सुपरस्टार अमिताभ बच्चन पहिलो पटक एउटा धारावाहिकमार्फत दर्शकमाझ आएका छन्। सोनी इन्टरटेन्मेन्ट च्यानलबाट प्रसारणमा आएको 'युद्ध' शीर्षकको धारावाहिकमा अमिताभ मुख्य भूमिकामा छन्। धारावाहिकको पहिलो भाग भने स्वयं अमिताभले हेर्न नपाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। छोरा अभिषेक बच्चनसँग विश्वकप फुटबल हेर्ने क्रममा ब्राजिलमा रहेका कारण उनले धारावाहिकको पहिलो भाग हेर्न पाएनन्। प्रत्येक भागमा करिब ५ करोड रुपैयाँ खर्च गरिएको थि्रलर शैलीको यो धारावाहिकलाई अहिलेसम्मकै महंगो हिन्दी धारावाहिक बताइएको छ। रभु दासगुप्ताद्वारा निर्देशित यो धारावाहिकका परिकल्पनाकार निर्देशक अनुराग कश्यप हुन्। धारावाहिकमा सारिका, आयशा रजा, पावेल गुलाटी, आहाना कुर्मा, जाकिर हुसैन, केके मेनन आदि कलाकारले पनि अभिनय गरेका छन्। यो धारावाहिक प्रत्येक सोमबारदेखि बिहिबारसम्म राती १०:४५ बजे प्रसारण हुन्छ।