गायन प्रारम्भ गरे। कार्यक्रममा उनकै सांगीतिक जीवनी समेटिएको करिब १० मिनेट लामो वृत्तचित्र प्रस्तुत गरिएको थियो। कार्यक्रमको तेस्राे खण्डमा आनन्द कार्कीले चलचित्रका लागि गाएका लोकप्रिय गीतहरू प्रस्तुत गरे। सो क्रममा आनन्दलाई चलचित्रका गीत प्रस्तुत गर्ने क्रममा गायिकाहरू मिलन अमात्य, प्राश्ना शाक्य, जुना प्रसाईं तथा शोभा काफ्लेले साथ दिएका थिए।