हिमालय टेलिभिजनबाट प्रसारण भैरहेका विभिन्न कार्यक्रममार्फत दर्शकमाझ प्रस्तुत भैरहेका भिडियो जक्की (भिजे) हुन् सुनिल भट्ट। लमजुङमा जन्मिएर चितवनमा हुर्किएका सुनिल विद्यालयमा अध्ययनरत छँदा जिल्लास्तरीय भलिबल खेलाडी थिए। एसएलसी दिएर चितवनको सिनर्जी एफएममा केही महिना रेडियो जक्की (आरजे) का रूपमा काम गरेपछि उनी काठमाडौं आए। काठमाडौं आएपछि उनले १७ वर्षकै उमेरमा नेपाल टेलिभिजनबाट प्रसारण भएको 'बालआवाज' शीर्षकको कार्यक्रम निर्माण, निर्देशन तथा प्रस्तुत गर्न थाले। करिब तीन वर्षसम्म यो कार्यक्रम सञ्चालन गर्ने क्रममै उनले एनटिभी प्लसको 'बालस्वास्थ्य' शीर्षकको कार्यक्रम निर्देशनसमेत गरे। विगतमा रेडियो नेपाल तथा रेडियो मिर्मिरेमा समेत काम गरिसकेका सुनिल पौडीका पारखीसमेत हुन्। विगत चार वर्षदेखि हिमालय टेलिभिजनमा आबद्ध सुनिल अहिले उक्त च्यानलबाट प्रसारित हुने चलचित्रसम्बन्धी विभिन्न कार्यक्रममार्फत हप्ताको तीन पटक दर्शकमाझ पुगिरहेका छन्। भट्ट यतिबेला प्रत्येक शनिबार ८:३० बजे 'समय सन्दर्भ', शनिबार राति ९:३० बजे 'सिनेमा संसार' तथा मंगलबार राति ९ बजे 'अफ द रेकर्ड' शीर्षकका कार्यक्रम सञ्चालन गरिरहेका छन्। यी तीनवटा कार्यक्रममध्ये चलचित्रकर्मीका गसिपहरूमा आधारित कार्यक्रम 'अफ द रेकर्ड' लोकप्रिय छ। यो कार्यक्रममार्फत उनले चलचित्रकर्मीको आलोचनासमेत खेपेका छन्। तीन भिन्न शैलीका टेलिभिजन कार्यक्रमको उत्पादन, प्रस्तुतीकरण तथा निर्देशनमा व्यस्त सुनिललाई साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न: तपाईंको सबैभन्दा लोकप्रिय कार्यक्रम कुन हो?
कार्यक्रमका दर्शकहरूको उमेरअनुसार तीनवटै कार्यक्रम उत्तिकै लोकप्रिय छन्। यीमध्ये 'अफ द रेकर्ड' सबैभन्दा बढी लोकप्रिय छ। नेपाली कलाकारको व्यक्तिगत गतिविधिमा बढी केन्दि्रत भएकाले दर्शकलाई यो कार्यक्रम बढी मन परेको हुनसक्छ।
गसिपसम्बन्धी कार्यक्रमको सेलिब्रेटीहरूले कत्तिको आलोचना गर्छन्?
आलोचना त कति हो कति ! नेपाली टेलिभिजन च्यानलमा गसिप मात्र प्रसारण हुने यो एक मात्र कार्यक्रम भएकाले पनि होला आलोचना सहने बानी परिसकेको छ। कार्यक्रमले लोकप्रियता पाउँदै गएपछि अचेल सेलिब्रेटीले पनि यो कार्यक्रममा प्रस्तुत गरिएको विषयवस्तुलाई गसिपकै रूपमा ग्रहण गर्न थालेकोमा खुसी पनि लागेको छ।
आगामी दिनमा कुनै नयाँ कार्यक्रम आउँदैछन् कि?
सामाजिक कार्यमा मलाई असाध्यै रुचि छ। फुर्सदको समयमा म समाजसेवाको क्षेत्रमा पनि सक्रिय हुन्छु। समाजसेवालाई लक्षित गर्दै एउटा टेलिभिजन कार्यक्रम तयार पार्ने रहर छ। तीनवटा कार्यक्रममा निर्माता तथा प्रस्तुतकर्ताका रूपमा व्यस्त भैरहेकाले नयाँ कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको छु।