साप्ताहिक संवाददाता
सन् १९८६ को विश्वकपका लागि नेपालले पहिलोपल्ट छनौट खेल खेलेको थियो। त्यति बेला नेपाल समूह 'ए' मा थियो र नेपालका प्रतिद्वन्द्वी थिए, दक्षिण कोरिया र मलेसिया। नेपालले कुनै खेल जितेन्, मलेसियासँग एक खेल भने बराबरी खेलेको थियो। नेपालले दोस्रो पल्ट सन् १९९० को विश्वकप छनौट खेल खेल्यो।
नेपाल फेरि एकपल्ट दक्षिण कोरिया, मलेसिया र सिंगापुरको समूहमा पर्यो। भारत पनि यही समूहमा थियो, पछि उसले आफ्नो नाम फिर्ता लियो। नेपालका लागि यो बिर्सनलायक छनौट खेल थियो, नेपालले कुनै खेल जित्न सकेन भने कुनै गोल पनि गर्न सकेन, बरु २८ गोल खायो। नतिजा, नेपालले सन् १९९४ को विश्वकप छनौट खेल खेल्ने आँट पनि गर्न सकेन।
त्यसपछि नेपालले सन् १९९८ को विश्वकपका लागि छनौट खेल खेल्यो। यसमा नेपालले आफ्नो प्रदर्शनमा सुधार गरे पनि चार टिममध्ये अन्तिम स्थानमै रह्यो। नेपालको समूहमा थिए— जापान, ओमान र मकाउ। नेपालले मकाउलाई पनि उछिन्न सकेन। नेपालले मकाउसँगको पहिलो खेल १-१ को बराबरीमा टुङ्ग्यायो, दोस्राे खेलमा मकाउसँग २-१ ले पराजित भयो।
त्यति बेला गोल गर्ने खेलाडी थिए— हरि खड्का र दीपक अमात्य। खड्का नेपालका लागि विश्वकप छनौट खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २००२ को विश्वकप छनौट चरणको खेल नेपालका लागि धेरै अर्थमा ऐतिहासिक रह्यो। नेपालले यसपल्ट गोल मात्र गरेन्, धेरै गोल गर्यो, जित पनि हात पार्न सफल भयो। त्यति बेला नेपालको समूहमा इराक, कजाकिस्तान र मकाउ थिए।
मकाउलाई उछिनेर नेपाल तेस्रो स्थानमा आयो। नेपालले मकाउविरुद्धका दुवै खेल जितेको थियो। उक्त जित विश्वकप छनौट खेलमा नेपालको पहिलो सफलता थियो। पूरा छनौट चरणमा नीराजन रायमाझीले ७ गोल गरे। यसमा पहिलो गोल इराकविरुद्ध थियो भने अन्य गोल मकाउविरुद्ध थियो। मकाउविरुद्धको अन्तिम खेलमा निराजनले ह्याटि्रकसमेत गरे।
छनौट चरणकै खेलमा वसन्त थापा र हरि खड्काले पनि २-२ गोल गरे। बालगोपाल महर्जन र दीपक लामाको नाममा १-१ गोल रह्यो। नेपालले फेरि एकपल्ट २००६ को विश्वकप छनौट खेल खेलेन। सन् २०१० को छनौट खेलमा नेपालको एकमात्र प्रतिद्वन्द्वी ओमान थियो र लिगका दुवै खेल नेपालले गुमायो।
सन् २०१४ को विश्वकप छनौट खेलमा नेपाल पहिलोपल्ट दोस्रो चरणसम्म पुग्यो। यसपल्टदेखि एसियाली फुटबल महासंघले छनौट प्रक्रियामै परिवर्तन गर्यो। पहिलो चरणमा नेपालले इस्ट टिमोरलाई हराएको थियो। लिगका दुई खेलमा नेपाल ७-१ ले अगाडि रह्यो। पहिलो खेल २-१ ले जित्दा अनिल गुरुङ र जुमनु राईले गोल गरेका थिए भने दोस्रो खेल ५-० ले जित्दा अनिल गुरुङ, भोला सिलवाल, जुमनु, जगजित श्रेष्ठ र सुजल श्रेष्ठले गोल गरेका थिए।
छनौटको दोस्रो चरणमा नेपालको प्रतिद्वन्द्वी ओमान थियो। ओमानविरुद्ध नेपालको पहिलो खेल ९-० को हारसँगै बिर्सनलायक रह्यो। दोस्रो खेल भने १-१ को बराबरीमा रोकियो। त्यसमा ऐतिहासिक गोल गर्ने खेलाडी थिए, भरत खवास। अब जति बेला सन् २०१८ को विश्वकपका लागि छनौट प्रक्रिया सुरु हुनेछ, त्यसको ढाँचा पनि फरक हुनेछ।