साप्ताहिक संवाददाता
भगवान् शिवलाई हरियो, पहेंलो रंग मन पर्ने भएर होला, साउनमा हरियो चुरा, मेहन्दी, हरियो-पहेलों पहिरन लगाउने चलन चलिआएको छ। म हरेक वर्ष साउने सोमबार भगवान् शिवको व्रत बस्छु। यो महिनाभरि माछा मासु खान्नँ। साउनमा यसरी व्रत बस्दा र भगवान् शिवको आराधना गर्दा मनै आनन्दित हुन्छ। म बुझ्ने भएदेखि अहिलेसम्म साउनमा भगवान् शिवको व्रत बस्दै आएकी छु। हामीले साना-साना कुरामा पनि खुसी खोज्न सक्नुपर्छ। साउन महिना उमंगको महिना पनि हो। यो साउनको अन्तिम सातातिर मात्र मेरोसुटिङ परेकाले खुसी पनि लागेको छ, मन्दिर जाने, व्रत बस्ने राम्रो अवसर जुटेको छ।
झरना थापा, नायिका
साउन महिनामा लगाइने हरियो चुरा र मेहन्दीले मलाई विशेष आनन्द दिन्छ। म धार्मिक स्वभावकी भएर पनि होला, मेरा लागि साउनको विशेष महत्त्व छ। सानैदेखि आमा र हजुरआमालाई साउन महिनामा हरियो चुरा, पहेंलो पोते, हरियो तथा रातो पहिरन लगाएर हरेक सोमबार व्रत बसेको देखेकाले पनि मलाई त्यसले प्रभावित गरेकोे हो। म साउनभरि हरियो चुरा, मेहन्दी तथा हरियो वा पहेंलो पोते अनि रातो पहिरनमा हुन्छु। ग्यास्टीकको समस्याले गर्दा व्रत बस्नचाहिँ सक्दिनँ, तर यो महिनाभरि माछा-मासु खान्नँ। मलाई स-साना कुराबाट पनि धेरै खुसी मिल्ने भएकाले पनि मेहन्दी लगाउन, हरियो पहिरन तथा पहेंलो रंगमा सजिन मन लाग्छ। यस्तो कुरामा नयाँ पुस्तालाई प्रेरित गर्नु आवश्यक छ र म सकेसम्म त्यसमा ध्यान पनि दिइरहेकी हुन्छु।
अशिष्मा नकर्मी, नायिका
साउनमा सोमबारको व्रत बस्यो भने राम्रो वर पाइन्छ भन्छन्, मलाई यस्तो कुरामा विश्वास नभए पनि व्रत बस्न एवं हरियो चुरा र मेहन्दी लगाउन मन लाग्छ। यो साउन महिनामा पनि त्यस्तै योजना छ। यो कुरा मैले परिवारबाट भन्दा पनि साथीहरूबाट सिकेकी हुँ। अहिले पनि म साउनमा लगाइने हरियो चुरा, मेहन्दी, हरियो वा पहेंलो पहिरन लगाउँदा खुसी हुन्छु। साउनलाई विशेष महिनाका रूपमा लिने जुन चलन छ त्यो मलाई असाध्यै राम्रो लाग्छ। हामीले यस्तो संस्कार जोगाइराख्न र यसलाई फेसनका रूपमा लान सक्यौं भने त्यसले नेपाली संस्कृतिमा ठूलो टेवा पुग्छ। यो साउन महिनाभरि अवस्था हेरेर पहेंलो, हरियो पहिरनमा हिँड्ने योजना मेरो पनि छ।
अरुणिमा लम्साल, नायिका
स्कुल र कलेजमा हुँदा साउनभरि हातमा हरियो चुरा र मेहन्दी लगाएर मन्दिर जान्थें, तर सुटिङमा जानुपर्ने हुँदा नियमित लगाउन सकिँदैन। म स्थिति हेरेर केही दिन भए पनि लगाउँछु। मलाई लामो समय चुरा लगाउन झन्झट पनि लाग्छ। खासगरी म यस्ता कुरा लामो समयसम्म क्यारी गर्न सक्दिनँ। यो साउनमा मेरो त्यस्तो खासै केही योजना छैन। जुनसुकै पहिरन किन्दा अलिकति भए पनि हरियो वा पहेंलो रंग मिसिएकै हुन्छ त्यसो भएकाले पनि पहिरनमा खासै ध्यान दिन्न। यद्यपि सांस्कृतिक परम्पराका रूपमा चलिआएको यो चलन जोगाउनुपर्छ। हामीपछिका पुस्ताले यसलाई फेसनकै रूपमा मात्र लिए भने पनि हाम्रो परम्परा बाँचिरहनेछ।