निशा अधिकारी आफू एसियाली भएकाले विश्वकपमा सहभागी एसियाका दुई देश जापान र कोरियाको खुलेरै समर्थन गर्ने बताउँछिन्। 'खेलमा जित-हार त भैहाल्छ, तर जिते पनि हारे पनि म कोरिया र जापानलाई समर्थन गर्छु। एसिया महादेशबाट भविष्यमा हाम्रो नेपालले पनि सहभागीहरू जनाउला, तर अहिलेलाई भने एसियाकै प्रतिनिधि भएर विश्वकप खेल्न पुगेका जापान र कोरियालाई समर्थन गरेर भए पनि चित्त बुझाउँछु,' निशाले कारण बताइन्। कथंकदाचित जापान र कोरिया खेलबाट बाहिरिए भने निशाको समर्थन जर्मनीलाई रहनेछ। निशा भन्छिन्- 'म चार वर्ष जर्मनी बसेकी थिएँ। त्यतिबेला म त्यहाँको टिम ब्रायन म्युनिखको जबरजस्त प्रशंसक थिएँ। जर्मन खेलाडीहरू सभ्यतापूर्वक फुटबल खेल्छन्, जुन मलाई निकै मनपर्छ।'
'समर्थक हुनेबित्तिकै जर्सी नै लगाउनुपर्छ भन्ने पक्षमा हामी छैनौं। बरु नेपालको जर्सी लगाएर विश्वकप हेरिन्छ, चियर गरिन्छ। यसपटक मुखौटाको टिसर्ट लगाएर विश्वकप हेर्ने योजना बनाएका छौं,' चलचित्र 'मुखौटा'को प्रचारमा हिँडेका थापा र अधिकारीले एकै स्वरमा भने। प्रायः खेलको लाइभ यहाँको मध्यरातपछि हुने भएकाले अभिनेता थापाले समाखुसीको सेवा रोधी क्लब तथा ठमेलको रिफ रेस्टुराँमा खाँदै, पिउँदै वल्र्डकप हेर्ने योजना बनाएका छन्। निशा अधिकारी भने चलचित्र 'अभास'को छायांकनमा व्यस्त रहनुपर्ने भएकाले समय मिलाएर विश्वकप हेर्ने बताउँछिन्।
गायक प्रमोद खरेलले भने विश्वकप फुटबलका हरेक खेल हेर्ने योजना बनाएका छन्। ब्राजिलका समर्थक गायक खरेलले जर्सी भने नकिन्ने बताए। ब्राजिलका प्रसंशक भएपनि मेस्सी उनलाई मन पर्ने खेलाडी हुन्। विश्वकपका क्वाटरफाइनलभन्दा अघिका खेलहरू घरमै हेर्ने योजना बनाइरहेका गायक खरेल त्यसपछिका खेल भने समूह बनाएर हेर्ने मुडमा देखिन्छन्। 'विश्वकप हेर्न थालेदेखि नै म ब्राजिलको समर्थक हुँ,' प्रमोद भन्छन्— 'यसपटक आयोजक पनि ब्राजिल नै भएकाले उसले होम ग्राउन्डको फाइदा उठाउँदै विश्वकप जित्ने प्रबल सम्भावना छ।'
हेयर स्टाइलिस्ट नीलडेविड कटवालले विश्वकप-२०१४ का दुईवटा जर्सी किनिसकेका छन्। यसै साता सिलीगुडीमा आफ्नो नयाँ सैलुन उद्घाटन गराएका नीलडेबिडले केही युवाको केशलाई फुटबलको आकृतिमा ढाल्दै यो खेलप्रति आफ्नो समर्थन जनाइसकेका छन्। नीलडेबिड विश्वकप हेर्न थालेदेखि नै इंग्ल्यान्डका प्रशंसक हुन्। यसपटक पनि उनी इंग्ल्यान्डलाई नै समर्थन गर्दैछन्। उनलाई मनपर्ने खेलाडी हुन् वाइने रोनी । यसअघिको विश्वकपमा डेविड बेकह्याम उनलाई मन पर्ने खेलाडी थिए। यसपटकको विश्वकप हेर्न उनले साथीहरूको एउटा समूह नै बनाएका छन्। नील भन्छन्—'इंग्ल्यान्डले विश्वकप जित्यो भने साथीहरूलाई भव्य पार्टी दिने घोषणा गरेको छु।'
