भारतको इलाहाबादस्थित एक विश्वविद्यालयबाट शास्त्रीय नृत्यमा स्नातक पवित्रा आचार्य मनोरञ्जनका विभिन्न विधामा सक्रिय छिन्। नृत्यलाई नै मुख्य विषय बनाएर स्नातक तह तेस्रो वर्षको परीक्षासमेत दिइसकेकी पवित्रा यतिबेला नृत्यांगना तथा कोरियोग्राफरका रूपमा स्थापित हुने क्रममा छिन्। झापाबाट काठमाडौं आएलगत्तै मधुरिमा कला केन्द्रमा नृत्य सिक्दै मनोरञ्जनको क्षेत्रमा प्रवेश गरेकी पवित्रा कुशल कलाकार तथा नृत्यांगनाको परिचय बनाउने सुरमा छिन्। उनले आधुनिक, लोकदोहोरी तथा पप गीतका दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। आनन्द कार्की, सरु पराजुली, भगवान भण्डारी आदि गायक-गायिकाका लोकप्रिय म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्राले गायिका कोमल वलीको तीज गीतबाट कोरियोग्राफीमा समेत डेब्यु गरेकी छिन्। अघिल्लो साता छायांकन गरिएको गायिका वलीको नयाँ तीज गीत 'हल्ला भो शिवजी तिम्रो मेरो माया पिरिमको..' गीतको भिडियोलाई आकर्षक बनाउन पवित्राले प्रशस्त मेहनत गरेको बताइन्। नागार्जुना एकेडेमीसहित केही विद्यालयमा नृत्य निर्देशकका रूपमा समेत कार्यरत पवित्राले 'कृपा', 'कर्मरेखा' सहित आधा दर्जन टेलिश्रृंखलामा अभिनय गरेकी छिन्। केही विज्ञापनमा मोडलिङ समेत गरेकी पवित्रा दुई चलचित्र 'विजयपथ' तथा 'राजनीति' की नायिकासमेत हुन्। यतिबेला तेस्रो चलचित्रको छायांकनमा सक्रिय हुने तयारीमा रहेकी पवित्रा अभिनय एवं कोरियोग्राफीलाई पनि सँगसँगै अघि बढाइरहेकी छिन्। थप केही तीज गीतको कोरियोग्राफी गर्ने तयारीमा रहेकी पवित्राले नृत्यमा आधारित रियालिटी शोमा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेकी छिन्। नेपाली बालबालिकाहरू नृत्यमा अब्बल रहेको बताउने पवित्रा ससाना बालबालिकालाई नृत्य सिकाउँदा बेग्लै आनन्द आउने बताउँछिन्। पवित्रासँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न : तपाईं आफूलाई कसरी चिनाउन रुचाउनुहुन्छ ?
म आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छु। अभिनय, नृत्य, कोरियोग्राफी, मोडलिङ आदि कलाकारिताकै अंश भएकाले म विशुद्ध कलाकार हुँ।
टेलिभिजनमा रमाउनुहुन्छ कि चलचित्रमा ?
टेलिभिजनका लागि धेरै काम गरेकी छु। टेलिश्रृंखला, म्युजिक भिडियो, रियालिटी शो आदिका कारण टेलिभिजनले मलाई स्थापित गरेको हो। चलचित्रको आकर्षण बेग्लै छ। चलचित्रको अभिनय उमेरले साथ दिउन्जेल मात्र हो। यस अर्थमा भन्नुपर्दा म सानो पर्दामै रमाउँछु।
अबको योजना के छ ?
केही चलचित्रका लागि कुराकानी भैरहेको छ। म्युजिक भिडियोमा कोरियोग्राफीको प्रस्ताव पनि आइरहेको छ। नेपाली टेलिभिजन च्यालनमा एउटा बृहत् रियालिटी शोको खाँचो भएकाले नृत्यमा आधारित स्तरीय रियालिटी शो सञ्चालन गर्ने योजना पनि बन्दैछ।