गत आइतबार उमेरले ५० कटेकी वरिष्ठ अभिनेत्री मिथिला शर्माले ७४ वर्षीय प्रेमी पूर्व आईजीपी मोतीलाल बोहोरालाई जीवनसाथी बनाइन्। शर्मा र बोहराबीच विगत लामो समयदेखिको प्रेमले विवाहको स्वरूप पाउने क्रममा पारिवारिक जमघटमाझ उनीहरूले कोर्ट म्यारिज गरेका हुन्। परिवारकै सहमतिमा उनीहरूको वैवाहिक समारोह सम्पन्न भएको हो। कोर्ट म्यारिजपछि दुवैले आफ्ना नजिकका आफन्त तथा साथीभाइलाई विवाह भोजसमेत ख्वाएका थिए। मिथिला शर्मा हालसम्म अविवाहित थिइन् भने मोतीलाल बोहराकी पूर्वश्रीमतीको डेढ वर्षअघि निधन भएको थियो।
मिथिला-मोतीलालको विवाह प्रसंग सेलाउन नपाउँदै गत सोमबार दुई भिन्न सेलिब्रेटी जोडी वैवाहिक बन्धनमा बाँधिए। नाट्यकर्मी, चलचित्र निर्देशक तथा अभिनेता अनुप बराल तथा अभिनेत्री दिया मास्केले सोमबार नै लगनगाँठो कसे। बसुन्धरास्थित एउटा पार्टी प्यालेसमा सम्पन्न अनुप र दियाको वैवाहिक समारोहको विधि भने परम्परागत देखिएन। हिन्दू परम्पराअनुसार सम्पन्न उनीहरूको विवाहमा दुलही पक्षका व्यक्तिले ज्वाइँको गोडा धोएनन्, न त कन्यादान नै गरियो। अनुपले भने- 'हामीले प्रगतिवादी विवाह गरेका हौं, दुलाहा अनुपका अनुसार हिन्दू परम्पराको वैवाहिक विधिमा सुधार आवश्यक छ।' रमाइलो पक्ष त के रह्यो भने अनुप र दियाको विवाहको सम्पूर्ण विधि करिब आधा घन्टामै सम्पन्न भएको थियो। करिब १५ जना जन्ती लिएर दुलाहा अनुप विवाह मण्डपमा पुगेका थिए। विवाह समारोहमा अनुपका बुवा कार्टुनिस्ट बात्स्यायन (दुर्गा बराल) सहित केही पुराना साहित्यकारको मात्र उपस्थित थियो। वैवाहिक समारोहमा चलचित्रकर्मीहरूको उपस्थिति न्यून देखिन्थ्यो। सात वर्षभन्दा लामो प्रेम सम्बन्धलाई अनुप र दियाले विवाहमा परिणत गरेका हुन्। वैवाहिक समारोह संक्षिप्त रहे पनि अनुप र दियाले गत बुधबार दिएको विवाह भोज भने भव्य रह्यो। भोजमा कला, रंगमञ्च, साहित्य तथा चलचित्र क्षेत्रका परिचित अनुहारहरूको बाक्लो उपस्थिति देखिन्थ्यो।
सोमबार नै सम्पन्न अभिनेता श्रीकृष्ण श्रेष्ठ तथा अभिनेत्री श्वेता खड्काबीचको वैवाहिक समारोह भने भव्य रह्यो। गौशालास्थित होटल इन्द्रेणी हिमालयनमा बिहानै प्रारम्भ भएको वैवाहिक समारोह मध्यरात विवाह भोजसँगै सम्पन्न भएको थियो। नेवार समुदायका श्रीकृष्ण तथा क्षेत्री समुदायकी श्वेताले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्। उनीहरूको वैवाहिक समारोहमा नेवार तथा क्षेत्री विवाह संस्कृति मिश्रण देखिन्थ्यो। श्रीकृष्ण र श्वेताकै लगानी रहेको होटलमा सम्पन्न विवाह समारोहलाई आकर्षक बनाउन सजावटमा विशेष ध्यान दिइएको थियो। वैवाहिक समारोह जारी रहँदै दुलाहा र दुलहीले जग्गेबाट उठेर नृत्यसमेत गरेका थिए। वैवाहिक समारोह सम्पन्न भएकै साँझ श्रीकृष्ण र श्वेताले सोही होटलमा भव्य पार्टी दिए। साँझ ७ बजेदेखि मध्यरातसम्म जारी पार्टीमा चलचित्रकर्मीभन्दा गैरचलचित्रकर्मीको उपस्थिति बढी थियो। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उप-प्रधानमन्त्री प्रकाशमान सिंहदेखि अनुराधा कोइरालासम्मका व्यक्तित्वको सहभागिता रहेको विवाह भोजको वातावरण पूर्णतः सांगीतिक थियो। हलको एउटा भागमा लाइभ कन्सर्टको शैलीमा संगीतकर्मीहरूको समुहले करिब पाँच घण्टा गीत-संगीत प्रस्तुत गर्यो। त्यसक्रममा उनीहरूले श्रीकृष्ण श्रेष्ठ तथा श्वेता खड्काद्वारा अभिनीत चलचित्रका गीतलाई विशेष प्राथमिकता दिएका थिए। पार्टीमा हरिवंश आचार्य, सुभद्रा अधिकारी, बसुन्धरा भुसाल, आकाश अधिकारी, धीरेन शाक्य, रमेश उप्रेती, दिलीप रायमाझी, झरना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, अरुणिमा लम्साल, रेजिना उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, निरज बराल, सुमिना घिमिरे, सुरजसिंह ठकुरी, प्रमोद खरेल, जितु नेपाल, सत्यराज-स्वरूपराज आचार्य आदि कलाकार सहभागी थिए।
दुई गायकको विवाह
गायकद्वय विवश पौडेल तथा विधान श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएका छन्। दुवै गायकले अघिल्लो साता हिन्दू संस्कारअनुसार परम्परागत विवाह गरेका हुन्। कान्तिपुर टेलिभिजनमा संगीत संयोजकका रूपमा कार्यरत विवशले करुणा बस्नेतलाई जीवनसंगिनी बनाएका हुन् भने पुराना गायक विधानले पेप्सीकोला, काठमाडौं निवासी पद्यमा श्रेष्ठलाई जीवनसाथी बनाएका छन्। वैवाहिक समारोहपछि गायक श्रेष्ठद्वारा आयोजित प्रितिभोजमा सांगीतिक क्षेत्रका सुपरिचित अनुहारहरूको उपस्थिति थियो।