हामी नाफाका लागि विद्यालय सञ्चालन गर्दैनौं। विद्यार्थीहरू आफैं भर्नाका लागि आउँछन्, विज्ञापन पनि गर्नुपर्दैन। कसैलाई स्कुल-कलेजको सूचना चाहिए प्रशासनमा सम्पर्क राखेर लिन सकिन्छ। शिक्षालाई सेवाका रूपमा लिएका कारण हाम्रो कुरा बाहिर नआएको हो। सेवामा प्रचार हुँदैन।
नेपालका कुन-कुन ठाउँमा मिसिनरी स्कुल छन् ?
नेपालका सबैजसो सहर र केही गरिब बस्तीमा हामी सेवा गरिरहेका छौं। काठमाडौं, पोखरा, धरान, वीरगन्ज, झापाजस्ता सहरी क्षेत्रमा भएका विद्यालयबाट केही शुल्क लिन्छौं र उक्त शुल्कबाट केही रकम जोगाएर गाउँका गरिबलाई नि:शुल्क शिक्षा दिन्छौं। विभिन्न मिनिनरी स्कुल-कलेजले करिब २५ हजार विद्यार्थीलाई शिक्षा दिइरहेको छ।
तपाईंहरूले सहरमा स्थापना गर्नुभएको स्कुल-कलेजको शुल्क तुलनात्मक रूपमा सस्तो छ। यति हुँदा पनि तपाईंहरूले पैसा बचाएर गाउँका विद्यार्थीहरूलाई नि:शुल्क शिक्षा दिनुहुन्छ। कसरी सम्भव छ ?
हामी जो सञ्चालकहरू छौं, हाम्रो घर हुँदैन। हाम्रो परिवार पनि हुँदैन। हामी अत्यन्तै थोरै, आवश्यक खानेकुरा मात्र खान्छौं र हाम्रो पहिरन पनि एकै किसिमको हुन्छ, सस्तो। हामी एउटा सानो घरमा सामान्य कोठामा सामूहिक रूपमा बस्छौं। यसो गर्दा हाम्रा लागि विद्यार्थीले कुनै खर्च गर्नुपर्दैन। शिक्षक र पूर्वाधारमा खर्च गरिसकेपछि जति पैसा बाँकी रहन्छ, त्यो गाउँका विद्यालयमा जान्छ, त्यसले गर्दा गरिबले पनि नि:शुल्क शिक्षा पाउँछन्।
यसो गर्दा शिक्षामा गुणस्तर कायम राख्न सकिन्छ ?
तपाईंले रिजल्ट त हेरि नै रहनुभएको छ। एसएलसीमा हाम्रा विद्यार्थी फेल भएको रेकर्ड नै छैन भन्दा पनि हुन्छ। जो पास हुन्छन्, प्रथम र विशिष्ट श्रेणी ल्याइरहेका हुन्छन्। जहाँसम्म कलेजको कुरा छ, बाहिरबाट भर्ना भएका एक-दुई विद्यार्थी कुनै-कुनै बेला अनुत्तीर्ण भएको उदाहरण पनि छ। तैपनि हाम्रो उद्देश्य विद्यार्थीलाई उत्तीर्ण गराउने होइन, आर्ट अफ लिभिङ सिकाउने हो। नैतिक शिक्षासँगै बाहिर प्रतिस्पर्धा गर्न सक्ने योग्य मान्छे तयार गर्नु हाम्रो उद्देश्य रहँदै आएको छ। हाम्रा विद्यार्थी अधिकारमा भन्दा कर्तव्यमा, नकारात्मक कुरामा भन्दा सकारात्मक कुरामा बढी रमाउँछन्।
मिसिनरी स्कुल-कलेजले इसाई धर्मको प्रचार गरेको आरोप पनि लाग्ने गरेको छ, किन होला ?
