साप्ताहिक संवाददाता
योङ अचिभर्सको ५२ भाग
एनटिभी प्लसबाट प्रसारण भैरहेको युवापुस्तामा केन्दि्रत कार्यक्रम 'योङ एचिभर्स' ले प्रसारणको ५२ भाग पूरा गरेको छ। कार्यक्रमकी निर्मात्री संगीता पन्त थापाका अनुसार यो कार्यक्रममा समाजमा सफलता हासिल गरेका युवापुस्ताको सफलताको कथा चित्रण गरिन्छ। यो कार्यक्रम प्रत्येक आइतबार राति ८ बजे प्रसारण हुन्छ।
आईफोन चलचित्रको कुरा
लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिश्रृंखलाहरूमा काम गरेका टेलिभिजनकर्मी प्रदीप तिमिल्सिनाले यतिबेला अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका छन्। उनले निर्माण गरेको प्रयोगात्मक आईफोन चलचित्र 'माई होम अवे फ्रम होम' सर्वाधिक मत ल्याई 'सुपर नाइन मोबाइल फिल्म फेस्टिभल' पोर्चुगलको जून महिनाको उत्कृष्ट चलचित्र बन्न सफल भएको छ। यससँगै प्रदीपको उक्त चलचित्रले वर्षभरिका उत्कृष्ट नौ चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ। 'यो चलचित्रलाई मैले व्यक्तिगत र पारिवारिक परिवेशमा आधारित भएर निर्माण गरेको हुँ, हाल अस्टे्रलियामा रहेका तिमिल्सिनाका अनुसार चलचित्रमा उनकी आमाको संवेदना र अशक्तताको पीडालाई उनका छोरा प्रियांसु तिमल्सिनाद्वारा अभिव्यक्त गरिएको छ। चलचित्रको सम्पादन, स्वरांकन, मिश्रण तथा रंग संयोजनसमेत आईफोनबाटै गरिएको हो।