साप्ताहिक संवाददाता
तत्काल हेर्दा सामुदायिक उमाविको तुलनामा निजी उमाविको शैक्षिक परिणाम राम्रो देखिन्छ, तर आयस्रोतका दृष्टिकोणले सबै विद्यार्थीले निजी उमाविमा अध्ययन गर्न सकिरहेका हुँदैनन्। मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीले सामुदायिक उमाविबाट पनि राम्रो गर्न सक्छन्। यो दुई वर्षको अधिकतम समय अध्ययनमै लगाएको खन्डमा सामुदायिक उमाविबाटै पनि भविष्यको बाटो रोज्ने आधार बनाउन सकिन्छ।
एसएलसीसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसएलसीपछि फरक संकायको अध्ययनमा जानुपर्छ। उच्च माध्यमिक परिषद््ले प्लस टु शिक्षालाई प्रस्ट रूपमा संकायगत नभने पनि उच्च शिक्षाको मुख्य आधार प्लस टु भएकाले यो समयमा विद्यार्थीले जुन संकायसँग सम्बन्धित विषय रोज्छ, उसको करियर पनि त्यसैसँग जोडिन्छ।
एसएलसी उत्तीर्ण गरेपछि विज्ञानसँग सम्बन्धित विषय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्नेहरूले विज्ञान संकायमा जान पाउँदैनन्। त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाउने भए पनि मानविकी संकायका विद्यार्थीलाई व्यवस्थापनमा जान गार्हो हुन्छ। यो दृष्टान्तले पनि विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने हुन्छ।
विद्यार्थीले यो समयमा कुनै एक कलेजमा मात्र सीमित भएर जानकारी लिनुभन्दा सक्दो धेरै कलेज चहारेर जानकारी बटुल्नुपर्छ। त्यसले उच्च शिक्षाका लागि आफ्नो उपयुक्त विषय छनौटमा विविधता अपनाउन सहयोग गर्छ। त्यस्तै कलेजकै सवालमा पनि यो समयमा जतिसक्दो धेरै कलेजको जानकारी लिए प्लस टु शिक्षाको समग्र जानकारी हासिल हुन्छ।
एसएलसी परिणाम नआउँदै राजधानीका केही कलेजले त विद्यार्थीलाई एडभान्स कोर्सका नाममा भर्ना गरिसकेका छन्। हेर्दा आकर्षक र प्रचारका दृष्टिकोणले सफल मानिएका कलेजहरू मात्र उत्कृष्ट कलेज हुन सक्दैनन्, भन्ने कुरा विद्यार्थीले बुझ्न सक्नुपर्छ। विद्यार्थीले कलेजका केही कक्षामा बसेर त्यहाँको शिक्षण समूह कस्तो रहेछ भनेर बुझ्ने चेष्टा गर्नुपर्छ, राम्रो लागे भर्ना हुने नत्र कलेजको कमी छैन यहाँ।
एसएलसी उत्तीर्ण भएपछि केही साता विद्यार्थीहरू कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भनेर अलमल्लिरहेका हुन्छन्। यहाँ विद्यार्थीको रुचिको विषय कुन हो भन्ने कुरा मुख्य हो। विषय जुनसुकै भए पनि त्यो विषयमा मेहनत गरेर ज्ञान हासिल गरियो र उच्च शिक्षा पूरा गरियो भने अवसर आफै सिर्जना हुन्छन्। चलचित्र अभिनेता राजेश हमालले प्लस टु पुस्तासँगको कुराकानीमा भनेका थिए- 'विज्ञता हासिल गरेको मानिस जुनसुकै क्षेत्रमा सफल हुनसक्छ। उच्च शिक्षा हासिल गरेको व्यक्तिले कृषि पेसा नै अपनाए पनि उसले त्यसमा सफलता हासिल गर्छ।'
