समय फेरिएको छ। नेपालले यसै वर्ष बंगलादेशमा ट्वान्टी-२० विश्वकप खेलिसकेको छ। अब नेपालले टेस्ट मान्यताप्राप्त ती बलिया टिमसँग पनि खेल्न पाउने छ। अब पारस, शरद भेषावकर, ज्ञानेन्द्र मल्लले टेस्ट मान्यताप्राप्त बलरलाई पिटेको देख्न पाइनेछ भने वसन्त, शक्ति गौचन, सोमपाल कामी, जितेन्द्र मुखियाजस्ता खेलाडीले ठूला देशका स्टार खेलाडीलाई बोल्ड गर्ने अवसर प्राप्त गरेका छन्।
शनिबार (असार १४ गते) अस्ट्रेलियाको मेलबर्नमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वाषिर्क सम्मेलनले नेपाललाई नेदरल्यान्ड्ससँगै अन्तर्राष्ट्रिय ट्वान्टी-२० को मान्यता दिएको हो। नेपालको १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा यो सबैभन्दा महत्त्वपूर्ण र ठूलो उपलब्धि हो। नेपाल र नेपाली खेलाडीले यसलाई राम्रोसँग बुझेका छन्। त्यसैले त कप्तान पारसले प्रतिक्रिया दिए, 'यो खुसीको कुरा हो, हामीले यसलाई उपभोग गर्नुपर्छ।'
क्यानाडा फर्किसकेका प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र पारसको कप्तानीमा नेपालले ट्वान्टी- २० मा सन् २०११ देखि नै राम्रो गर्दै आएको हो। त्यही वर्षको अन्त्यमा प्रशिक्षक पुवुदु नेपाल छिरेका थिए। नेपाललाई यो स्थितीसम्म ल्याएर उनी स्वदेश फर्किएका हुन्।
नेपालले बंगलादेशमा यही वर्षको मार्च-अप्रिलमा भएको ट्वान्टी-२० मा लोभलाग्दो प्रदर्शन गरेर विश्वक्रिकेटकै ध्यान खिचेको थियो। नेपालले समूह चरणको खेलमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने घरेलु टिम बंगलादेशसँग हार बेहोरेको थियो। बंगाली भूमिमा नेपाली खेलाडीले गरेको प्रदर्शनका आधारमा आईसीसीले नेपाललाई ट्वान्टी-२० को मान्यता दिएको हो। त्यतिबेला नेपाली खेलाडीको प्रशंसामा कमेन्टेरहरूले प्रसस्त शब्द खर्च गरेका थिए। पुवुदुलाई होटलमा भेट्ने धेरैले बधाई पनि दिए।
नेपाली क्रिकेट अहिले भद्रगोलको स्थितिमा छ। अन्तर्राष्ट्रिय रूपमा टिम जति चर्चामा छ, नेपाली क्रिकेटलाई अघि बढाउने जिम्मा पाएको नेपाल क्रिकेट संघ (क्यान) भने भद्रगोल स्थितिमा चलिरहेको छ। दर्जनभन्दा बढी पदाधिकारी भ्रष्टाचारको आरोपमा मुछिएका छन् भने अहिले क्यानलाई कार्यवाहक अध्यक्ष तारणीविक्रम शाहले चलाइरहेका छन्। क्यानका पदाधिकारीहरू एसियाली क्रिकेट काउन्सिल (एसीसी) र आईसीसीबाट आएको पैसाको सही हिसाब बुझाउन सकेका छैनन्। त्यसले गर्दा नेपालले गत वर्ष ८४ हजार डलर त जरिवाना नै तिरेको थियो।
नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेके पनि ट्वान्टी-२० प्रतियोगिता खेल्न थालेको भने सन् २००७ देखि हो। छोटो संस्करणको प्रतियोगितामा नेपालले छोटो समयमै ठूलो उपलब्ध हासिल गरेको छ। अब टेस्ट खेल्ने मान्यता पाएका १० देशबाहेक एसोसियट्सबाट ट्वान्टी-२० खेल्ने टिमको संख्या ८ पुगेको छ।
नेपाली क्रिकेट अहिले राष्ट्रिय टिमको सफलता र पदाधिकारीहरूले गरेको खराब कामबीच हिँडिरहेको छ। यसलाई समयमै सल्टाउन नसकेसमस्या अझ बढ्नेछ। त्यसैले नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले छिटोभन्दा छिटो क्रिकेटको समस्या सुल्झाउनतर्फ लाग्नुपर्छ। खेलाडीलाई राम्रो खेल्ने एवं हौसला दिने वातावरण सिर्जना गरिनुपर्छ, अन्यथा ठूला टिमको अघि जाँदा नेपाली टिमको प्रदर्शन अपेक्षाअनुरूप नहुन सक्छ।
संक्षेपमा नेपाली क्रिकेट
- सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेलबाट प्रवेश।
- सन् २००३ मा इमर्जिङ नेसन्स कपको विजेता।
- सन् २००६ एसीसी थ्री डे लिगको विजेता।
- सन् २००७ मा पहिलो पटक ट्वान्टी-२० क्रिकेटमा सहभागिता।
- सन् २०१० मा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-५ को विजेता।
- सन् २०११ मा आईसीसी विश्वकप ट्वान्टी-२० छनोटमा छनोट।
- सन् २०१२ मा आईसीसी विश्वकप छनोटमा सातौं स्थान।
- सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ को विजेता।
- सन् २०१२ एसीसी इमर्जिङ कपको विजेता।
- सन् २०१२ आईसीसी विश्वकप ट्वान्टी- २० छनोटमा छनोट।
- सन् २०१३ मा आईसीसी विश्वकप ट्वान्टी- २० मा छनोट।
- सन् २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ च्याम्पियन।
- सन् २०१४ विश्वकप ट्वान्टी- २० मा सहभागिता।
- सन् २०१४ मा ट्वान्टी- २० को अन्तर्राष्ट्रिय मान्यता।