साप्ताहिक संवाददाता
गाईजात्राको अवसरमा देखाइने कार्यक्रमको विशेष तयारी गरिरहेका रवि डंगोलले साप्ताहिकसँग गाईजात्राको कथा त भने नै आफ्नै गाईजात्रे जीवनका बारेमा पनि खुलेर कुरा गरे। 'साँच्चै भनौं ? कतिपय हिरोले त तपाईंलाई अन्तर्वार्ता दिन पाएका छैनन् भने हिरो हुनुभन्दा त बेइमान हुनु नै जाती नि।' रविले आफ्नो कुराकानीको सुरुमै ठट्टा गर्दै भने, 'मान्छे हेन्ड्सम नभएर के भयो, कुरा त हेन्डसम गरिहाल्छु नि।'
गाईजात्रा आउन पाएको छैन, हास्यकलाकारहरूलाई भ्याइनभ्याइ हुन्छ। गाईजात्रा तपाईंजस्ता कलाकारका लागि त दुहुनो गाई नै भयो जस्तो लाग्दैन ?
वर्षभरि गाई पालेपछि दुहुनु परेन त ? गाई नदुहुँदा थुनिलो हुने डर हुन्छ। त्यही भएर हामी दुहुन्छौं।
तपाईंलाई त थुनिलो भन्ने कुरा पनि थाहा रहेछ, काठमाडौंवासीलाई कसरी थाहा भयो यस्तो कुरा ?
क्या बेमान, म किसान हुँ भन्ने कुरा था' छैन ? म त पियोर ज्यापु हुँ नि। यत्रो जीवन तरकारी बेचेरै बित्यो, थुनिलो भन्ने था' हुँदैन र ?
तरकारी पो बेच्नुभो, गाई त पाल्नुभएन नि ?
पहिले पालियो नि। अहिले पो काठमाडौं भरियो र गाई पनि हराए। हामी पोकाको दूध खाने मान्छे हौं र ?
अहिले त तरकारी उमार्ने खेत पनि छैन, के गर्नुहुन्छ ?
म त उमार्छु। थोरै भए पनि बेच्छु।
कालीमाटीमा आजभोलि तपाईंलाई देखिँदैन नि ?
गाईजात्राको तयारी गर्नुपरेन ?
होइन, धेरै भयो त्यता तपाईंलाई नदेखेको। किन छाड्नुभयो तरकारी बेच्न ?
एक दिन कालीमाटीको तरकारी बजार भरिभराउ थियो, बेच्ने ठाउँ नभएर सडककै छेउमा बेच्दै थिएँ, भित्रका कर्मचारीहरूले मेरो तरकारी उठाएर लगे। भयो के भने प्रशंसकहरू मसँग कुरा गर्न थाले, त्यही मौकामा तरकारी उठाएर लगेछन्। हेर्छु त आफ्नो तरकारी बेपत्ता। भित्र गएर सोध्दा उनीहरू भन्छन्, तपाईं कलाकार भएर पनि नियम पालना नगर्ने। ओहो, कलाकार भएपछि त सानो गल्ती गर्दा पनि गाह्रो हुँदो रहेछ भन्ने लाग्यो। ती कर्मचारीले मेरो आधा तरकारी नै खाइदिए, मुख छाड्न पनि नमिल्ने। गाह्रो भो' बा, भनेर छाडियो।
कति भयो उक्त घटना घटेको ?
धेरै भएको छैन, त्यस्तै दुई-चार वर्ष भयो। ५० सालसम्म त म खर्पनमै तरकारी बेच्थें। त्यसपछि नाटकबाट कमाएको पैसाले साइकल किनें। म त्यही साइकलमा तरकारी बेच्थें, त्यही साइकल चढेर नाटकमा अभिनय गर्न आउँथे। साइकलमा तरकारी बेचेरै मैले आफ्ना लागि घर बनाएको हुँ।
सेलिब्रेटी भएर तरकारी बेच्दा के फाइदा हुँदो रहेछ ?
भनेको दाम लिन पाइन्छ। छेउछाउका तरकारी व्यापारीहरू मेरो छेउमा त बेइमानले तरकारी बेच्छ भनेर प्रचार गर्दा रहेछन्। जति दाम लिए पनि मेरो तरकारी पहिलै सकिने।
तपाईं कलाकार कि किसान ?
