साप्ताहिक संवाददाता
हजारौं शिव भक्त गेरुवस्त्र धारण गरी भजनकीर्तिन गर्दै बाजागाजासहित नाचगान गर्दै पदयात्रा गरिरहेका छन्। पोखराको बगरस्थित सेती नदीकिनारबाट पवित्र जल लिएर गाईघाटमा १ सय ८ धारा स्नान गरी केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जल अर्पण गर्नेहरूको भीड बढ्दो छ। मन्दिरमा बिहानदेखि बेलुकासम्म हरेक सोमबार जल चढाउनेहरूको घुइँचो देखिन्छ। यो कार्यक्रम साउन महिनाको चारवटै सोमबार सञ्चालन हुने बताइन्छ। पोखरामा बोलबम कार्यक्रमलाई व्यवस्थित बनाउन केदारेश्वर मन्दिरका चारवटै द्वार खुला गरी पूजाआजा गरी जल चढाउने व्यवस्था मिलाइएको छ। सोमबार व्रत बसी बगरस्थित गाईघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने बोलबम कार्यक्रम पछिल्लो वर्ष संस्कृतिकै रूपमा विकास भएको छ। १२ औं संस्करणको बोलबम कार्यक्रममा बालबालिका, युवायुवतीसहित वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता छ।
धरान— साउन महिनाको पहिलो सोमबारदेखि नै श्रद्धालुहरूले धरानस्थित पिण्डेश्वरी बाबाधाम मन्दिरमा जल चढाउन थालेका छन्। यस पटकको साउनमा चारवटा मात्र सोमबार परेकाले गत वर्षको तुलानामा कम भक्तालु आउने आयोजक समितिको अनुमान छ। देश-विदेशका गरी करिब ४ लाख भक्तजन यस पटकको यो अनुष्ठानमा सहभागी हुने पिण्डेश्वरी बाबाधाम समितिका अध्यक्ष गौरीशंकर अग्रवालले जानकारी दिए।
पिण्डेश्वरी बाबाधाम मन्दिरमा जल चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास छ। साउन महिनाभर यो मन्दिरमा विभिन्न ठाउँबाट जल चढाउन आउनेहरूको चाप रहन्छ। महाभारतकालमा भगवान शिवले यही ठाउँमा पिण्ड राखेको हुनाले यसको नाम पिण्डेश्वर धाम रहेको हो।
सप्तरी, झापा, मोरङ, उदयपुर आदि जिल्लाका श्रद्धालुहरू यो मन्दिरमा जल चढाउन आउँछन् भने भारतको सिक्किम, दार्जीलिङ, विहार आदिबाट पनि चल चढाउने भक्तालुहरू उत्तिकै हुने समितिका अध्यक्ष अग्रवालले जानकारी दिए। पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने श्रद्धालुहरू सप्तकोसी नदीबाट जल बोकी खाली खुट्टा हिँडेर यहाँ आइपुग्छन्।
यो मन्दिरबाट रुद्राक्ष कोसेलीका रूपमा लाने चलन छ। पिण्डेश्वर मन्दिरमा भएको रुद्राक्ष भगवान् शिवजीको आँसुबाट उमि्रएको भन्ने पौराणिक कथा छ।
सरिता पुमा राई