कान्तिपुर टेलिभिजनका समाचारवाचक रूपेश श्रेष्ठले भने अर्जेन्टिनाको जर्सी खरिद गरेका छन्। 'वल्र्डकप हेर्न थालेदेखि नै म अर्जेन्टिनाको प्रशंसक हुँ,' रूपेश भन्छन्- 'मैले समर्थन गर्न थालेयता भने यो टिम अभागीजस्तै भएको छ। बेस्ट टिम, बेस्ट पर्फमेन्स हुँदा पनि चान्स मार्न सकेको छैन। अनि फेरि मेस्सीजस्ता खेलाडी पनि छन् टिममा। यसपटकचाहिँ यो टिमले जित्नैपर्छ जस्तो लाग्दैछ।' यसपटकको विश्वकप कुनै अरू प्लान भएन भने घरमै बसेर हेर्ने उनले बताए। 'साथीभाइहरूको जमघट राम्रो भयो भने समूहमा बसेर हेर्दा रमाइलो हुन्छ, तर राति भएकाले त्यो सम्भव नहोला कि ?' रूपेश भन्छन्।
फेसन डिजाइनर विश्व गौतम आफूलाई स्पेनको प्रशंसक मान्छन्। आफंै डिजाइनर भएकाले आफूले समर्थन गरेको टिमको जर्सी आफैं बनाएर लगाउने तथा परिवारलाई पनि लगाइदिने उनको योजना छ। अपार्टमेन्टमा बसोबास गर्ने गौतम अपार्टमेन्टका सबै मिलेर प्रोजेक्टरमा विश्वकप हेर्ने योजना बनाइएको जानकारी पनि दिन्छन्। 'रातको समयमा खेल हेर्नुपर्ने भएकाले कतै बाहिर नगै अपार्टमेन्टको कम्युनिटी हलमा हेर्ने योजना बनाइएको हो,' -उनले स्पष्ट पारे। विज्ञापन व्यवसायी तथा इभेन्ट आयोजक संस्था ट्रेन्जकी सञ्चालिका अर्पणा मोहपालले आफ्नो कार्यालयका सबै कर्मचारीलाई अर्जेन्टिनाको जर्सी लगाइदिने भएकी छिन्। 'म अर्जेन्टिनाकी समर्थक हुँ। कर्मचारीहरूका लागि भनेर उनीहरूको साइजअनुसारको जर्सी डिजाइन गरेर प्रिन्ट गर्न दिएकी छु। मलाई अर्जेन्टिनाका खेलाडी अरूभन्दा होनहार लाग्छन्। विशेषगरी मेस्सीको खेल भनेपछि भुतुक्कै हुन्छु,' अर्पणाले बताइन्। खेल राति हुने भएकाले उनी घरमै परिवारसँग बसेर यसपटकको विश्वकपको मज्जा लिने सुरमा छिन्।
नायिका झरना थापाले आफूलाई इंग्ल्यान्डको प्रशंसक बताइन्। 'विश्वकप फुटबलको ज्वरो चढ्न थालेयता मैले इंग्ल्यान्डलाई समर्थन गर्दै आएकी छु। म आफूले समर्थन गरेको टिमको जर्सी त लगाउँदिनँ, तर मेरो अन्तरआत्माले इंग्ल्यान्डले नै जितोस् भन्छ,' हाल आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने तयारी गरिरहेकी झरनाले भनिन्। श्रीमान्, छोरी तथा परिवारका अन्य सदस्यहरूसँग हल्ला गर्दै घरमै बसेर विश्वकप हेर्ने योजना छ उनको।
विश्वकप फुटबलले किन निरन्तरता पाउनुपर्छ ?
