साप्ताहिक संवाददाता
दुई नायकको इद
इस्लाम धर्मावलम्वीहरूको पर्व इद उल फित्र नेपाली चलचित्रका कलाकारहरूले पनि मनाएका छन्। इदको दिन गत मंगलबार चलचित्र 'अलबिदा' को युनिटले एक-आपसमा खुसियाली साटेर इद उल फित्र मनाएका हुन्। उक्त चलचित्रका निर्माता तथा अभिनेता हसन खानले यही चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देलसँग आफ्नो मित्रता प्रगाढ बनाउँदै इद मनाए। उक्त अवसरमा दुवै अभिनेताले सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई इदको शुभकामना दिएका थिए।
ताण्डवको खेल
भदौ ६ गते प्रदर्शन हुने मोहन डोटेलको चलचित्र 'ताण्डव' ले अहिले एउटा 'डिजिटल गेम' सार्वजनिक गरेको छ। इन्टरनेट प्रयोगकर्ताले चलचित्रका सम्बन्धमा खाली राखिएका स्थानमा ड्रयाग राखेर सूचना भर्नुपर्नेछ। खेलका लागि सार्वजनिक गरिएको चलचित्रको पोस्टरमै यो खेल खेल्न सकिनेछ। पोस्टरमाथिको यो खेलले चलचित्रको प्रचार-प्रसारमा सहयोग पुग्ने निर्माता डोटेलको विश्वास छ। बेलायती नागरिक मुर्रे केरद्वारा निर्देशित यो चलचित्रमा अनुप बराल, नम्रता श्रेष्ठ, र्यापर आशिष राना 'लाउरे', एलिन गुरुङ आदि मुख्य भूमिकामा छन्।
सम्बोधनको ट्रेलर
भदौ ६ गते प्रदर्शन हुने चलचित्र 'सम्बोधन' को टे्रलर सार्वजनिक गरिएको छ। हेमराज बीसीद्वारा निर्देशित चलचित्रको टे्रलरमा अभिनेता दयाहाङ राई पृथक् भूमिकामा देखिएका छन्। चलचित्रमा नम्रता श्रेष्ठ, विनय भट्ट, प्रशान्त ताम्राकार, सुलेशमान शंकर आदिले पनि अभिनय गरेका छन्।
अनाथगृहमा जन्मदिन
नायिका बेनिशा हमालले साउन १० गते अर्थात् गत शनिबार आफ्नो २३ औं जन्मदिन चितवनको एक अनाथगृहमा मनाएकी छिन्। जन्मदिन मनाउन गृहनगर पुगेकी बेनिशाले ३० जना बालबालिका तथा केही एकल महिलाले आश्रय लिइरहेको अनाथ गृहमा केक काट्दै खुसियाली साटासाट गरेकी थिइन्।
दुई चलचित्रको सेन्सर
प्रदर्शनको तयारीमा रहेका दुई चलचित्र 'स्टुपिड मन' तथा 'सेफ ल्यान्डिङ' सेन्सर भएका छन्। भदौ २३ मा प्रदर्शन हुने 'स्टुपिड मन' ले युनिभर्सल सर्टिफिकेट पाएको छ भने मंसिर १९ गते प्रदर्शनमा आउने 'सेफ ल्यान्डिङ' ले पिजी सर्टिफिकेट पाएको छ। थाइल्यान्डमा छायांकन भएको दिवाकर भट्टराई निर्देशित 'स्टुपिड मन' मा जीवन लुइँटेल, नीरज बराल, चाँदनी शर्मा, रिज श्रेष्ठ, मार्टिन खान आदिले अभिनय गरेका छन् भने सन्दीप जोसेफद्वारा निर्देशित 'सेफ ल्यान्डिङ' मा निरज बराल, झरना बज्राचार्य, सुशीलराज पाण्डे, रवि गिरी, विजय देउजा, शिखा शाही आदिले अभिनय गरेका छन्।
कलाकारसँग बाबुराम
कलाकार संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा रहेको कलाकारहरूको एक समूहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेको छ। भेटका क्रममा डा. भट्टराईले अब बन्ने संविधानमा चलचित्र क्ष्ाेत्रका विषय पनि समेटिने आश्वासन दिएका थिए। वसुन्धरा भुसाल, लक्ष्मी गिरी, निशा अधिकारीसहितका कलाकारले डा. भट्टराईसँग भेट गरेका हुन्। भेटका क्रममा कलाकार संघका तर्फबाट दुईबुँदे सुझाव पनि प्रस्तुत गरिएको थियो।
सुनिल थापाको प्रशंसा
राते काइँलाको उपनामले लोकप्रिय कलाकार सुनिल थापा यतिबेला चर्चामा छन्। उनले अभिनय गरेको पछिल्लो हिन्दी चलचित्र 'मेरी कोम' को टे्रलर सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन्। सञ्जय लीला भञ्सालीको यो चलचित्रमा थापाले बक्सर मेरी कोमको भूमिकामा प्रस्तुत भएकी नायिका प्रियंका कार्कीको बक्सिङ गुरुको भूमिका निर्वाह गरेका छन्। सार्वजनिक ट्रेलरमा थापाले बोलेका संवादसमेत समावेश छ। यो चलचित्र भदौ महिनामा प्रदर्शन हुँदैछ।
सस्पेन्स थि्रलर गोरे
जीएस मुभी मेकर्सको ब्यानरमा निर्मित चलचित्र गोरेमा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुगेपछि बाध्यात्मक परिस्थितिमा आफूलाई बदल्नुपर्दाको कथालाई मुख्य विषय बनाइएको निर्देशक रामेशकुमार राईले बताए। सूर्य जिसी निर्माता रहेको गोरेमा दिलीप रायमाझी, अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जिसिलगायत नवप्रस्तुतिका रुपमा राकेश कुमार तथा अभिषेक गिरीले अभिनय गरेका छन्। गोरे सस्पेन्स एक्सन थि्रलर भएको निर्माणपक्षको भनाइ छ।
प्रचारमा माई प्रमिस
प्रदर्शनका लागि तयार चलचित्र माई प्रमिसको एउटा टोली प्रचारका क्रममा मोफसलका विभिन्न सहर पुगेर फर्किएको छ। उक्त प्रचार टोली पूर्वको धरान, विराटनगर हुँदै चितवन पुगेको थियो। यो चलचित्रको निर्देशन सुरज सुब्बा नाल्बोले गरेका हुन्। यो चलचित्रमा रमेशचन्द्र राई, नरकुमार लिम्बू, केकी अधिकारी, विल्सनविक्रम राई, अनुराग कुँवर आदि कलाकारले अभिनय गरेका छन्।
भदौमा बाढी
असार र साउन दुई महिनाका अधिकांश शुक्रबार कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन्। साउनको अन्तिम सातादेखि भने राम्रा भनिएका थुप्रै चलचित्र एक-अर्कासँग जुध्ने पक्का भएको छ। भदौका अधिकांश शुक्रबार तीन-तीनवटा चलचित्र प्रदर्शन हुँदैछन्। सम्बोधन, ठूली, ताण्डव, यो कथा हो तिम्रो-मेरो, नाइके, उत्सव, निशानी, पुन्टे परेडजस्ता चलचित्र भदौमा प्रदर्शन हुने घोषणा भैसकेको छ।