साप्ताहिक संवाददाता
अक्षय-परेश केमेस्ट्री
जब-जब रजतपटमा परेश रावल अक्षय कुमारका साथमा देखिएका छन्, दर्शकले उनीहरूको जोडीलाई स्वागत गरेका छन्। सन् १९८४ मा चलचित्र होलीबाट अभिनय यात्रा सुरु गरेका परेशले अक्षयका साथ २३ वटा चलचित्रमा काम गरे, त्यसमध्ये लगभग सबै सफल भए। वेलकम, ओ माइ गड, दे दनादन, हेराफेरी १, २, ३, भुलभुलैया, भागमभाग केही उदाहरण हुन्। परेश-अक्षयको जोडी चलचित्र मोहराबाट सुरु भएको थियो, जसमा दुवै जना पुलिसको भूमिकामा थिए। अब उनीहरू एकपटक फेरि हेराफेरी-४ मा सँगै देखिने भएका छन्।
६ वर्षमै बलात्कार
हलिउड अभिनेत्री पामेला एन्डरसनले आफूसँग सम्बन्धित अचम्म लाग्ने दुःखद घटना सार्वजनिक गरेकी छिन्। पामेलाले सानो उमेरमै छेडखानी तथा बलात्कारजस्ता घटनाको सिकार भएको रहस्योद्घाटन गरेकी छिन्। कान्स फिल्म महोत्सवका क्रममा ४६ वर्षीया नायिका पामेलाले पामेला एन्डरसन फाउन्डेसनको शुभारम्भ गर्दै उक्त रहस्य खोलेकी हुन्। उनको जीवनमा एक समय यस्तो पनि आयो, जुन बेला उनी मर्न चाहन्थिन्। मेरो जीवनका व्यक्तिगत घटनाहरू सार्वजनिक गर्ने सही समय आएको छ, पामेलाले भनेकी छिन्- 'मेरो बाल्यकाल सहज थिएन्, अत्यधिक मायाप्रेम गर्ने आमा-बुबा हुँदाहुँदै पनि परिवारकै एक सदस्यले ६ वर्षदेखि १० वर्षको उमेरसम्म यौन उत्पीडनको सिकार बनायो।' पामेलाका अनुसार १२ वर्षको उमेरमा एक साथीको घर जाँदा एक २५ वर्षीय एक युवकले पनि उनलाई यौनसिकार बनाएको थियो। पामेलाले ९ कक्षामा अध्ययनरत रहँदा उनकै प्रेमीले आफ्ना ६ जना साथीसँग मिलेर सामूहिक बलात्कार गरेको रहस्य पनि खुलासा गरेकी छिन्।
पूर्वप्रेमीसँग अनुष्का
अनुष्का शर्मासँग आफ्ना प्रेमी विराट कोहलीसँग भेट्ने फुर्सद छैन,तै पनि उनी पूर्वप्रेमी रणविर सिंहसँगको रोमान्समा भने रमाइरहेकी छिन्। सुन्दा अचम्म लागे पनि यो सत्य हो, यतिबेला अनुष्का बार्सिलोनामा नायक रणवीर सिंहका साथ पर्दाका लागि रोमान्समा व्यस्त छिन्। जोया अख्तरको निर्माणाधीन चलचित्र 'दिल धड्कने दो'का लागि अनुष्का र रणवीरले पर्दामा रोमान्स गरेका हुन्। हालै जोधपुरमा आफ्नो होमप्रोडक्सनको एनएच-१०को सुटिङ पूरा गरेकी नायिकाको व्यस्त सेड्युअलकै कारण आईपीएलमा व्यस्त क्रिकेटर विराट कोहली उनलाई भेट्न मुम्बई नै पुगेका थिए। विराट र अनुष्काले त्यसबेला अन्तरंग क्षणहरू बिताएको स्थानीय अखबारहरूले लेखेका थिए, यस्तो स्थितिमा आफ्नो प्रेमीसँगको मस्ती बिर्सिएर पूर्वप्रेमीसँग कृत्रिम रोमान्स गर्दा अनुष्कालाई कस्तो अनुभव भयो होला?
बबि देवललाई थप्पड
पछिल्लो समय लाइमलाइटबाट हराएका बलिउड नायक बबि देवल फेरी चर्चामा तानिएका छन्, तर यसपटक बबि कुनै चलचित्र वा बहादुरीपूर्ण कामले नभै मुम्बईको एक बारमा थप्पड खाएबापत चर्चामा आएका हुन्। मुम्बईको एक बारमा गार्डले बबि देवललाई जमेर थप्पड हानेको बताइन्छ। स्थानीय समाचारपत्रहरूका अनुसार करण जौहरको जन्मदिनको पार्टीमा रक्सीले मातेर चुर भएका बबिले गार्डलाई बोलाएर थर्काउँदै अरु रक्सीको प्रबन्ध गर्न अह्राएका मात्र के थिए, गार्डले उनलाई थप्पड प्रहार गरेका थिए। उक्त घटनाबाट लज्जित बबी सोही समय पार्टी छोडेर निस्किएका थिए।