साप्ताहिक संवाददाता
कलाकार: निखिल उप्रेती, दीलिप रायमाझी, झरना थापा, अरुणिमा लम्साल, किरण केसी, विल्सनविक्रम राई, सुनिल थापा, निर शाह, अशोक शर्मा तथा रामचन्द्र अधिकारी ।
संगीतकार: महेश खड्का
मुम्बईमा बसोबास गरिरहेका अभिनेता निखिल उप्रेतीले नयाँ नेपाली चलचित्रमा अभिनय गर्न छाडेको धेरै भैसकेको तर उनले अभिनय गरेका चलचित्रहरू अझै प्रदर्शन भैरहेका छन्। गत सातादेखि सार्वजनिक प्रदर्शन प्रारम्भ भएको चलचित्र 'जोडी नम्बर वान' करिब चार वर्षअघि नै निर्माण गरिएको चलचित्र हो, जसमा निखिल उप्रेतीका खतरनाक स्टन्ट समावेश छन्। विष्णु सुब्बाले निर्माण गरेको यो चलचित्र हास्य प्रधान छ। पहिले यो चलचित्रको शीर्षक 'अग्निसाक्षी' राखिएको थियो, जसलाई परिवर्तन गरेर 'जोडी नम्बर वन' बनाइएको हो। विष्णु फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा स्थापित कलाकारहरूले अभिनय गरेका छन्। चलचित्रमा नेपाली युवापुस्ताको आर्थिक अवस्था चित्रण गरिएको छ। सुरज सुब्बा नाल्बोको कथामा तयार पारिएको यो चलचित्रमा जनकको द्वन्द्व निर्देशन छ। महेन्द्र थापाले छायांकन गरेको चलचित्र 'जोडी नम्बर वन'मा दिनेश पाखि्रनको नृत्य निर्देशन छ।
निर्देशक : एआर मुरुगदास
कलाकार : अक्षय कुमार, सोनाक्षी सिन्हा, फ्रेडी दारुवाला, सुमीत राघवन, सहदेव गिरिश तथा जाकिर हुसैन।
संगीतकार : प्रितम
सैनिक जीवनमा आधारित बलिउडको नयाँ चलचित्र 'होलिडे' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। यो चलचित्रमा अक्षय कुमारले क्याप्टेन विराट बक्षीको भूमिका निर्वाह गरेका छन्। चलचित्रको कथा क्याप्टेन बक्षीको वरिपरि घुमेको छ जो छुट्टि बिताउन मुम्बई पुगेका हुन्छन्। परिवारका सदस्यहरू क्याप्टेन बक्षीको विवाह गराउन चाहन्छन् र त्यसक्रममा उनको भेट एउटी युवतीसँग गराउँछन्। विराटलाई ती युवती निकै सरल र अन्तरमुखी लाग्छिन् तर चाँडै नै उनको त्यो भ्रम टुट्छ जब उनले ती युवती बक्सर भएको थाहा पाउँछन्। ती युवतीको कडा स्वभावले विराटलाई आकषिर्त गर्छ, विस्तारै उनी ती युवतीसँग प्रेम गर्न थाल्छन्। विराटका एक जना प्रहरी अधिकृत साथी छन्। प्रहरी साथी र ती युवतीसँग विराटले आफ्नो छुट्टिको सदुपयोग गर्छन्। मुम्बईमै रहँदा विराटले त्यहाँ खतरनाक तथा गैरसामाजिक गतिविधि भैरहेको जानकारी पाउँछन्। त्यसक्रममा उनको भेट त्यस्ता खतरनाक व्यक्तिसँग हुन्छ, जो हतियारको अवैध व्यवसाय चलाइरहेका हुन्छन्। देशभक्त तथा सेनाका विशेष एजेन्ट विराटले आतंकवादको एउटा विशाल नेटवर्कलाई ध्वस्त बनाउने अभियान थाल्छन्।