साप्ताहिक संवाददाता
माथिल्लो स्तरको फुटबल खेल्न उनलाई अझै उमेरले पनि साथ दिने थियो नै। जर्मन टिमलाई चौथोपल्ट विश्वकप दिलाउन उनको ठूलो योगदान थियो। जर्मन टिमको मेरुदण्ड बायर्न म्युनिख हो भने त्यही क्लबका पनि प्रमुख आधार हुन्- ल्हाम। उनले आफ्नो खेल जीवनमा बायर्नका लागि मात्र खेलेका छन्। सम्भवत: ल्हाम अझै केही वर्ष बायर्नकै लागि खेल्न चाहन्छन्।
खासमा उनको संन्यासको दुई प्रमुख कारण थियो। एक त उनी चोटग्रस्त भैरहन्छन्। राष्ट्रिय टिमबाट खेल्दा चोटग्रस्त हुने सम्भावना अझ बढी हुन्छ। त्यसैले पनि उनी बायर्नका लागि मात्र आफ्नो ध्यान केन्दि्रत गर्न चाहन्छन्। दोस्राे कारण हो, संन्यास लिने योभन्दा उपयुक्त समय अर्को कुन हुन सक्छ र ? विश्वकप जितेको टिमको कप्तानका लागि राष्ट्रिय टिमबाट बिदा लिनु जत्तिको स्वादिलो संन्यास अरू हुनै सक्दैन।
यो यस्तो संन्यास हो, जसलाई धेरैले पछिसम्म सम्झनेछन्, पछिसम्म उदाहरण दिनेछन्। इङ्लिस टिमबाट संन्यास लिएका स्टेफेन जेरार्डका लागि भने उनको बिदाइ त्यति स्वादिलो रहेन, बरु तीतो नै रह्यो। ब्राजिलमा सबैभन्दा खराब खेल्ने टिममा पर्छ, इङ्ल्यान्ड। जर्मनीले जहाँ विश्वकप जित्यो, त्यहीं इङ्ल्यान्ड दोस्रो चरणसम्म पनि पुग्न सकेन। त्यसमाथि जेरार्डलाई उमेरले पनि साथ दिन छाडेको छ।
त्यसैले पनि उनले इङ्लिस टिमबाट नखेल्ने निर्णय गर्न दुईपल्ट सोचेनन्। जेरार्डले पनि आफ्नो खेल जीवनमा अहिलेसम्म खालि लिभरपुलकै लागि मात्र खेलेका छन्। उनमा अझै केही वर्ष लिभरपुलका लागि खेल्ने इच्छा छ। त्यसैले पनि उनी इङ्लिस टिमको खेल जीवन कायम राख्न चाहँदैनन्। जेरार्डका लागि समय पनि ठीक हो, नयाँ युवा खेलाडीका लािग ठाउँ छाड्ने।