१८ महिनादेखि आन्दोलन गरिरहनुभएको छ, तैपनि माग पूरा भएन, किन होला ?
सरकारमा भएका नेताहरू आमा-बुबालाई माया गर्दैनन्। उनीहरूलाई यिनै ज्येष्ठ नागरिकले जन्माए, हुर्काए र आजको अवस्थामा पुर्याए भन्ने कुरा बिर्सिएकाले हाम्रो माग पूरा नभएको हो।
आफ्ना आमा-बुवालाई त सबैले माया गर्छन् नि। तथ्यहीन आरोप पो लगाउनुभयो त ?
राजनीति गर्नेहरूको निजी जीवन हुँदैन। उनीहरूले पैसा कमाएका होलान्। आफ्ना आमा-बुवालाई सुख दिएका होलान्, तर सबै ज्येष्ठ नागरिक उनीहरूका आमा-बुवा होइनन् ? राजनीति गरेपछि आफ्ना आमा-बुवालाई मात्र माया गर्न पाइन्छ र ? उनीहरूले कसका लागि राजनीति गरेका ?
सबैजसो नेता यो आन्दोलनमा आएर तपाईंहरूको माग ठीक छ भनिरहेका छन्। तैपनि राजनीतिज्ञलाई सबैले गाली गरिरहनुभएको छ, गाली गरेर समस्या समाधान हुन्छ ?
हाम्रो माग ठीक छ भने किन पूरा हुँदैन् त ? हामीले कुनै नयाँ र पूरा हुन नसक्ने माग त गरेका छैनौं। हामी अहिले त गाली मात्र गरिरहेका छौं। १८ महिनासम्म आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि हाम्रो धैर्य टुट्न थालेको छ। अहिलेसम्म हामी अनुशासित नै छौं, जुन दिन हाम्रो धैर्य टुट्छ, त्यो बेला के हुन्छ भन्न सकिँदैन।
तपाईंहरूको मुख्य माग के हो ?
अहिले ७० वर्ष पुगेका नागरिकलाई सरकारले भत्ता दिइरहेको छ। नेपालीहरूको सरदर आयु नै ६९ वर्ष हो भनेर सरकारले भनिरहेको छ, तर ७० वर्षमा भत्ता दिन्छ। ऐनमा ६० वर्षका व्यक्तिलाई ज्येष्ठ नागरिक भन्ने, व्यवहारमा ७० वर्ष पुगेपछि मात्र भत्ता दिने। यो त दिइस्, दिएँ भनेजस्तो भयो नि। हामीले ६० वर्ष पुग्ने बित्तिकै भत्ता दिनुपर्यो र भत्ता रकम बढाएर ३ हजार पुर्याउनुपर्यो भन्ने माग राखेका हौं। हाम्रो पहिलो माग नै त्यही हो।
नेपालमा २५ लाख नागरिक ६० वर्ष पार गरेका छन्। यस हिसाबले सबैलाई ३ हजार भत्ता दिने हो भने मासिक ७ करोड ५० लाख रुपैयाँ छुट्याउनुपर्ने रहेछ। यति धेरै पैसा सरकारले कहाँबाट ल्याउँछ ?
एउटा सभासदलाई करोड-करोड दिन सक्ने सरकारले सबै ज्येष्ठ नागरिकलाई जम्मा साढे सात करोड दिन नसक्ने भन्ने हुन्छ ? सरकारले चाहने हो भने सजिलै दिन सक्छ। कर, रेमिट्यान्स, देशको आम्दानी सबै बढिरहेको कुरा सरकार आफैं भनिरहेको छ। ज्येष्ठ नागरिकलाई ३ हजार दिन किन पुग्दैन ?
तपाईंको विचारमा किन नदिएको होला ?
यिनीहरू कमजोर छन्, ठूलो आन्दोलन गर्न सक्दैनन् भन्ने सोच छ। भोलि हामी पनि वृद्ध हुन्छौं भन्ने कुरा बिर्सिएकाले यस्तो अवस्था आएको हो। भोलि उनीहरू पनि बूढा हुन्छन्, हात-खुट्टा लाग्न छाड्छन्। छोरा-छोरीले हेर्न छाड्छन्, त्यो बेला यिनीहरूको पाप कराउन थाल्छ।
तपाईंहरूका अरू माग के-के हुन् ?
