राउत भने डरैडरमा च्याउ खान्थे। 'च्याउ खाएर मानिसको मृत्यु भएको समाचार धेरै पटक सुनेको थिएँ,' उनले भने- 'कुन खाने, कुन नखाने थाहै हुँदैनथ्यो।' सन् २००३ मा तेर्हथुमबाट काठमाडौं झरेका डा. राउतलाई फेरि पनि च्याउका बारेमा खुल्दुली लागिरह्यो। उनले इन्टरनेटमा यस विषयमा गरिएका अध्ययनहरूको खोजिगरे। नेपालमा कति प्रकार च्याउ पाइन्छन्, कुन खान हुन्छ, कुन खान हुँदैन, विषालु च्याउ कसरी छुट्याउने, खान हुने च्याउको खेती कसरी गर्ने भन्ने विषयमा राम्रोसँग अध्ययन गरे। संयोग बस, त्यही बेला उनले जापान जाने मौका पाए। टोकियो विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका भाइ उतै थिए। राउतले जापानका प्रोफेसरहरूसँग भेट्ने र त्यहाँका ल्याबहरू चहार्ने मौका पाए। उनमा गहिरो अभिरुचि देखेपछि चिवा विश्वविद्यालयले उनलाई भिजिटिङ रिसर्चरका रूपमा निम्त्यायो। जापानी बजारमा धेरै प्रकारका च्याउ पाइदा रहेछन्। त्यसमाथि जापानको उच्च प्रविधिले काम गर्न अझ सहज बनाइदियो। जंगलबाट टिपेर ल्याइएका च्याउको ल्याब टेस्ट गर्ने र त्यसको विस्तृत अध्ययन गर्ने काम भयो।
डा.राउतले च्याउ विज्ञानमा चिवा विश्वविद्यालयबाट पिएचडी गरे। नेपालमै बसेर अनुसन्धान गर्ने सोच बनाएका राउतले पिएचडी गरौंला भनेर सोचेकै थिएनन्। पोस्ट डक्टरेटका लागि अवसर पाए पनि उनी नेपाल फर्किए। 'मैले ज्ञान, सीप लिनु थियो, लिएँ।' उनले सुनाए, 'त्यहाँ सिकेको ज्ञान नेपालमा सदुपयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।' जापानको अध्ययन र अनुसन्धानबाट नेपालमा धेरै गर्न सकिन्छ भन्ने सोचले उनी नेपाल फर्किए। थोरै लगानी गरेर पनि च्याउखेतीबाट राम्रो आय, आर्जन गर्न सकिने कुरा उनी धेरैलाई बुझाउन चाहन्छन्। प्राविधिक सेवा, तालिम तथा प्रविधिको समस्या व्यवस्थित गर्न सके धेरै फाइदा लिन सकिनेमा उनी विश्वस्त छन्। 'रोपेको एक महिनामै फाइदा लिन सकिन्छ,' डा. राउत भन्छन्- 'निर्यात पनि हुन्छ।'
जापानमा बस्ने अवसर पन्छाएका डा. राउत नेपालको बसाइप्रति सन्तुष्ट छन्। यी पूर्वशिक्षकको जीवनशैली एकदम सामान्य छ। बिहान ५ बजेतिर ब्युँझिने डा. राउत नियमित व्यायाम गर्छन्। कालो चिया पिउँदै एफएमहरूमा समाचार सुन्नु उनको नियमित कर्म हो। ब्रेकफास्ट गर्ने समयमा खाना खाइसक्छन्। डा. राउत शाकाहारी हुन्। हरियो साग, दाल, भात र च्याउका परिकार उनको खान्कीमा छुट्दैनन्। खाना खाएर बिहान ९ बजेभित्र कार्यालय पुगिसक्छन्। उनी प्रायः कमिज र पाइन्टमै देखिन्छन्। बेलुकी साढे ७ बजेसम्म नास्टको ल्याबमै घोत्लिन्छन्।
-१ दशमलव ८ पावर भएको चस्मा लगाएका डा. राउत नोकियाको मोबाइल बोक्छन्। काम पर्दा आफ्नो एसरको ल्यापटप चलाउँछन्। उनी प्रायः ऐतिहासिक विषयवस्तु समावेश भएका चलचित्र हेर्न रुचाउँछन्। त्यसबाहेक परिवारसँग बसेर हेर्न लायक जुनसुकै चलचित्र उनको रोजाइमा पर्छन्। बेलाबेला साथीभाइ, परिवारसँग घुम्न मन पराउँछन्। कुनै बेला मुड चल्दा एक्लै पनि कतै घुम्न निस्किन्छन्। स्वेट मार्डेन तथा ओशोका सबैजसो पुस्तकले उनको ध्यान खिच्छन्। नेपाली लेखकहरूमध्ये देवकोटा उनका प्रिय छन्। मुनामदन उनको सबैभन्दा प्रिय पुस्तक हो।
डा. राउतको मुख्य चासो च्याउबाट कसरी किसानहरूको जीवनस्तर उकास्न सकिन्छ भन्ने कुरामा छ। उनी काठमाडौं आसपासका च्याउ उत्पादन गर्ने ठाउँहरू चहारिरहन्छन्। त्यहाँको वस्तुस्थिति अध्ययन गर्नु, किसानहरूलाई सल्लाह दिनु उनको नियमित कर्म बनेको छ। स्थानीय च्याउ संकलन गर्नु, अध्ययन गर्नु उनको दैनिकी हो। हाल नेपालका ७० जिल्लामा च्याउखेती हुन्छ भने ४० भन्दा बढी जिल्लामा यसको व्यावसायिक उत्पादन भैरहेको छ ।
नेपालमा १ हजार १ सय २१ किसिमका जंगली च्याउ भेटिएका छन्, जसमध्ये १ सय ४७ खान योग्य, ७३ औषधीय तथा ६५ जति विषालु प्रकृतिका छन्। आधुनिक च्याउखेती प्रविधि शीर्षकको पुस्तकका लेखक राउत कृषकहरूले यो खेतीबाट बढीभन्दा बढी फाइदा लिऊन् भन्ने चाहन्छन्। च्याउबाट सुप, पकौडा, करी, मम, अचारजस्ता विविध परिकार बनाउन सकिन्छ। त्यसबाहेक अम्लेट, स्यान्डबिच, बर्गर, केचप, छोयलाजस्ता परिकारमा पनि च्याउ प्रयोग गर्न सकिन्छ। औषधीय प्रयोगमा आउने गुचि च्याउको निर्यात गर्न सकिने सम्भावना पनि त्यत्तिकै रहेको डा. राउत बताउँछन्।
चार वर्ष जापानमा बस्दा राउतलाई सबैभन्दा बढी चासो लागेको कुरा थियो- आखिर जापानले कसरी यत्रो प्रगति गर्यो ? उनले त्यसको जवाफ खोजे। जापानीहरू समयको एकदमै ख्याल गर्ने, आफ्नो उत्तरदायित्व बहन गर्ने, आफ्नो काम पूर्ण जिम्मेवारीका साथ पालना गर्ने तथा कडा मेहनत गर्न पछि नपर्ने रहेछन्। यिनै कारणले गर्दा जापानले प्रगतिको फड्को मार्न सकेको निस्कर्षमा उनी पुगे। नेपालीहरूले पनि त्यही बानी सिको गर्न सके विकासको फड्को मार्न सकिने डा. राउत बताउँछन्।