नेपाली तारा-२ का विजेता गायक सन्तोष लामा वैवाहिक जीवनमा बाँधिएका छन्। गत शुक्रबार लामाले पोखरा निवासी गीता मोक्तानलाई जीवन संगिनी बनाएका हुन्। पोखराको विरौटास्थित राममन्दिरमा सन्तोष र गीताको परिवारका सदस्यहरूको उपस्थितिमा वैवाहिक समारोह सम्पन्न भएको थियो। दुवैको भेट आठ वर्षअघि 'नेपाली तारा-२' मा सहभागी हुने क्रममा भएको बताइन्छ। कुपण्डोलस्थित स्टुडियो फोरमा नियमित भेटघाट हुन थालेपछि उनीहरूबीच राम्रो साथीका रुपमा सम्बन्ध प्रारम्भ भएको गायक लामाले उल्लेख गरेका छन्। गीताले गायक लामाको 'फेरि फर्किएर' गीतको म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छिन्।