हामी जो सञ्चालक छौं, क्याथोलिक धर्मावलम्बी हौं। हामी सञ्चालकबाहेक जति शिक्षिका हुनुहुन्छ, उहाँहरू हिन्दू नै हुनुहुन्छ। विद्यार्थी पनि हिन्दू नै छन्। हामी शिक्षिकाहरूलाई जागिर दिँदा, विद्यार्थी भर्ना लिँदा कहिल्यै धर्म सोध्दैनांै। बिहान एउटा प्रार्थना हुन्छ, त्यसमा हामी जिससको नाम लिँदैनौ। धर्म प्रचारको आरोप लाग्छ भनेर हामी गडको नाममा प्रार्थना गर्छौ। गड भनेको हिन्दूको पनि ईश्वर हो, गैरहिन्दूको पनि ईश्वर नै हो। हामी कसले के भन्छ भन्ने कुरामा विश्वास राख्दैनौ। हामी बढीभन्दा कसरी बढी सेवा गर्न सकिन्छ, मानिसमा प्रेम भावनाको विकास कसरी गर्ने भन्ने चिन्ता गर्छौं। विद्यार्थीमा अनुशासन, जीवनप्रतिको दायित्वबोध एवं मानवमात्रको सेवा हाम्रो लक्ष्य हो।
अरू स्कुल-कलेजहरूले पनि अनुशासन र असल भविष्यकै लागि शिक्षा दिइरहेका छन्, तैपनि तपाईंहरूको तुलनामा अपेक्षाकृत परिणाम नआएको देखिन्छ, यसको कारण के होला ?
अनुशासन बाहिरबाट लादेर हुँदैन, भित्रैबाट महसुस गराउनुपर्छ। त्यसका लागि सञ्चालकहरूमा सबैभन्दा बढी अनुशासन हुनुपर्छ। जबसम्म जरा राम्रो हुँदैन, तबसम्म रूखमा राम्रो फल लाग्दैन। प्रिन्सिपलदेखि सञ्चालकसम्म, हामी प्रत्येक दिन आफूलाई मूल्यांकन गर्छौ, कतै हामीले कसैको चित्त पो दुखायौं कि, कुनै कर्तव्यबाट वञ्चित पो भइयो कि। जब हामी यी कुराको दैनिक मूल्यांकन गर्छौ, अन्य शिक्षिकाहरूमा पनि यो शैलीको विकास हुन्छ। त्यसको असर विद्यार्थीसम्म पुग्छ।
तपाईंजस्ता सयौं नन्ले नेपालमा आएर शिक्षा दिइरहनुभएको छ, यसो गर्नुको खास उद्देश्य के होला भन्ने जिज्ञासा सबैले राख्ने गरेका छन्।
खुसीका लागि। जब हामीले कसैको बिनास्वार्थ सेवा गर्छौं, उसलाई खुसी दिन्छौं, त्यसले हामीलाई भित्री हृदयमा अझ बढी खुसी दिन्छ। यो खुसी करोडौं रुपैयाँ वा बाहिरी मान-सम्मानले प्राप्त गर्न सकिँदैन। यही आनन्द प्राप्त गर्न हामीले जीवनलाई अरूको सेवामा लगाएका हुन्छौं।
पहिलो पटक तपाईंमा यस्तो भावना कहिले आयो ? कसरी यो मिसिनरीसँग जोडिनुभयो ?
मेरो घर भारतको केरला हो। केरला यस्तो राज्य हो, जहाँ धेरै क्याथोलिक धर्मावलम्बी छन् र धेरै यस्ता मिसिनरीमा जोडिएका छन्। मेरी आफ्नै फुपू पनि यसमा जोडिनुभएको थियो। सानो छँदा फुपू हाम्रो घरमा आएर धेरै गरिबको सेवा गरेको, आफ्नो परिवारको सेवा गर्नुभन्दा समग्र समाजको सेवा गर्नु धेरै राम्रो भएको कुरा गर्नुहुन्थ्यो। उहाँले गाउँको गरिबीको कथा सुनाउँदा मलाई लाग्यो, यस्तै सेवा गर्नुपर्छ। मैले ८ कक्षा पढ्दा नै विवाह गर्दिनँ र गरिबको शिक्षा एवं सेवामा जीवन अर्पण गर्छु भन्ने निधो गरें। मेरा तीन दिदी-बहिनी छन्। उनीहरूको परिवार छ। हामी तीन वर्षमा एक महिना आफ्नो घर जान पाउँछौ। त्यो बेला मेरा दिदी-बहिनी भन्छन्, तिमीले विवाह नगरेर, शिक्षामा जीवन लगाएर ठूलो काम गर्यौ, तिम्रो जीवन देख्दा ईष्र्या लाग्छ। तिमी कति खुसी छौ, हामीसँग परिवार, पैसा र इज्जत भएर पनि तिमी जस्तो खुसी हुन सक्दैनौं।
तपाईंहरूको मुख्य कार्यालय कहाँ छ, यस्ता मिसिनरीहरू कसरी सञ्चालन हुन्छन् ?
