पर्यटकीय नगरी पोखरामा प्रत्येक वर्षजस्तै यसपटक पनि एघारौं संस्करणको रोपाइँ महोत्सव सम्पन्न भएको छ। पञ्चैबाजा, नाचगान एवं दोहोरी कलाकारको असारे भाकाले महोत्सव निकै रमाइलो रह्यो। महोत्सवमा सहभागी भएर विभिन्न मुलुकका पर्यटकले पर्याप्त मनोरन्जन प्राप्त गरे। पोखरा पर्यटन परिषद्ले नियमित रूपमा यो महोत्सव सञ्चालन गर्दै आएको छ। पोखराको बाँझापाटनस्थित कमलपोखी ताल नजिकैको बुढुवा फाँटमा घन्किएको महोत्सवमा रमाइलोका लागि हिले दौड, डोरी तान्ने खेल, हिलोमा माछा समात्नेप्रतिस्पर्धाका साथै असारे गीत गायन पनि समावेश थियो। पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ विदेशी पर्यटकलाई नेपालको संस्कृति चिनाउने उद्देश्यले यो महोत्सवको आयोजना गरिँदै आएको छ।