सौराहामा ९ महिनाअघि सञ्चालनमा आएको सेभेन स्टार होटलले गत शुक्रबारदेखि स्टार डान्स तथा दोहोरी रेस्टुराँ सेवा सुरु गरेको छ। उक्त सेवाको सुरुवात हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, रवि डंगोल, अभिनेता अनुराग कुँवर, चलचित्र अधकट्टीका निर्देशक सुव्रत आचार्य तथा क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले संयुक्त रूपमा रिबन काटेर गरे। होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले सौराहा घुम्न आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले डान्स बार सञ्चालनमा ल्याएको बताए। उक्त डान्सबारमा स्थानीय कलाकारले प्रत्येक दिन नृत्य प्रस्तुत गर्ने छन्। सातामा एकपटक दोहोरी कलाकारको उपस्थितिमा गीत गाउने व्यवस्था मिलाइएको छ। डान्सबार साँझ ६ देखि राति १२ बजेसम्म खुला रहनेछ।
डान्सबारको उद्घाटन गर्न आएका हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला तथा रवि डंगोल 'बेइमान' सबैको आकर्षणमा रहे। उनीहरूले हास्य प्रहसन प्रस्तुत गरी दर्शकलाई पेट मिचिने गरी हँसाए।