हाम्रो मुख्य कार्यालय रोममा छन्। यसले संसारका २३ देशका लाखौं विद्यार्थीलाई शिक्षा दिइरहेको छ। शिक्षाबाहेक यस्ता मिसिनरीले स्वास्थ्य, अपाङ्ग, अनाथ बालबालिका एवं वृद्ध-वृद्धाहरूको पनि सेवा गर्छ। नेपालमा पनि सबै किसिमका सेवा चलिरहेका छन्। हामी जो यो मिसिनरीमा जोडिन्छौं, उसले विवाह गर्न पाउँदैन, पूरा जीवन सेवामा बिताउनुपर्छ। हामीलाई हाम्रा अग्रजले जहाँ पठाउनुहुन्छ, बिना कुनै प्रश्न, हामी उहाँले दिएको जिम्मेवारी पूरा गर्छौ। म यो कलेजको प्रिन्सिपल हुुनुअघि विराटनगरको विद्यालयमा शिक्षिका थिएँ। त्यहाँ म साधारण शिक्षक थिएँ, अहिले प्रिन्सिपल भएकी छु। अब म सधैं प्रिन्सिपल हुन्छु भन्ने होइन, भोलि गाउँको प्राथमिक विद्यालयमा पनि पढाउनुपर्छ।
योग्यताको निर्धारण कसरी हुन्छ ?
प्रेम र सेवा नै योग्यताको परिचय हो। कसले कति सेवा दिइरहेको छ, आममान्छेलाई बढीभन्दा बढी स्वास्थ्य, शिक्षा र अप्ठ्यारोबाट निकाल्न कसले मद्दत गरिरहेको छ, त्यसको मूल्यांकन हुन्छ। हामीलाई जति अप्ठ्यारो काम दियो, त्यति नै बढुवा भएको मानिन्छ। जति दुर्गम ठाउँमा पठायो, हामी त्यति नै खुसी हुन्छौं, हाम्रो कामको मूल्यांकन भयो भन्ने मान्छौं।
नेपालमा मिसिनरी शिक्षाको सुरुवात कसरी भयो ?
पहिले भारतमा मात्र मिसिनरी स्कुल-कलेज थिए। राणाको समयमा उच्च वर्गका नेपालीहरू अध्ययन गर्न भारतका विभिन्न मिसिनरी विद्यालय जान्थे। अरू कलेजको तुलनामा मिसिनरी कलेज पढेका राणाहरूमा धेरै राम्रा संस्कार विकसित भएको कारणले हुनसक्छ, नेपालमा पनि यस्ता विद्यालय खोल्न अनुरोध आयो। त्यही अनुरोध स्वीकार गर्दै सन् १९५५ मा बालिकाहरूका लागि सेन्टमेरिज स्कुल खुल्यो। त्यसभन्दा अघि बालकहरूका लागि सेन्ट जेभियर स्कुल खुलिसकेको थियो। हामी नेपालमा ६० वर्षभन्दा बढि समयदेखि शिक्षामा छौं।
विश्वभरि नै मिसिनरी स्कुलहरू चलिरहेका छन्, यसको सुरुवात कसरी भयो ?
सन् १६१५ तिर युरोप-अमेरिकामा पनि महिलालाई शिक्षा दिने चलन थिएन। त्यति बेला युरोप-अमेरिकाका महिला नेपालका महिलाहरूजस्तै निकै पछाडि थिए। महिलाहरूको यस्तो अवस्था देखेर बेलायतकी एक राजकुमारीले बालिका शिक्षाको कुरा उठाइन्। दरबारमा उनको कुरा सुनुवाई नभएपछि उनी जर्मनी आएर वालिकालाई अनौपचारिक शिक्षा दिन थालिन्। यसमा अरू युवती पनि जोडिन थाले। अहिले संसारभर लाखौं युवती-महिलाहरू यो मिसनसँग जोडिएका छन्। यो सेन्ट मेरिजको मात्र कुरा हो, यस्ता अन्य सयौं संस्था रोमको मुख्य कार्यालयमार्फत जोडिएका छन्, जसको प्रमुख पोप हुन्छन्।
नेपालमा तपाईं अरू के गर्दै हुनुहुन्छ ?
गरिबलाई नि:शुल्क र मध्यमवर्गीयसँग उचित शुल्क ल्ािएर राम्रो शिक्षा दिनु हाम्रो उद्देश्य हो। हामीले चेपाङ, सन्थ्याल लगायत पछि परेका एवं गरिबहरूलाई शिक्षा दिने अभियान चलाएका छौं। कुनै गाउँ-ठाउँबाट अनुरोध आए र उनीहरू शुल्क तिर्ने अवस्थामा नभए नि:शुल्क शिक्षा प्रदान गर्ने अभियानमा छौं।