गीत-संगीत, चलचित्रले जस्तै विश्वभर मनोरञ्जन प्रदान गर्दै संसारलाई एउटै धागोमा बाँध्न।
- प्रमोद खरेल, गायक
खेलको माध्यमबाट संसारलाई एकै सूत्रमा बाँध्न।
- सुनील थापा, अभिनेता
नेल्सन मन्डेलाले भनेझैं भेदभावको अन्त्य गर्न।
- निशा अधिकारी, नायिका
खेलमा पनि महाखेल फुटबलको उत्सव मनाउन।
- विश्व गौतम, फेसन डिजाइनर
धेरै मनोरञ्जन, धेरै व्यापार, अलिकति ग्ल्यामर मिसाएर विश्वमा एकता र विविधताको परिचय दिन।
- रुपेश श्रेष्ठ, टेलिभिजन समाचारवाचक
खेल उत्सव मनाउँदै खेलकै माध्यमबाट विश्वभर उत्साह अभिवृद्धि गर्न।
- नीलडेबिड कटुवाल, हेयर स्टाइलिस्
विश्व व्यापारको बाटो खोल्दै खेलका माध्यमबाट संसारलाई नै खुसी तुल्याउन।
- अर्पणा मोहपाल, विज्ञापन व्यवसायी तथा इभेन्ट आयोजक
नेपाली क्रिकेटरको विश्वकपको योजना
- कौशल अधिकारी
कुनै समय फुटबल खेलाडी बन्ने रहर पालेका पारस खड्काले एन्फा एकेडेमीका लागि ट्रायल दिएका थिए, तर उनी एन्फा एकेडेमीमा परेनन्। तिनै पारस खड्काले नेपाललाई आफ्नो नेतृत्वमा ट्वान्टी-२० क्रिकेटको विश्वकपसम्मको यात्रा गराए। यति बेला नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का फुटबलको विश्वकपमा मस्त छन्। इंग्ल्यान्डका खेलाडी स्टेफेन जेरार्डको खेल रुचाउने पारस यसपलिको विश्वकपमा कुनै पनि टिमलाई समर्थन नगर्ने बताउँछन्।
नेपाललाई ट्वान्टी-२० क्रिकेटको विश्वकप सम्मको यात्रा गराउन महत्वपूर्ण योगदान गरेका शरद भेषवाकर पनि विश्वकप हेर्ने प्लान बनाएर बसेका छन्। अर्जेटिना र अर्जेटिनी खेलाडी लियोनेल मेस्सीका समर्थक भेषवाकर अधिकांश खेल राति हुने भएकाले सबै खेल नहेरे पनि भ्याएसम्मका खेल हेर्ने बताउँछन्। अर्जेटिना र ब्राजिलमध्ये एउटाले विश्वकपको उपाधि उचालेको हेर्ने धोको पालेर बसेका छन् भेषवाकर।
नेपाली क्रिकेटमा संकट मोचकको उपनाम पाएका देब्रे हाते स्पिनर वसन्त रेग्मी पनि विश्वकप कहिले सुरु होला भनेर दिन गनेर बसेका छन्। स्पेनका डाइहार्ड फ्यान रेग्मी गत विश्वकप र युरोकपमा जस्तै आफूले समर्थन गरेको स्पेनले नै यो विश्वकपमा पनि बाजी मार्नेमा विश्वस्त छन्। स्पेनका डेभिड भिल्लाको खेलबाट प्रभावित वसन्त आँखा झिमिक्कै नगरी विश्वकप हेर्ने सुरमा छन्।
नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा पहिलो र एकमात्र अर्धशतक बनाउन सफल विकेटकिपर व्याट्सम्यान सुवास खकुरेल पनि साथीहरूसँग बसेर विश्वकपका सबै खेल हेर्ने सुरमा छन्। खकुरेललाई मन पर्ने टिम स्पेन र अर्जेन्टिना हुन् भने मन पर्ने खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी। यसपालिको विश्वकपमा स्पेन वा अर्जेन्टिनाले जित हात पारेको हेर्न चाहेको खकुरेल बताउँछन्।
नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि विश्वकपको प्रतीक्षामा छन्। सानैदेखि ब्राजिलका प्रशंसक मल्ल यसपालि ब्राजिलले नै विश्वकप जित्नेमा विश्वस्त छन्। नेयमारका फ्यान मल्ल समय मिलेसम्म सबै खेल साथीहरूसँग बसेर हेर्ने बताउँछन्।
अनुभवी देब्रे हाते स्पिनर शक्ति गौचन पनि विश्वकपको प्रतीक्षामा छन्। गौचनको विकेट लिएपछि फुटबल खेलाडीहरूले जस्तै दौडिएर सेलिब्रेसन गर्ने शैली चर्चित पनि छ। विश्वकपका खेलहरू आफ्नो गृहनगर भैरहवामा साथीहरूसँग बसेर हेर्ने योजना बनाएका छन् गौचनले। लियोनेल मेस्सी र अर्जेन्टिनाका समर्थक गौचन अर्जेन्टिनाले विश्वकप उपाधि चुम्नेमा विश्वस्त देखिन्छन्। धेरै रातिसम्म बस्न नसक्ने गौचन अर्जेटिना र इंग्ल्यान्डको खेल भने जसरी पनि हेर्ने बताउँछन्।