साप्ताहिक संवाददाता
एक वर्षअघि आर्ट अफ लिभिङका योग शिक्षक भावेश खनालको मनमा आएको यो भावना विश्व कीर्तिमानका रूपमा रहने भएको छ । काठमाडौंको टँुडिखेलमा साउन २४ गते बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालका सबै जात-जाति, वर्ग र समूह भेला भएर एक-एकवटा विशेष प्ले कार्ड बोक्नेछन् ।
उक्त प्ले कार्डमा कोरिएको रातो, सेतो र नीलो रंगको मिश्रणबाट १ लाख १० हजार स्क्वायर फिट फराकिलो नेपाली झन्डा बन्नेछ। भू-उपग्रह, हेलिकप्टर तथा धरहराबाट उक्त झन्डा स्पष्ट देखिनेछ। यसलाई आधिकारिक बनाउन गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आउने छन्।
'शान्ति र समृद्धिका लागि मानवीय मूल्य' नामक संस्थाको पहलमा हुन लागेको उक्त कीर्तिमानमा काठमाडौंका दुई सय स्कुल-कलेजका विद्यार्थी, सबैजसो राजनीतिक दलका युवा संघठनका सदस्यहरू, विभिन्न धर्म-सम्प्रदायका सदस्य, सबैजसो खेलाडी, कलाकार एवं समाजका लागि विभिन्न अभियान चलाइरहेका गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई समावेश गरिनेछ।
'यसको मुख्य सन्देश हाम्रो विभिन्न परिचय भए पनि हामी नेपालको एउटै झन्डामुनि अटाउन सक्छौं भन्ने हो।' अभियानको तीव्र तयारी गरिरहेका खनालले साप्ताहिकसँग भने, 'विश्व कीर्तिमान कायम राख्ने बहानामा हामी एक अर्काबाट विभिन्न वाद र सोचमा टाढिएका नेपालीहरूलाई एक ठाउँमा ल्याउँदैछौं।'
हालसम्म ३५ हजार मानिस भेला हुने पक्का भएको दाबी यो अभियानका अर्का सदस्य सचिन तिमिल्सिनाले गरेका छन्। यसअघि यस्तै अभियान बंगलादेश र पाकिस्तानले सम्पन्न गरिसकेका छन्। केही वर्षअघि २४ हजार बंगलादेशीले बोकेको प्लेकार्ड भू-उपग्रहको माध्यमबाट बंगलादेशको झन्डा बनेको थियो भने गत वर्ष २९ हजार पाकिस्तानीले उक्त कीर्तिमान कायम गरेका थिए। 'नेपालले ३५ हजारभन्दा बढी मानिस जुटाउने लक्ष्य राखेपछि गिनिजबुकका प्रतिनिधिहरू नेपाल आउने भएका हुन्।' भावेशले भने, 'यो कार्यका लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। त्यसमा सबैजसो संघ-संस्थाले सहयोग गर्ने भएका छन्।'
त्यसो त शान्ति र समृद्धिका लागि मानवीय मूल्य नामक संस्थाले 'युथ फर ब्लड' कार्यक्रम पनि चलाइरहेको छ, जसमा युवाहरूलाई वर्षमा एकपटक रगत दान दिन आग्रह गरिन्छ। टँुडिखेलमा भेला हुने सबैको ठेगाना राखेर आवश्यक परेको बेलामा उनीहरूलाई रक्तदान गर्न लगाउने उद्देश्य पनि छ।
त्यसबाहेक संस्थाले आफ्नो जखउउ।यचन मार्फत सकारात्मक सोच भएका भिडियोहरू प्रसारण गरिरहेको छ। संस्थाले निःशुल्क मानसिक परामर्श एंव छात्रवृद्धिको व्यवस्था पनि गर्ने बताइएको छ।
'आर्ट अफ लिभिङ' का सदस्यहरूबाट यी सबै कार्यक्रमका लागि खर्च जुटाउने बन्दोबस्त गरिनेछ।' भावेशले आशावादी हुँदै भने, 'देशमा सानो चाहनाले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा पुष्टि गर्नेछौं।'