मलाई लाग्छ, नेपालमा बीपी कोइराला नजन्मिएका भए, साहित्यकारहरूको संख्या नै कम हुने थियो। पढ्ने संस्कार पनि अहिलेको जति हुँदैनथ्यो। अझै पनि धेरैजसो लेखकलाई 'तपाईंको मन पर्ने लेखक को ?' भनेर सोध्दा उनीहरू एक सेकेन्ड पनि विलम्ब नगरी बीपीको नाम लिन्छन्।
मैले पनि जब नेपाली साहित्य पढ्न थाले, बीपीबाटै श्रीगणेश गरेँ। बीपीको नरेन्द्रदाइ, तीन घुम्ती, सुम्निमा, दोषी चस्मा, हिटलर र यहुदी, जेल जर्नल, आत्मवृत्तान्त मैले एसएलसी उत्तीर्ण हुनुअघि नै पढिसकेको थिएँ। त्यसपछि मलाई यस्तै लेख्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। एसएलसीपछिको फुर्सदमा मैले एउटा उपन्यास नै लेख्न थाले तर त्यसलाई पूरा गर्न सकिनँ, त्यो आफ्नो ठाउँमा छ, यद्यपि मेरो पुच्छरमा आगो लगाइदिने काम गर्ने बीपी नै हुन्, मैले त्यति नै बेला लंका जलाउन सकिनँ त्यो पनि आफ्नै ठाउँमा छ।
तिनै बीपीको नाममा खुलेको त्रिचन्द्रको पुस्तकालय जलाइयो। नेपालीहरूलाई साहित्यमा रस पसाउने योगदान भएका बीपीको नामको पुस्तकालय जल्नु भनेको निश्चय पनि लाखौँ मन जल्नु हो। त्यसो त जेसुकै जलोस् न आखिरमा बन्ने खरानी नै हो। चाहे घरभित्रबाट निस्किएको फोहोर जलोस् वा पुस्तकालयको पुस्तक। दुवैका खरानीको मूल्य उस्तै हुन्छ। चाहे आर्यघाटमा जलेको लासको खरानी, चाहे कसैको घर डढेर बनेको खरानी होस्, भौतिक रूपमा एउटै देखिन्छ, उस्तै देखिन्छ। फरक जलेको देख्नेहरूको मनको पीडा मात्र हो।
बाल्यकालमा हामी हरेक पटक नयाँ कक्षामा उक्लँदा, नयाँ पुस्तक पाउँथ्यौँ। मलाई त्यो पुस्तकको बास्ना हरहर गर्ने खालको मीठो लाग्थ्यो। पुस्तकमा गाता हालिन्थ्यो, कतै च्यातिन्छ कि, कतै केही दाग लाग्छ कि भनेर खुब जतन गरिन्थ्यो। झुक्किएर खुट्टाले पुस्तकलाई लाग्दा, हत्त न पत्त ढोगिन्थ्यो। सायद हरेक केटाकेटी अझै पनि यसै गर्छन्। केटाकेटी के, म आफैँ अझै पनि त्यसै गर्छु। मसँग कसैले पुस्तक पढ्न माग्यो भने म दिन रुचाउँदिनँ। सबैले जतन गरेर पढिदिँदैनन्। ठाउँ ठाउँमा कच्याककुचुक पारिदिन्छन्। पुस्तकभरि तरकारीको पहेँलो दाग लागेको हुन्छ। कतिपय साथीले त मेरो पुस्तक नै फिर्ता गरेका छैनन्। मन कुटुक्क गर्छ सम्झिँदा पनि। त्यसैले कसैले पुस्तक माग्दा म झसंग हुन्छु। बाहिर-बाहिर ठिक्क पार्न 'हुन्छ, लानुस् न' भने पनि भित्रभित्रै छातीमा केही चीजले कसिलो गरी अँठ्याएजस्तो हुन्छ।
एकपटक एक जना साथीले मैले आफैँले पढिनसकेको पुस्तक उठाएर लग्यो। मलाई भित्रभित्रै खुब खायो त्यो कुराले। मैले किनेको पुस्तकको कुमारीत्व उसले भंग गरिदियो। योभन्दा चित्तदुखाइ एउटा पुस्तकप्रेमीका लागि अरू के हुन सक्ला ? मलाई लाग्छ, धेरै पुस्तकप्रेमीलाई यस्तै हुँदो हो। तर एउटा पुस्तकप्रेमीलाई कसैले यो समाचार सुनाइदेओस्— केही मान्छेको सनकमा एउटा पुस्तकालय जल्यो। कस्तो पीडा होला उसलाई ?
त्रिचन्द्र कलेजमा मेरो तीन वर्ष बितेको छ। तीन वर्ष लगाएर बिएस्सी पढियो त्यहाँ। चाहे जस्तोसुकै घाम होस्, त्यो पुस्तकालय आसपासमा हुँदा मात्र पनि शीतल अनुभव हुन्थ्यो। पुस्तकालयको विपरीत दिशामा ट्वाइलेट थियो, उतापट्ट ित्यो पुस्तकालय हेर्दै हिँड्दा त्यो ट्वाइलेट पनि उतिसारो गन्हाउँदैनथ्यो। हजारौँ पटक ओहोरदोहोर गरेको बाटोकै छेउमा भएको त्यो सानो पुस्तकालय राजनीतिका ठेकेदारहरूको सनकको आगोबाट जलेर क्षणभरमै ध्वस्त भयो, खरानी भयो।
यहीँबाट थाहा हुन्छ, हाम्रो देशको राजनैतिक संस्कार। हाम्रा देशका नेताहरू कुन स्तरको राजनीति गरिरहेका छन् ? छर्लङ्ग हुन्छ यहीँबाट। पुस्तक जलेर नष्ट भयो, सकियो। पुस्तकालय त पुनस्र्थापना होला। पुस्तक दान दिने मान्छेहरू पनि प्रशस्तै निस्किएलान्, तर जुन कुसंस्कार हामीमा छ, त्यसलाई कसरी विस्थापन गर्ने ? भोलि कसैले आफ्नो क्षणिक आवेग र सनकमा आमाको फरिया जलाउला, बहिनीको जामा जलाउला, आफ्नै जन्म दिने पितालाई जिउँदै जलाउला। कसैको घरभित्रै घुसेरै आगो झोसिदेला। त्यो कुसंस्कारको जवाफ कसले देला ? त्यस्तो कुसंस्कारको विस्थापन कसरी होला ? देशलाई जवाफ चाहिएको छ, पुस्तकमात्र होइन। देशलाई संस्कार चाहिएको छ, सरकार मात्र होइन।