साप्ताहिक संवाददाता
बेल्जियममा चाहिँ एक महिलाले मलाई 'हेलो' भन्दै बोलाइन र गफ गर्ने मनसायले मतर्फ बढिन्। उनी रमाइलो मान्दै मैले साइकल कुदाएको तस्बिर खिच्दै थिइन्। साइकल रोकिएपछि उनी बीच सडकमा आइन् र मेरा बारेमा जिज्ञासा राखिन्। मैले आफ्नो यात्राको उद्देश्य सुनाएँ। अन्तत: उनी एक्कासि मलाई किस पो गर्न थालिन्। उक्त अनपेक्षित घटनावाट उम्कने कुनै उपाय थिएन, मेरो दिमागमा।
फ्रान्सको यात्रा पनि सम्झनलायक रह्यो। ट्राफिक लाइटमा रोकिएका बेला मैले एक अधबैंसे महिलालाई आफू जानुपर्ने ठाउँको लोकेसन बताइदिन आग्रह गरें। उनले फ्रेन्च भाषामा केही भनिन्, मैले बुझिनँ। त्यसपछि आफ्नो कार पार्किङ गरेर उनले आइप्याडमा गुगल ट्रान्सलेटरको माध्यमबाट फ्रेन्चलाई अंग्रेजीमा रूपान्तरण गरिन्। अनि पो थाहा भयो, उनले त 'मेरो घर जाउँ' भनेकी रै'छिन्। त्यो साँझ हामी उनको पछि लागेर करिब १७ किलोमिटर टाढाको उनको घर पुग्यौं। सबै मिलेर रातीको खाना तयार गर्यौं। खानासँगै उनले वाइन, वियर पनि खोलिन्। त्यसरात हामीले एकदमै रमाइलो गर्यौं। विहान भएपछि उनले तीनवटा टिसर्ट किनेर ल्याइन् र स्नेहपूर्वक हामीलाई उपहार दिइन्।