उच्च शिक्षाका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो- लक्ष्य निर्धारण। विद्यार्थीले दूरदर्शी हुने प्रयास गर्दै आफ्नो जीवनको फ्रेमवर्क तयार गर्न सकेको खण्डमा ऊ सफल हुने निश्चित छ। लक्ष्य निर्धारण गरेको अवस्थामा विद्यार्थीले त्यो लक्ष्य भेट्टाउन लगनशील एवं मेहनती भएर अघि बढ्नुपर्छ। 'एसएलसी उत्तीर्ण भएकाहरू कुनै विषयमा भर्ना नहुञ्जेल कहाँँ-के अध्ययन गर्ने भनेर अन्यौलमा हुन्छन्' शैक्षिक परामर्शदाता संस्था नेसनल इन्स्िटच्युट अफ साइकोलोजिकी प्रमुख गंगा पाठक भन्छिन्-'अन्यौल बढाउन सामाजिक प्रतिष्ठा, परिवारको अनावश्यक दबाब तथा विषयप्रति स्पष्ट जानकारी नहुनुजस्ता कुराले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्।' जसका कारण एसएलसीसम्म राम्रो भनिएको विद्यार्थी उच्च शिक्षामा कमजोर साबित हुन्छ त्यस्तै कमजोर विद्यार्थीले उच्च शिक्षामा सरल विषय लिएर राम्रो गर्नसक्छ।
विशिष्ट श्रेणी, प्रथम श्रेणी मात्र होइन, दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थी पनि विज्ञान संकायमा अध्ययन गर्ने अभिलाषा राख्छन्। परिवारको दबाब पनि छोराछोरीले राम्रो विषयमा अध्ययन गरून् भन्ने हुन्छ, जेभियर इन्टरनेसनल कलेजका प्राचार्य लोकनाथ भण्डारी भन्छन्-जसका कारण उनीहरू आफ्नो सामथ्र्य नहुँदा नहुँदै विज्ञान संकायमा अध्ययन गर्ने भएर वर्षौ अल्झिरहेका हुन्छन्। यसो गर्नुको सट्टा उनीहरूले आफ्नो सामथ्र्य तथा रुचि भएको विषयमा जानु उपयुक्त हुन्छ।
पछिल्ला वर्षहरूमा विशिष्ट श्रेणी तथा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरू ए लेभलको पाठ्यक्रमप्रति आकषिर्त भैरहेका पाइन्छन्। ए लेभल बेलायतस्थित क्याम्बि्रज विश्वविद्यालयको पाठ्यक्रम भएकाले अन्तराष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रम हो। त्यसैले पनि धेरै विद्यार्थी ए लेभल अध्ययन गरे सीधै करियर विकास हुन्छ भन्ने भ्रममा हुन्छन्। ए लेभलको पाठ्यक्रममा विद्यार्थीले आफूले रोजेको विषयमा अंक राम्रो नआउञ्जेल परीक्षा दिइरहन पाउँछन्। 'राम्रो अंक नआएको भनेर ए लेभलको दुईवर्षे पाठ्यक्रममा वर्षौ अल्झिरहेका विद्यार्थी पनि छन्' शिक्षाविद् सुधीर झा भन्छन्-'नियमित समयमा यो पाठ्यक्रममा राम्रो गर्न सक्छु भन्ने विद्यार्थीले मात्र ए लेभल अध्ययन गर्नु राम्रो हुन्छ। विद्यार्थीको अंग्रेजी बेस राम्रो छैन भने पनि ए लेभलको अध्ययन आफैंमा गार्हो हो।' ए लेभलको अध्ययन खर्चिलो छ। त्यतिमात्र होइन, ए लेभल सकेपछि वैदेशिक अध्ययनमा जान पनि त्यत्तिकै खर्च लाग्छ। एसएलसीमा राम्रो अंक ल्याएका विद्यार्थीलाई कलेजले विशेष छुट दिएर ए लेभल अध्ययन गर्ने अवसर दिए पनि उसले वैदेशिक अध्ययनमा छात्रवृत्ति पाउन सकेन भने फेरि स्वदेशमै उच्च शिक्षा हासिल गर्नुको विकल्प हुँदैन। ए लेभल पछिको वैदेशिक अध्ययनमा थोरैले मात्र पूर्ण छात्रवृत्ति पाउँछन्। झा भन्छन्-ए लेभल राम्रो पाठ्यक्रम भए पनि विद्यार्थीले विस्तृत रूपमा नबुझी अध्ययन थालनी गर्नु हुँदैन। ए लेभल राम्रो पाठ्यक्रम भनेर पछि वितृष्णा जाग्नुभन्दा सुरुमै कलेजले पनि यस विषयमा परामर्श उपलब्ध गराउनुपर्छ।
गुणस्तरीय कलेज हरेक दृष्टिकोणले सक्षम हुन्छ। कस्तो कलेज छनौट गर्ने ? विद्यार्थीले सबै हिसाबले आफ्ना लागि उपयुक्त मानेको कलेजमा मात्र भर्ना लिन जानुपर्छ। एसएलसी पछि प्लस टुमा राम्रो अंक ल्याउन सक्ने विद्यार्थीले नै उच्च शिक्षाका क्रममा राम्रो अवसर पाउँछन्।