सार्वजनिक यातायात हेर्नुहोस्, कमजोर तथा रोगी ज्येष्ठ नागरिकहरू काम्दै उभिरहेका हुन्छन्, तपाईं-हामीजस्ता जवानहरू सिटमा ढसमस्स बसिरहेका हुन्छौं। यातायात कर्मचारीहरू यता सर्नुस् र उता सर्नुस् भनेर उनीहरूलाई नै दुःख दिइरहेका हुन्छन्। यो दयनीय अवस्थाको अन्त्य गर्न यातायातमा ५० प्रतिशत सिट ६० वर्ष नाघेकाहरूलाई सुरक्षित गर्नुपर्छ भने भाडामा पनि ५० प्रतिशत छुट दिनुपर्छ।
यातायातमा अहिले पनि महिला, रोगी तथा अशक्तहरूका लागि आरक्षणको व्यवस्था छ तर त्यही त लागू हुन सकेको छैन। थप कसरी लागू हुन्छ ?
सरकार केका लागि ? यस्तै कुरा लागू गराउन होइन ? के हामीले उनीहरूलाई राज्यको भत्ता खान मात्र पठाएका हौ ? अरू के-के समस्या उठाउनुभएको छ ?
सानो उदाहरण, अहिले साउन महिना छ। शिव मन्दिरमा सबै किसिमका भक्त दर्शन गर्न जान्छन्। लाइनमा हेर्नुभयो भने ज्येष्ठ नागरिक पनि एकै ठाउँमा, जवानहरू पनि एकै ठाउँमा। ज्येष्ठ नागरिकहरूका लागि भिन्दै लाइन बनाउन सकिँदैन ? के उनीहरू जवानहरू जस्तै बलिया बाङ्गा छन् ? बिजुली, टेलिफोनको बिल तिर्दा होस् वा मन्दिर, मस्जिद सबैतिर ज्येष्ठ नागरिकहरूले चेपिनुपरेको छ। सरकारले सबै ठाउँमा जसरी महिला र पुरुषको भिन्दाभिन्दै लाइन बनाउने व्यवस्था गरेको छ, त्यसैगरी ज्येष्ठ नागरिकहरूका लागि पनि भिन्दै र सजिलो गरी काम गर्ने व्यवस्था मिलाउनुपर्छु। अहिले सन्तानहरू कमाउन-पढ्न बाहिर पुगेका छन्। सानातिना काम गर्ने मान्छे नपाइने भएकाले जेष्ठ नागरिकहरूले ती काम स्वयं सम्पन्न गर्नुपर्छ। जाबो लाइन बस्न पनि ज्येष्ठ नागरिकले समस्या भोग्नुपरेको छ।
यति सानो काम सरकारले व्यवस्था गर्नुपर्छ र ? यो त नागरिक आफैं मिलेर पनि गर्न सकिँदैन र ?
नागरिकहरूले खै गरेको त ? हामी नेपाली ठूला-ठूला कुरा गर्छौं, काम भने गर्दैनौं। नियम नलादी, डन्डा नलगाई हामीमा चेत आउँदैन। यसमा सरकारले चासो नराखी हुँदैन भन्ने कुरा त अहिलेसम्म ज्येष्ठ नागरिकहरूले भोगेका समस्याबाटै थाहा हुन्छ।
तपाईंहरूको मागमध्ये स्वास्थ्यसम्बन्धी माग त यो बजेटबाट पूरा भयो होइन ?
आँखामा छारो हाल्ने प्रयास हो यो। हामीले जेष्ठ नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने र निजी अस्पतालहरूमा ५० प्रतिशत शुल्क मिनाहा गर्न माग गरेका थियौं। त्यसबाहेक अति गरिबहरूलाई ५ बेड छुट्याउन अनुरोध गरेका थियौं। सरकारले भने वाषिर्क २ हजार मात्र स्वास्थ्य उपचार खर्च दिएको छ। जो गरिब छन्, ठूलो रोग लागेको छ, उनीहरूलाई २ हजारले के हुन्छ ? तिमीहरू मर्न लागेका मान्छे हौ, मरे मर भनेर हेपेको होइन ?
निजी अस्पताल पनि व्यवसाय नै हो। ६० वर्ष माथिका सबैलाई ५० प्रतिशत शुल्क मिनाहा, निःशुल्क बेडहरू राख्ने हो भने त्यो अस्पताल कसरी चल्छ ? चलिहाल्यो भने त्यसको खर्च अरू बिरामीको टाउकामा पर्दैन ?
