साप्ताहिक संवाददाता
नेपालको छोटो भ्रमणपछि अमेरिका पुगेकी सेलेनाले त्यहाँका सञ्चारमाध्यममा समेत आफ्नो नेपाल भ्रमणका बारेमा जानकारी गराइरहेकी छिन्। यसबीच अमेरिकी समाचार च्यानल एबीसी न्यूजको समाचारमूलक कार्यक्रम 'न्यूजमेकर' का लागि पत्रकार ड्यान क्लोइफ्लरसँग कुराकानी गर्दै सेलेनाले आफ्नो नेपाल भ्रमण अत्यन्त उपलब्धिमूलक तथा जीवनोपयोगी रहेको कुरा उल्लेख गरेकी छिन्। हलिउडमै सुन्दर तथा प्रतिभाशाली नायिका तथा गायिकाका रूपमा स्थापित २१ वषर्ीया सेलेनाले नेपालको भ्रमणबाट वास्तविक जीवन बुझ्ने अवसर प्राप्त गरेको कुरा उल्लेख गरेकी छिन्। युनिसेफको सद्भावना दूतका रूपमा उनी गत महिना नेपाल आएकी थिइन्। विगत दुई वर्षदेखि सद्भावना दूतका रूपमा विश्वका विभिन्न देशको भ्रमण गरिसकेकी सेलेनाले नेपाल यात्रा अरू देशको भन्दा पृथक् भएको प्रतिक्रिया दिएकी छिन्। एउटा जिज्ञासामा सेलेनाले भनेकी छिन्— 'नेपाल पुगेपछि मैले थाहा पाएँ, म त पानीको फोकाको जस्तो जीवन बाँचिरहेकी रहेछु।'
अन्तर्वार्ताका क्रममा सेलेनाले नेपालका ग्रामीण बस्तीमा बालबालिकाहरूसँग खेलेका, महिलाहरूसँग हाँसखेल गरेका दृश्य पनि प्रसारण गरिएको थियो। अन्तर्वार्ताका क्रममा भावुक हुँदै सेलेनाले भनेकी छिन्— 'जब म मानिसहरूसँग फोनमा झुन्डिरहेकी हुन्थें, आफ्नो दैनिकीका बारेमा सोचिरहेकी हुन्थें, त्यतिबेला लाग्थ्यो, यो नै मेरो संसार हो, तर त्यही बेला म नेपालका रूपमा एउटा त्यस्तो देश भ्रमण गर्न पुगे, जहाँका बालबालिकाहरू अझै पनि शौचालयका लागि आफ्ना अभिभावकहरूलाई गुहारिरहेका छन्।' सेलेनाले नेपालको यो यथार्थका बारेमा आफ्ना प्रशंसकहरूले पनि जानकारी पाउनुपर्ने आशय व्यक्त गर्दै भनेकी छिन्— 'अहिले मेरा प्रशंसकहरूलाई नेपाल कहाँ पर्छ भन्ने कुरा थाहा छ। सम्भवत: यो कुरा उनीहरूलाई पहिले थाहा थिएन। मलाई पनि थाहा थिएन, नेपाल कहाँ पर्छ भन्ने कुरा। अहिले मैले मात्र होइन, मेरा प्रशंसकले पनि नेपाल र नेपालीका बारेमा जानकारी पाएका छौं। यो हाम्रा लागि सिकाइ पनि हो।' अन्तर्वार्ताको नेपाल-प्रसंगको अन्त्यमा सेलेनाले नेपालको भ्रमणबाट आफूलाई प्रेरणा मिलेको समेत उल्लेख गरेकी छिन्।