कराँतेका अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ नेपालमा रुचाइएका जर्सीलाई टिमको समर्थनमा मात्र नभएर फेसनका रूपमा पनि लिन थालिएको बताउँछन्। 'हुनत अमेरिका, उरुग्वे आदि मुलुकका जर्सी पनि आकर्षक छन् तर ती नेपालीहरूको रोजाइमा पर्न नसक्नु फेसन नै एकमात्र कारण हो', योगेश भन्छन्। नेपालमा धेरैले ब्राजिल, अर्जेन्टिना र जर्मनीको जर्सी रुचाउनुमा अर्काले लगाएको देखेर लगाउने रहर पलाएको हुनसक्ने चाम्लिङको बुझाइ छ। त्यसैले होला, ललितपुर नखिपोटकी पूनम काफ्ले तथा पुतलीसडककी लक्ष्मी ज्ञवालीले सँगै मिलेर अर्जेन्टिनाको जर्सी किने। 'पहिलो खेल हेर्दा अर्जेन्टिना नै मन पर्यो, अझ जर्सीको रङ पनि उज्यालो छ, त्यसैले लगाएका हौं,' पूनम र लक्ष्मीले एकसाथ भने।
हुनत नेपालमा पछिल्ला वर्षहरूमा स्पोर्ट्स वेयर रुचाउनेहरूको संख्या बढेर गएको छ। गर्मीमा हल्का जर्सी सबैको रोजाइमा पर्छ। मौसमको फाइदा उठाउँदै विश्वकप फुटबलमा विभिन्न टिमले लगाएका जर्सीका क्रेजीहरूको संख्या थामिनसक्नु छ। सन् २०१० को विश्वकप विजेता तथा युरोकप च्याम्पियन स्पेनका समर्थक प्रशस्तै भए पनि उसको जर्सी रुचाउनेहरूको संख्या न्यून देखियो। विश्वकपमा राम्रो खेल खेलिरहेको नेदरल्यान्डको जर्सी पनि आकर्षक छ तर त्यसलाई रुचाउनेहरूको संख्या खासै छैन। जर्मनी फुटबल टिमका समर्थक पत्रकार माधव धिताल जर्सी लगाउनुलाई फेसनका रूपमा मात्र हेर्न नमिल्ने बताउँछन्।
एसियाबाट प्रतिनिधित्व गरिरहेका जापान, दक्षिण कोरिया तथा अस्टे्रलिया जस्ता टिमका जर्सीहरू पनि सुहाउँदिला छन्। कतिपय नेपाली फुटबल प्रेमीमा एसियाली राष्ट्रले विश्वकप जितोस् भन्ने चाहना भए पनि जर्सी ब्राजिल र अर्जेन्टिनाकै लगाएर हिँडेका छन्। 'समर्थन एउटा टिमलाई गर्ने अनि जर्सी अरू नै टिमको लगाएर हिँड्नु फेसन नभएर के हो त ?' फोटो पत्रकार नवीन गुरुङले भने- 'अलिक बढीचाहिँ फेसन नै हो कि।' खेल हेरेर टिमको समर्थन गर्नेभन्दा पहिले नै सामाजिक सञ्जालहरूमा साथीहरूले जर्सी लगाएको तस्बिर पोष्ट गरेपछि त्यही टिमको समर्थन गर्ने मानसिकता बनाएकाहरूले पनि बजार तताएका छन्। सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरले सबैलाई तान्ने गरेको छ। अनलाइन जर्सी विक्रेताहरूले पनि त्यसको फाइदा उठाएका छन्। आफ्नो फेसबुक पेजमा जर्सीको तस्बिर पोस्ट गरेपछि ग्राहकको संख्या बढेको अनलाइन व्यापारीहरू बताउँछन्।
विश्वकप फुटबलको पहिलो चरणका खेलहरू सकिँदा इटाली, इंग्ल्यान्ड तथा स्पेनजस्ता टिम प्रतिस्पर्धाबाट बाहिरिसकेका छन्। यो अवधिमा जति इंग्ल्यान्डको जर्सीले बजार ततायो त्यति स्पेनको जर्सीले तताउन सकेन। अर्जेन्टिनी टिममा स्टार खेलाडी लिओनेल मेसी छन्, त्यसैले अर्जेन्टिनाको जर्सी धेरैको रोजाइमा छ। अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलको जर्सी रुचाउनेहरूको संख्या भने न्यून छ। स्टार खेलाडीहरू थोमस मुलर तथा मिरोस्लाभ क्लोजको जर्मनीको जर्सी रुचाउने नेपालीहरूको संख्या अत्यधिक छ। यता मारियो बालाटोलीको इटालीको जर्सी रुचाउने जति छन् त्यति स्टाइकर लुइस स्वारेजको उरुग्वेको जर्सी लगाउनेहरू नेपालमा देख्न पाइँदैन। पाँच पटकको विश्वकप विजेता ब्राजिलका नेयमार, डयानियल आल्भेस, हल्क, विलियम नायक जस्ता स्टार खेलाडीका कारण उसको जर्सी रुचाउनेहरूको संख्या धेरै देखिन्छ।
अघिल्लो विश्वकपमा करिब १ लाख जर्सी बिक्री भएको अनुमान गरिएको थियो भने यसपटक ८ लाख जर्सी बिक्री भैसकेको व्यवसायीहरू बताउँछन्। महाबौद्धस्थित दाहाल स्टोरका टुकप्रसाद दाहालले हालसम्म २० लाख रुपैयाँबराबरको जर्सी बिक्री गरिसकेको दाबी गरे। यतिबेला नेपाली बजारमा ४ सयदेखि १५ सय रुपैयाँसम्मका जर्सी उपलब्ध छन्।