साप्ताहिक संवाददाता
साउन महिनाभरि हातमा मेहन्दी र हरियो चुरा लगाउनुलाई सौभाग्यका रूपमा लिइने भएकाले म हातमा मेहन्दी र हरियो चुरा कहिल्यै टुटाउँदिनँ। बुझ्ने भएदेखि भगवान् शिवको व्रत बस्दै आएकी छु। यो महिनाभरि माछा-मासु नखाई व्रत बस्ने योजना छ। साँच्चै भन्नुपर्दा म साउन महिनाभरि खुसी अनुभूति गर्छु। हिजोदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन थालेकी छु। यसपालिको साउनका लागि मैले हरियो, रातो र गुलाफी रंग मिसिएको कुर्ता सिलाएकी छु, जसलाई व्रत बस्दा लगाउँछु। म यो महिनाभरि भगवान् शिवको आराधना गर्छु। यो महिनाभरि व्रत बस्दा पुण्य कमाइन्छ र मनोकामना पूरा हुन्छ भन्ने मेरो विश्वास छ।
नम्रता श्रेष्ठ, नायिका
म यो साउन महिनाभरि चुरा र मेहन्दी लगाउन चाहेर पनि लगाउन सक्दिनँ। पेसागत बाध्यताले पनि यस्तो कुरामा रोक्ने रहेछ। सुटिङमा जानुपर्छ, मेहन्दी लगाएर हिँड्न पाइँदैन। अरूले लगाएको हेरेर चित्त बुझाउँछु। चलचित्र क्षेत्रमा लाग्नुभन्दा अघि साउनको महिमालाई अलि-अलि भए पनि पछ्याएकी थिए। अहिले त्यस्तो अवसर नै जुर्दैन। तथापि, खुसी अनुभूति गर्न यस्ता विशेष अवसरहरू मनाउनुपर्छ भन्ने लाग्छ। म आजसम्म व्रत बसेकी छैन, तर व्रत बस्ने अरू महिलाहरूलाई केही सचेत रहन आग्रह गर्छु। व्रतका कारण स्वास्थ्यमा कुनै असर नपरोस्। यस्ता परम्पराले मानिसमा विश्वास वा अनुशासन कायम राख्न प्रेरणा दिने भएकाले फेसनका रूपमा भए पनि यसले निरन्तरता पाउनु आवश्यक छ।
दीपाश्री निरौला, हास्यकलाकार
महिलाहरूको हातमा चुरा देख्दा म तरंगित हुन्छु। म हरेक साउन महिनामा उमंग प्राप्त गर्छु। शुद्ध शाहाकारी भएर भगवान् शिवको व्रत बस्छु। म धार्मिक स्वभावकी छु। यस्ता चाडपर्वका कारण धेरै महिला डिप्रेसनबाट मुक्त हुन्छन्। दिक्कलाग्दो जीवन गुजारिरहेका महिलाहरू एक महिना भए पनि खुसी हुन्छन्। मभित्र अमूर्त विश्वास छ भगवान् शिवप्रति। मेरा हरेक अभावमा होस् वा खुसीमा भगवान् शिवलाई पुकार्छुु। यो महिनालाई भगवान् शिवको आराधना गर्ने महिनाका रूपमा लिइने भएकाले म यसलाई विशेष महिनाका रूपमा लिन्छु। साउनका लागि नै भनेर रातोमा पहेंलो बोर्डर भएको कुर्ता तयार गरेकी छु। टेलिश्रृंखला तीतो सत्यमा पनि यसपटक यही पहिरनमा देखा पर्ने योजना छ। यो हाम्रो संस्कृति हो, फेसन होइन, त्यसैले यस्ता परम्परा जोगाइराख्नुपर्छ।
वषर्ा सिंह क्षेत्री, मोडल
साउन महिनामा हरियो चुरा, मेहन्दी लगाउने चलन चल्दै आएको भए पनि म त्यसमा खासै चासो राख्दिनँ, तर साउनको हरेक सोमबार भगवान् शिवको व्रत भने बस्छु। यद्यपि यसपटकको साउनमा व्रत बस्न सक्दिन होला, कारण चलचित्र 'काफल पाक्यो' को सुटिङका लागि विभिन्न ठाउँ जानुपर्ने बाध्यता छ। म यो महिनाभरि माछा-मासु भने खान्नँ। मलाई साउनमा यस्तै गर्नुपर्छ भन्ने लाग्दैन। आ-आफ्नो कुरा हो, मनले के चाहन्छ त्यही गर्नुपर्छ। जसरी आफ्नो मन रमाउँछ त्यसरी नै यो महिनालाई सेलिब्रेसन गर्दा हुन्छ।
रिस्ता बस्नेत, नायिका
साउनलाई 'कलरफूल' महिनाका रूपमा मानिँदै आएकाले यो परम्परा मलाई असाध्यै मनपर्छ। सानैदेखि आमाबाट साउनमा हरियो चुरा, मेहन्दी लगाएर सोमबारको व्रत बस्ने चलन सिकेकी भएर होला, थाहा पाएदेखि यो महिनाभरि व्रत बस्छु भने मेहन्दी एवं हरियो चुरा पनि लगाउँदै आएकी छु। अर्काे कुरा, साउनले चाडपर्व डाक्ने भएर पनि होला, यो महिना मलाई विशेष मन पर्छ। साउनकै लागि भनेर मैले हरियो रंगको कुर्ता किनेकी छु। यो महिनाभरि मेरो हातमा मेहन्दी पनि हुनेछ। सबैले यस्तो परम्परा जोगाउनुपर्छ। यस्तो प्रचलनले मनमा उमंग, सद्भाव एवं प्रेम बढाउँछ। चलनका रूपमा मनाइँदै आएका कुरा सामाजिक अनुशासनका मेरुदण्ड पनि हुन्छन्।
पार्वती कार्की, गायिका
साउन मेहन्दी, हरियो चुरा, पहेंलो, हरियो, रातो पोते लगाउने विशेष महिना भएकाले मलाई विशेष मन पर्छ। मैले बुझेदेखि हरेक साउन महिनामा व्रत बस्दै आएकी छु। यसपटक पनि व्रत बस्ने योजना छ। परिवार र श्रीमान्को सफलताका लागि भगवान् शिवको व्रत बस्ने परम्परा छ। मैले पनि यही परम्पराप्रति विश्वास जनाउँदै साउनलाई विशेष महिनाका रूपमा लिँदै आएकी छु। साउन महिनाभरि मेरो हातमा हरियो चुरा र मेहन्दी टुट्दैन। पहिलेदेखि चल्दै आएको रीतिरिवाज भए पनि हिजोआज भने यसलाई फेसनका रूपमा लिन थालिएकोे छ। यस्तो चलनले मनमा आनन्द दिन्छ। हरियो पहिरन र हरियो चुरा-पोते मलाई मात्र नभै प्रत्येक नेपाली नारीलाई सुहाउँछ।