नेपालका सबै निजी विद्यालयले जेहेन्दार, दुर्गम एवं विशेष विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेका छन्। यसले हजारौं विद्यार्थीले निःशुल्क पढ्न पाइरहेका छन्। जब विद्यालयमा यो कुरा लागू गर्न सकिन्छ भने निजी अस्पतालमा किन लागू गर्न सकिँदैन ? अस्पताल सेवाका लागि खोलिएका हुन् कि सेवाको नाममा व्यापार गर्न ? हाम्रा कुनै पनि माग नाजायज छैनन्।
स्वास्थ्य र यातायातमा छुट, भत्तामा वृद्धिजस्ता कुराका लागि सरकारले प्रत्येक वर्ष अर्बौं रुपैयाँ छुट्टयाउनुपर्ने देखिन्छ। हाम्रो जस्तो अविकसित देशमा यति धेरै रकम छुट्टयाउन सम्भव छ ?
प्रत्येक निजी विद्यालयमा जेष्ठ नागरिक कोष बनाउन सकिँदैन ? हरेक विद्यार्थीलाई तिमीहरू जन्मिनुको कारण तिम्रा हजुरबुवा-हजुरमुवा हुन्, उनीहरूका लागि कसले ५ रुपैयाँ छुट्टयाउन चाहँदैन ? ती कलिला बालबालिकासम्म राम्रो सन्देश पुर्याउने हो भने उनीहरू खाजा कटाएर पनि ५ रुपैयाँ दिन सक्छन्। यति धेरै सहकारी छन्, बैंक तथा अन्य वित्तीय संस्था छन्, उद्योगपति छन्। ती सबैलाई ज्येष्ठ नागरिक कोषमा सहयोग गर्न आह्वान गर्नेबित्तिकै अर्बाैं रुपैयाँ जम्मा हुन्छ। इच्छाशक्ति मुख्य कुरा हो, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कि नगर्ने भन्ने सोचको कुरा हो, असम्भव केही छैन। सरकारले गर्दैन भने आमनागरिकले पनि त गर्न सक्छन्। सरकारले चासो राखेर, सरोकारवालासँग सल्लाह गरेर समस्या समाधान गर्छु भनेर लागी पर्दा किन हुँदैन?
१८ महिनादेखि यिनै कुरा भन्दै आउनुभएको छ, तैपनि समस्या जहाँको तहीँ छ, अब के गर्नुहुन्छ ?
आन्दोलनमा आउँदा-आउँदा धेरै जेष्ठ नागरिक वाक्क भैसक्नुभएको छ। उहाँहरू हामी यसै पनि मर्छौं उसै पनि मर्छौं भनेर आवेशमा आउन थाल्नुभएको छ। हामीलाई 'तपाईंहरू अराजक नहुनुहोस्' भनेर बुझाउन साह्रै गाह्रो भैसक्यो। छोरा-नातिले नहेरेका, बाल-विधवा भएका धेरै ज्येष्ठ नागरिकले जे गर्ने हो तपाईंहरूले नै गर्नु भनेर हामीलाई जिम्मेवारी लिन आग्रह गर्न थाल्नुभएको छ। तैपनि हामी थाकेका छैनौ। निर्णायक आन्दोलन गरेर भए पनि ज्येष्ठ नागरिकका समस्या समाधानको प्रयास गर्छौं। हामी सरकारका सचिवहरू, मन्त्री र सभासद्, प्रधानमन्त्रीसम्म पुगेका छौं। उहाँहरू तपाईंहरूको आन्दोलन जायज छ, समय दिनुहोस् भनेर टारिरहनुभएको छ। प्रधानमन्त्री अमेरिकाबाट फर्किएपछि पनि समस्या समाधान भएन भने हामी निर्णायक आन्दोलनमा जानेछौं। त्यसपछि हाम्रो आन्दोलनले अन्तर्राष्ट्रिय जगत्को पनि ध्यान तान्नेछ।
कस्तो आन्दोलन ?
अहिले नै त्यसको खुलासा गर्न मिल्दैन।
तपाईं त ज्येष्ठ नागरिक हुनुहुन्न, तैपनि आन्दोलन हाँकिरहनुभएको छ। ज्येष्ठ नागरिकका लागि जवान आन्दोलनकारी भनेर खिसी गर्दैनन् ?
विभिन्न वार्तामा जानुपर्छ, सबै ज्येष्ठ नागरिकका कुरा सुनेर उहाँहरूलाई मिलाउनुपर्छ। यसका लागि खट्न सक्ने मान्छे चाहिएको रहेछ। म पवित्र सेवा नेपालमार्फत ज्येष्ठ नागरिककै लागि काम गरिरहेकी थिएँ। सबैले मलाई सहयोग गर्न आग्रह गर्नुभयो। भोलि मेरो पनि अवस्था उहाँहरूको जस्तै हुन्छ भन्ने लागेर यसमा होमिएकी हुँ। आखिर हामीले आफ्ना बा-आमाका लागि नसोचे अरु कसले सोच्छ ?