६ वर्षदेखि एक-अर्कासँग परिचित श्रीकृष्ण र श्वेताले अहिले आएर जीवनसाथी बन्ने निर्णय गरेका छन्। आफ्नै चलचित्र 'कहाँ भेटिएला' की नायिका श्वेता खड्कालाई श्रीकृष्णले करिब एक महिनाअघि जीवनसँगिनी बनाउने निर्णय गरेका हुन्।
सोमबार बिहान साप्ताहिकसँग कुराकानी गर्दै श्रीकृष्णले भने- 'हामीले विवाह गर्ने निर्णय गरेको करिब एक महिना भयो।' वास्तवमा पछिल्लो केही महिनादेखि श्वेता र श्रीकृष्णलाई दुवैका परिवारले विवाहका लागि दबाब दिइरहेका थिए। 'अब त विवाह गर्नैपर्छ, केटी खोजेको छस् भने भन्, छैन भने हामी खोज्छौं, श्रीकृष्णले परिवारका अग्रजहरूको आदेशलाई हुबहु सुनाउँदै थपे- 'श्वेताको परिवारमा पनि त्यस्तै कुरा भएछ। दुवै परिवारबाट यस्तो आक्रामक दबाब आएपछि हामीले विवाहको निर्णय गरेका हौं।'
उनीहरूको विवाहको मिति भने तोकिएको छैन। श्रीकृष्णका अनुसार उनीहरू यतिबेला आफ्नो नयाँ चलचित्र 'कोहिनूर' को प्रदर्शन (साउन २३) हुनुभन्दा अघि नै विवाह गर्ने चाँजोपाँचो मिलाउँदैछन्। 'राम्रो साइतको पर्खाइमा छौं, श्रीकृष्ण भन्छन्- 'धार्मिक विधिअनुसार सामान्य ढंगले हाम्रो वैवाहिक समारोह सम्पन्न हुनेछ।' श्वेताले पनि तडकभडक बिनाको विवाह गर्ने तयारी गरिरहेको उल्लेख गरेकी छिन्। उनीहरूको वैवाहिक समारोहमा परिवारका सदस्यहरू मात्र उपस्थित हुनेछन्।
श्रीकृष्णले २०६४ सालको आफ्नो जन्म दिन (पुस १४) मा श्वेतालाई देखेका थिए। श्वेता त्यसबेला नृत्य निर्देशक वसन्त श्रेष्ठको डान्स इन्स्टिच्युटमा नृत्यको अभ्यास गर्दै थिइन्। त्यही बेला श्रीकृष्ण आफ्नो नयाँ चलचित्र 'कहाँ भेटिएला' का लागि नयाँ अनुहारको खोजीमा थिए। एक जना साथीले श्रीकृष्णलाई 'कहाँ भेटिएला' की नायिका बन्न योग्य युवती वसन्त श्रेष्ठकहाँ नृत्यको प्रशिक्षण गरिरहेको जानकारी गराएपछि उनी श्वेतालाई हेर्न त्यहाँ पुगेका थिए। पहिलो भेटमै श्रीकृष्णले श्वेतामा 'कहाँ भेटिएला' की नायिकाको सम्पूर्ण गुण पाए। अभिनयका लागि प्रस्ताव राखे। श्वेताले भने त्यस दिनसम्म चलचित्र क्षेत्रमा आउँछु भन्ने सोचेकै थिइनन्। चलचित्रमा अभिनय गर्ने कुरा सपनामा समेत नसोचेकी श्वेता नेपाली चलचित्रकी नियमित दर्शक भने थिइन्। संयोग कस्तो पर्यो भने उनले श्रीकृष्णका प्रायः सबै चलचित्र हेरेकी थिइन्। आफ्नो परिवारसँग सल्लाह गरेपछि श्वेता 'कहाँ भेटिएला' मा अभिनय गर्न राजी भइन्।
'हामी एक महिनाअघिसम्म असल साथी र व्यापारिक साझेदार मात्र थियौं, श्रीकृष्णले बजारमा चलेका हल्लाहरूप्रति टिप्पणी गर्दै भने- 'कतिपयले हामी प्रेममा छौं कि भन्ने जिज्ञासासमेत राखे। वास्तवमा हामी प्रेममा थिएनौं। सँगै काम गर्ने क्रममा एकअर्काको नजिक त भयौं तर जीवनसाथी नै बन्ने निर्णय भने भरखरै मात्र गरेका हौं।' श्वेताले पनि सँगै बसेर काम गर्ने क्रममा दुवै जनाको आनीबानी एक-अर्कालाई मन पर्न थालेपछि श्रीकृष्णसँगै जीवन बिताउने निर्णय गरेको बताइन्।
श्रीकृष्णले श्वेतामा एउटी असल श्रीमतीमा हुनुपर्ने ९५ प्रतिशत गुण पाएको बताएका छन्। श्वेताले पनि श्रीकृष्णलाई कुशल श्रीमान् हुन सक्ने अनुमान गरेकी छिन्। 'मेरो काममा सर्पोट गर्ने, मेरा हरेक काममा मैलेभन्दा बढी चिन्ता लिने उनको बानी मलाई असाध्यै मनपर्छ, श्रीकृष्णले श्वेताको प्रशंसा गर्दै भने- 'उनमा निर्णय लिन सक्ने र मान्छेहरूलाई प्रभावित गर्न सक्ने अचम्मको क्षमता छ।' 'घरायसी काममा भने उनी कस्ती छिन् अहिलेसम्म बुझ्न पाएको छैन, श्रीकृष्णका अनुसार त्यो कुरा घरजम गरेपछि मात्र बुझ्ने उनको योजना छ। बाहिरी काममा निपूण श्वेता घरेलु काममा पनि निपुण हुने विश्वास श्रीकृष्णको छ। विवाहपछि पनि श्वेताले आफ्नो व्यावसायिक कामलाई निरन्तरता दिनेछिन्। 'विवाहअघि हामी जसरी चलचित्र र व्यवसायमा सक्रिय छौं, विवाहपछि पनि हामी सँग-सँगै काम गर्नेछौं, श्रीकृष्णले साप्ताहिकलाई बताए।
श्वेताले श्रीकृष्णसँग विवाह हुने मुख्य सूत्रधार सञ्चारकर्मी भएको बताएकी छिन्। 'तपाईंहरूले हाम्रो जोडी सुहाउँछ भन्ने कुरा प्रकाशित गर्दा-गर्दा हामीलाई पनि त्यस्तै लाग्न थाल्यो,' श्वेताले खुसी हुँदै साप्ताहिकसँग भनिन्- 'हाम्रो जोडी बाँधिनुमा तपाईंहरूको अझ ठूलो हात छ।' श्वेताले दुई वर्षअघिको भ्यालेन्टाइन्स डेमा साप्ताहिकले प्रकाशित गरेको आफ्नो र श्रीकृष्णको अन्तरंग कुराकानीपछि समाजमा उनलाई श्रीकृष्णकै जोडीका रूपमा हेर्न थालिएको स्मरण गरिन्। नेवार परिवारका श्रीकृष्ण ६ जना दाजुभाइमध्येका कान्छा हुन् भने क्षेत्री परिवारकी श्वेता ७ जना दिदीबहिनी र ३ जना दाजुभाइ भएको परिवारकी सदस्य हुन्।