'सेवाग्राहीहरू मलाई देखेपछि परिचितझैं व्यवहार गर्छन्,' पौडेल फुर्किए-'त्यो खुसीको कुरा हो।' तर खुसीले उद्वेलित उनको मन त्यतिवेला निचोरिएको कागतीजस्तै हुन्छ, जब कलाकारकै साइनो लगाएर 'नहुने काम पनि गराउने' प्रयास हुन्छ। सुरुमा 'तपाईंको अभिनय मनपर्छ, सधैं टेलिभिजनमा हेर्छु' भन्दै उनलाई फुरुङ्ग बनाउनेहरू पछि 'सर, यति कामचाहिँ गरिदिनुपर्यो' भनेर ढिपी गर्दा रहेछन्। त्यतिबेला पौडेलको जवाफ हुन्छ- 'ठीकै छ, तपाईंले मेरो अभिनय मन पराइदिनुभयो, मेरो कार्यक्रम हेरिदिनुभयो तर त्यसो भन्दैमा नियमसंगत नहुने काम गर्न बाध्य नपार्नुहोला।'
१० देखि ५ बजेको समयमा उनी 'सरकारी कर्मचारी'कै भूमिकामा हुन्छन्। त्यसपछि भने भेटघाट, कार्यक्रमको तयारीजस्ता कामले पौडेललाई व्यस्त बनाउँछ। राति घर पुग्दा १० बजिसकेको हुन्छ। त्यतिबेला परिवारका सबैले खाना खाइसकेका हुन्छन्। त्यसैले चुपचाप भान्छामा छिरेर हटकेसमा राखिदिएको खाना खान्छन् र आफूले खाएको जुठा भाँडा माझ्छन्। 'मेरा कारणले अरूलाई दुःख हुनु भएन नि !' उनले सुनाए- 'त्यसैले बाँकी रहेको काम आफैं गर्छु।' त्यसो त बिहान चिया बनाउनेदेखि आफ्नो लुगा धुनेसम्मको काम उनी आफैं गर्छन्। यसमा दुईवटा फाइदा देखेका छन् उनले- एक त परिवारलाई सहयोग, अर्कोचाहिँ शारीरिक कसरत।
'बेलुकी भात खाइँदैन,' उनले भने- 'प्रायः भुटेको वा उसिनेको मकै खाइन्छ।' खाना खाइसकेपछि केहीबेर टेलिभिजन हेर्ने, इन्टरनेट चलाउने काममा समय बित्छ। फेसबुकले उनलाई कति सजिलो बनाइदिएको छ भने शिवहरिले त्यसकै माध्यमबाट थुप्रै कार्यक्रम तय गरिसकेका छन्। 'फेसबुकको माध्यमबाट मैले करिब दुई दर्जनभन्दा बढी देशको कार्यक्रम मिलाएँ,' पौडेल भन्छन्। स्टेज शोको सिलसिलामा उनले २० वटा मुलुक टेकिसकेका छन्।
सुत्नुअघि उनी केही बेर दिनभरको घटना स्मरण गर्छन् र मन छोएको दृश्य एवं संवादलाई डायरीमा लिपिबद्ध गर्छन्। यसरी टिपोट गरिएका सामग्री उनका निम्ति स्टेज कार्यक्रमको राम्रो खुराक बन्छ।
राति ११ बजेपछि मात्र सुत्ने पौडेल बिहान ५ बजेको हाराहारीमा ब्युँझन्छन्। त्यसपछि कानमा मोबाइलको हेडसेट घुसारेर समाचार सुन्दै भान्छामा छिर्छन् र आफ्ना लागि एक कप कालो चिया बनाउँछन्। त्यसैमा दूध थपेर चिया बनाइदिन्छन्, ९३ वषर्ीय आमाका लागि। छोरीलाई दूध र हर्लिक्स दिइसकेपछि उनको दैनिकी प्रारम्भ हुन्छ।
पौडेल स्वादिलोभन्दा स्वस्थकर खानामा रुचि राख्छन्। उनको भान्सामा अक्सर सादा खाना पाक्छ- दाल, भात र तरकारी। 'माछा-मासु कहिलेकाहीं मात्र हो,' उनले भने- 'प्रायजसो घरकै करेसाबारीमा फलेको सागसब्जी खाइन्छ।' बजारमा पाइने सागसब्जीमा उनको विश्वास छैन। बरु गेडागुडी ल्याउँछन्, दुई दिनसम्म पानीमा भिजाउँछन्। अरू दुई दिन फ्रिजमा राखेपछि बल्ल त्यो खानयोग्य हुन्छ। 'विषाक्त खानेकुराबाट जोगिने' काइदा रहेछ यो। गाई नपाले पनि पौडेलको भान्छामा दूध-दही टुट्दैन।
उच्च रक्तचापले तर्साउन थालेपछि उनी खानेकुरामा बढी सर्तक भएका छन्। धेरै भेराइटी खाँदा चिल्लो र नुनको मात्रा स्वत बढ्ने भएकाले सादा खान्कीमा आफूलाई अभ्यस्त बनाएको उनले बताए।
शिवहरिसँग मारुती सुजुकीको स्विफ्ट गाडी छ। यद्यपि कतै आउजाउ गर्नुपर्दा मोटरसाइकल नै सहज लाग्छ। 'गाडी लिएर हिँड्दा जाममा फस्नुपर्छ,' उनलाई लाग्छ- 'त्योभन्दा बाइक नै ठीक।' पहिरन, ग्याजेट्सजस्ता कुरामा उनको खासै आशक्ति छैन। 'लुगामा म एकदमै लापरवाह छु, फाटेको, च्यातिएको लगाएको पनि हेक्का हुँदैन,' उनले सुनाए- 'त्यही निहुँमा घरमा गाली पनि खानुपर्छ।'
शनिबार पनि पौडेललाई कामको चटारोले छाड्दैन। शनिबार टेलिश्रंृखला 'जिरे खुर्सानी'को छायांकन भ्याउनुपर्छ। अघिल्लो रात नै लेखेको स्क्रिप्टलाई श्रव्यदृश्यमा कैद गरेपछि मात्र चैनको निन्द्रा लाग्छ। त्यसबाट बचेको समय उनी पारिवारिक मनोरञ्जनमा खर्चन्छन्। रमाइलो गर्नुपर्दा परिवारसहित रेष्टुराँ पुग्छन्, घुमघाम गर्छन्। 'पहिले रमाइलोका लागि रक्सी पिइन्थ्यो,' शिवहरिले सुनाए- '५ वर्षयता त्यो पनि छोइएको छैन।' अब केही वर्षपछि भने उनले पिउने योजना बनाएका छन्। पौडेललाई लाग्छ- नपिउने उमेरमा पिइएछ अनि पिउने उमेरमा छाडिएछ। 'बुढ्यौलीले च्याप्दै गएपछि खाएको पच्दैन, निन्द्रा लाग्दैन, साथीभाइ-इष्टमित्र आदि पनि टाढा हुन्छन्, एक्लोपनले सताउन थाल्छ,' पौडेलले ठट्यौली शैलीमा प्रश्न गरे- 'त्यतिवेला रक्सीभन्दा घनिष्ठ मित्र अर्को को हुन सक्ला ?'