साप्ताहिक संवाददाता
आबो, तक्माको महिमा अपरम्पार छ। तक्मा कसलाई बाँड्ने, कस्तो मान्छेलाई सम्मान गर्ने, के गर्दा तक्माको इमान रहन्छ, कसोरी विभूषणको इज्जेत जोगिन्छ भन्ने कुरो यो तक्मे बूढालाई सोधेको भए हुन्थ्यो। यहाँ त पार्टीमा जाँड बाँडेजस्तै तक्मा जसले माग्यो त्यसलाई पो तक्मा दिइरहेको देखियो त हाओ। हैन, यो राष्ट्रसेवकलाई दिने उपहार हो कि केटाकेटीलाई बाँड्ने चकलेट हो ? म त छक्कै पर्छु त हाओ !
फेरि त्यो तक्मा सिफारिस समितिको अध्यक्ष त वामदेब गौतम बाजे रहेछन्। अस्ति रमेश खरेलले बि्रफकेसको कुरो उठाउँदा खरेलकै गल्तीजस्तो लागेको थियो। पदक हो कि सदक पाउनेमा तक्मे बूढाको साटो तक्मे तरुनीहरूको नाम देख्दा त खरेलको कुरामा दम छ जस्तो लाग्यो है। हेर्नोस्, तक्मा भन्ने जिनिस देशको संस्कृति संरक्षण गर्नेेलाई दिने उपहार हो कि, कसैको प्रेमी-प्रेमिकालाई दिने मंगलसूत्र हो ? बुझ्नै गाह्रो भयो त हाओ ! हैन, सिफारिस समितिमा बसेका केहीले त आफैंलाई सिफारिस गरी पठाएछन्, हाहाहाहा !
मै खाऊँ, मै लाऊँ, सुख-सयल मै गरूँ, मै तक्मा टाँसूँ, मै माला लगाऔं, अरू सब मरून्, चाकडी गर्न नजान्नेहरू भनेको यही हो कि क्या हो ? तक्मा भनेको सधैं बाँचिरहने देशले आफ्ना अमर सन्तानलाई दिने सम्मान हो कि दुई-चार दिन सरकारमा विचरण गर्न आउने कर्मचारी, मन्त्रीको मामाको घोडा हो ? बुझ्नै पो सकिएन त !
म नाइन्टिन फौन्टिनदेखि नै तक्मामा इमान र इज्जत गर्ने मान्छे हुँ। तक्मा भनेको देशका लागि मरिमेट्ने, जनताका लागि दिलोज्यान दिने, राष्ट्रियताका लागि हट्ने हैन, सिमानाका लागि डटी लड्ने बानी भएकालाई दिने हो। सुस्तामा सिमाना जोगाएर बसेका कलुवा थारु दाइलाई तक्मा दिने हो कि चोलीभित्र के छ भनेर केटाहरूको दिमाख खलबल्याउनेलाई दिने हो ?
भ्रष्टचारको विरुद्ध ज्यान माया मारेर लड्नेलाई दिने हो कि भात-अचार मानेर भ्रष्टाचार गर्नेलाई दिने हो ? माने भन्ज्याङमा देश थामेर बसेका ठूले लेप्चा बाजेलाई विभूषित गर्ने हो कि सिफारिस समितिका मान्छेका वरिपरि धूपबत्ती बाल्नेलाई दिने हो ? इमान, इज्जेत र प्रेस्टिज भएकाहरूबाट यसको जवाफ आउँछ कि आउँदैन होला हाओ ?!