संकायगत रूपमा हेर्दा अहिलेको समयमा व्यवस्थापन, मानविकी र शिक्षा संकाय पनि रोजगारीका दृष्टिले सबल छन्। सम्पूर्ण व्यापारिक क्षेत्रमा व्यवस्थापन संकाय अध्ययन गरेको जनशक्तिको आवश्यकता हुन्छ भने अध्ययनमूलक धेरै क्षेत्रमा मानविकीको जनशक्ति उपयोगमा आइरहेको हुन्छ। ग्रामीण क्षेत्रमा शिक्षा संकाय अध्ययन गरेको जनशक्तिले अहिले पनि सजिलै शिक्षण पेसामा रोजगारी पाइरहेको छ। त्यसैले विज्ञान संकाय मात्र राम्रो भनेर व्यवस्थापन एवं मानविकी संकायलाई तल्लो स्तर मान्नुपर्ने अवस्था छैन।
विद्यार्थीले विषय तथा कलेज छनौट गर्न गार्हो भैरहेको अवस्था छ भने आफूभन्दा अग्रज, परामर्शदाता संस्थासँग सरसल्लाह गर्न सक्छन्। त्यस्तै केही कलेजले आफ्नै पहलमा शैक्षिक-परामर्श समेत उपलब्ध गराउँदै आएका छन्। कलेजले सञ्चालन गरेको परामर्श केन्द्रमा भने आफ्नै कलेजको बढी व्याख्या गरिने भएकाले विद्यार्थीले सजगता अपनाउनुपर्छ। तल कुन विषयमा करियर निर्माण गर्न सकिन्छ भनेर संकायगत रूपमा कुन करिअर रोज्ने भनेर सिफारिस गरिएको छ, जसले गर्दा विद्यार्थीलाई आफ्नो लक्ष्य पहिचान गर्न सजिलो हुनेछ।
मानविकी तथा शिक्षा संकाय
मानविकी संकायमा पनि धेरै नयाँ विषय प्रवेश भएका छन्। पुरानाको हकमा हेर्ने हो भने राजनीतिशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, गणित, अंग्रेजी-नेपाली भाषा, मानवशास्त्र, अर्थशास्त्र, पत्रकारिता आदि विषयमा उच्च शिक्षा हासिल गरेकाहरूले बेरोजगार बस्नु परेको छैन। अहिले द्वन्द्व व्यवस्थापन, सामाजिक कार्य, शान्ति शिक्षा, कला संस्कृतिअन्तर्गत संगीत, नृत्य, ललितकलाजस्ता विषयमा उच्च शिक्षा हासिल गर्ने ट्रेन्ड बढेको छ। आमसञ्चार तथा पत्रकारितामा त क्रेज नै छ।
व्यवस्थापन संकाय
व्यवस्थापन संकाय अवसरको खानी मानिन्छ। पछिल्लो अवधिमा बीबीए, एमबीए, इएमबीएजस्ता व्यवहारमुखी शैक्षिक पाठ्यक्रम आएपछि औद्योगिक, वित्तीयलगायत विभिन्न संघसंस्थामा यो विषयको दक्ष जनशक्ति खपत भैरहेको छ। चार्टर्ड एकाउन्टेन्सी, विजनेस एडमिनेस्ट्रेसन, बिजनेस स्टडिज, मार्केटिङ, एडभरटिजमेन्ट म्यानेजमेन्ट, म्यानेजमेन्ट विद कम्प्युटर एप्लिकेसन्स, फाइनान्स, इन्फरमेसन म्यानेजमेन्ट, इकोनोमिक्सजस्ता विषयमा उच्च शिक्षा हासिल गरेकाहरूका लागि पनि अवसरले उत्तीकै पछ्याइरहेको हुन्छ। व्यवस्थापन संकायअन्तर्गत नै होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट, हस्पिटल म्यानेजमेन्ट जस्ता शैक्षिक-व्यावसायिक कोर्स गर्नेहरूले अहिले स्वदेशमा मात्र होइन विदेशमा पनि आकर्षक रोजगारी पाउने गरेका छन्।
विज्ञान संकाय
प्लस टु आधारभूत शिक्षा हो। प्लस टु सकिएपछि विभिन्न शैक्षिक कार्यक्रममा जान सकिन्छ। प्लस टुमा साइन्स लिएर अध्ययन गर्ने विद्यार्थीले मेडिकलमा एमबीबीएस-एमडी, पब्लिक हेल्थ, बीएस्सी नर्सिङ, फर्मासिस्ट, बायोलोजी, फिजिक्स, केमेस्ट्री म्याथ, माइक्रोबायोलोजी, बायो टेक्नोलोजी, इन्जिनियरिङ, फुड टेक्नोलोजी, डेन्टिस्ट्री, फिजियोथेरापी, एगि्रकल्चर, फरेस्ट्री, जियोलोजी, कम्प्युटर साइन्स आदि विषयमा उच्च शिक्षा हासिल गर्न सक्छन्। यी विषयमा विषयगत दक्षता हासिल गरेपछि सम्बन्धित क्षेत्रमा काम पाउनुका साथै शिक्षण पेसामा पनि अवसर प्राप्त गर्छन्।