साप्ताहिक संवाददाता
ग्लोबल कलेज अफ म्यानेजमेन्ट अर्को एउटा उदाहरण हो। भर्खरै एसएलसी परीक्षाको रिजल्ट आएको र नयाँ विद्यार्थी भर्ना गर्ने मौसम प्रारम्भ भएकाले ग्लोबल कलेजको वालमा एसएलसी उत्तीर्णहरूलाई बधाई ज्ञापन गरिएको छ। विभिन्न समयमा भएका परीक्षाको रुटिन पनि ग्लोबलको फेसबुक पेजमा छ। त्यहाँ केही समयअघि सम्पन्न दोस्रो कान्तिपुर हिसान एडु फेयर-२०१४ मा कलेजको सहभागिताका दृश्य पनि हेर्न सकिन्छ। विभिन्न समयमा सम्पन्न रक्तदान कार्यक्रम, स्पोर्ट्स विक आदिका तस्बिर हेर्न सकिनुका साथै उक्त पेजमा विभिन्न कक्षाका विद्यार्थीलाई दिइएको फेयरवेलको भिडियोसमेत राखिएको छ।
प्राइम कलेजले कलेज तथा कलेजसँग सम्बन्धित विभिन्न व्यक्तित्वका बारेमा पत्रपत्रिकामा आएका समाचार तथा लेखहरूलाई आफ्नो फेसबुक पेजमा राख्न भ्याएको छ। त्यहाँ प्राइम कलेजमा पढेका र अहिले विभिन्न क्षेत्रमा राम्रो पर्फमेन्स गरिरहेका व्यक्तित्वहरूका बारेमा विविध जानकारीसमेत दिइएको छ।
प्लस टु र अन्य तह सञ्चालन गरिरहेका कलेजहरूले अहिले सामाजिक सञ्जाललाई विद्यार्थीहरूमा पहुँच कायम गर्ने उद्देश्यले प्रयोग गरिरहेका छन् भन्ने कुराका यी केही उदाहरण मात्र हुन्। खासगरी सामाजिक सञ्जालका रूपमा फेसबुकको लोकप्रियतासँगै कलेजहरू पनि यसको उपयोगमा किन पछि पर्थे ? अहिले प्रत्येक कलेजको आफ्नो छुट्टै वेबसाइट छ। वेबसाइटका माध्यमले पनि विद्यार्थी वा अभिभावकका बीचमा पुग्न सहज त हुन्छ नै, तर एक-अर्काका बीचमा सेयर गर्न र नयाँ जानकारी पोस्ट गर्न पनि सजिलो हुने भएकाले पछिल्लो समयमा फेसबुकको लोकप्रियता पनि बढ्दै गएको छ। यस क्रममा सर्वाधिक राम्रो परिणाम ल्याउन सफल प्रसादी एकेडेमीले आफ्नो वेबसाइट मात्र सञ्चालनमा ल्याएको छैन। यसको फेसबुक पेजमा १० हजारभन्दा बढी लाइक पनि छ। मोर्गान इन्टरनेसनल कलेजका आइटी अफिसर नवराज रेग्मीका अनुसार विद्यार्थी वा अन्य पेज भिजिटरहरूले गरेको लाइक र कमेन्टका आधारमा फेसबुक पेज धेरैको पहुँचमा पुग्छ। यसले गर्दा राजधानी मात्र नभएर मोफसलमा समेत कलेजका बारेमा सजिलै जानकारी लिन सकिन्छ।
खासगरी कलेजले आफ्नो डोमेन नेम डट इडियु डट एनपी राखेर वेबसाइट निर्माण गरेका छन्। ती वेबसाइटमा कलेजका बारेमा सामान्य जानकारी, कलेजको लक्ष्य तथा उद्देश्य, सञ्चालित कार्यक्रम, पाठ्यक्रम आदिका बारेमा जानकारी दिइन्छ। सधैंजसो सञ्चालन हुने परीक्षा, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप आदिका बारेमा वेबसाइटमा राख्नु उपयुक्त पनि हुँदैन। त्यसबाहेक अन्य अनौपचारिक कार्यक्रमका बारेमा जानकारी दिन फेसबुक पेज सहज बनेको छ।
कतिपय कलेजका विद्यार्थीले फेसबुक पेजमा आ-आफ्नो ग्रुपसमेत निर्माण गरेका छन्। कोलम्बस ग्रुप त्यसकै एउटा उदाहरण हो। यो ग्रुप कोलम्बस कलेजमा अहिले पढिरहेका र पहिले पढेकाहरूका बीचमा लोकप्रिय छ। उक्त पेजमा विद्यार्थीहरूले गर्ने विभिन्न इभेन्टलाई राखिएको छ। पहिले उक्त कलेजमा पढिसकेका धेरै साथीभाई अहिले नेपालका साथै विदेशमा समेत छन्। उनीहरूका बीचमा सम्बन्ध कायम गर्न यो ग्रुपले महत्वपूर्ण भूमिका खेलेको छ। कोलम्बस कलेजले भर्खरै आफ्नो वेबसाइटलाई पनि नयाँ रूप दिएको छ। अब यो ग्रुपका गतिविधिलाई पनि वेबसाइटमा समेट्ने योजना रहेको कलेजका प्रिन्सिपल गोपालप्रसाद रेग्मी बताउँछन्।
एसएलसी उत्तीर्ण भएर के गर्नु ? अब कलेज पढ्न जानु छ। कलेजमा मोटरसाइकल वा स्कुटर तथा मोबाइलको प्रयोग गर्न पाइँदैन। निजी कलेजहरूको छाता संगठन हिसान र उच्च माध्यमिक शिक्षा परिषद्ले नै त्यस्तो प्रतिबन्धको घोषणा गरेका छन् र त्यसको पालना धेरैजसो कलेजले गरिरहेका छन्, तर पनि प्लस टु भन्दा माथिल्लो लेभलका विद्यार्थीहरूले भने मोबाइलमार्फत पनि यसको प्रयोग गर्न सक्छन्। प्लस टुकै विद्यार्थीले पनि ल्याबमा वा कलेज भन्दा अन्य समयमा यसको प्रयोग गर्न सक्छन्। यो अवस्थामा कतिपय कलेजले आवश्यक मानेर फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगलाई प्रोत्साहित गरेका छन्। प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने र यो पनि एउटा 'कम्युनिकेसन टुल्स' का रूपमा विकसित हुँदै गएकाले फेसबुकको प्रयोग बढेको प्राइम कलेजका प्रशासकीय अधिकृत दिनेश श्रेष्ठ बताउँछन्। कक्षाकोठामा भने मोबाइलमार्फत यस्ता सञ्जालको प्रयोगलाई निरुत्साहित नै गरिन्छ। पुस्तकालय वा कलेजभन्दा बाहेकको समयमा यस्ता सञ्जालको प्रयोगलाई रोक्न पनि सकिँदैन। यसले विद्यार्थीहरूलाई आफ्नो कलेजमा भएका विभिन्न गतिविधिका सम्बन्धमा जानकारी लिन महत्वपूर्ण भूमिका खेलेको छ। भविष्यमा यस्ता प्रविधिको प्रयोग अझ बढ्ने कुरामा दुईमत छैन।