धेरै पटक तरकारी नबिकेर मिल्काउनुपरेको छ। कति पटक रिहर्सल गरेर पनि नाटक देखाउन पाइएको छैन। तैपनि नाटक देखाउन नपाउनुभन्दा बाटोमा तरकारी फ्याक्नु पर्दा धेरै दुःख लाग्थ्यो।
धेरै मानिस किसान र तरकारी व्यापारको अवहेलना गर्छन्, तपाईंलाई कसैले हेपेन ?
नगर प्रहरीले साह्रै हेप्थ्यो, बाटामा सामान राखेर होला। नत्र आफ्नो बारीको तरकारी बेच्न केको लाज र अपहेलना ? अहिले त हामी सबै कलाकार तरकारी खेती र व्यापारमा लागेका छौं। अहिले धुर्मुसले बंगुर पाल्छन्, जितुले पनि त्यही व्यापार गरेको हो। मह जोडीको त ठूलो फार्म हाउस नै छ। हामीले यसको इज्जत बढाइदिएका छौं।
अहिले तरकारीमा विषादी हालिन्छ, तपाईं पनि विषादी मिसाउनुहुन्थ्यो ?
मैले बाहिरको तरकारी कहिल्यै बेचिनँ। आफूले कहिल्यै विषादी प्रयोग गर्नुपरेन। पहिलेका किसान पैसाका लागि भन्दा पनि खाएर उबि्रएको तरकारी बेचौं भन्ने भावनाका थिए, गलत कुरा बेच्नुहुँदैन भन्ने संस्कार थियो, अहिले सबै बेइमान भएका छन्।
तपाईं पनि त बेइमान नै हो नि। सबैले बेइमान भनेर बोलाउँछन्, होइन र ?
हेर्नुस्, यहाँ को छ र इमानी ? सबै बेइमान भएपछि म मात्र किन इमानी हुने ? हो, म पनि बेइमान नै हो। साँच्चैको होइन, कलाकारका रूपमा। त्यसैले मलाई हिट बनाइदियो।
तपाईं ज्यापुको छोरो, तरकारी बेच्दाबेच्दै कसरी कलाकार हुनुभयो ?
कलाकार रे, म त हिरो नै हुन चाहन्थे नि। मिथुन र अमिताभ बच्चनको चलचित्र हेरेर हुर्किएको मान्छे म ? मलाई त उनीहरूभन्दा म नै राम्रो एक्टिङ गर्न सक्छु भन्ने लाग्थ्यो। हिरो हुने लालसाकै कारण म काठमाडौंका हलमा लागेका सबै चलचित्र हेर्थें। सानैदेखि तरकारी बेच्ने हुनाले गोजीमा पैसाको कमी हुँदैनथ्यो, चलचित्र हेरेरै मेरो बाल्यकाल बित्यो।
त्यो बेलाको कुनै स्मरणीय घटना ?
विश्वज्योतिमा मगरुर भन्ने चलचित्र लागेको थियो। म आफूलाई हिरो नै मान्थें। अघिको बेन्चमा बसेको मान्छेलाई जानी-जानी लात्तले हाने। त्यसपछि त तीन जना ममाथि जाइलागे। उनीहरूलाई कुट्न खोजेको त मलाई उल्टै नराम्रोसँग कुटे। मुख सुन्निएर भकुन्डोजत्रो भयो। त्यो दिनदेखि म चलचित्रको जस्तो हिरो होइन रहेछु भन्ने थाहा भयो। त्यो घटना म कहिल्यै बिर्सन्नँ। अर्को पनि घटना छ, भनौं ?
भन्नुस् न त।
मलाई त्यो बेला विनोद खन्ना धेरै मन पर्थे। चलचित्र 'कुर्वानी' मा विनोद खन्ना मर्छन्। त्यतिबेला म धेरै रोएँ। हलबाहिर पनि रोइरहेको देखेर सबैले किन यति धेरै रोएको भनेर सोधे। मैले विनोद खन्ना मरेकाले रोएको भनें। ती सबै गलल्ल हाँसे। मलाई सार्है रिस उठ्यो।
त्यति ठूलो हिरो मर्दा पनि उनीहरू कसरी हाँस्न सकेको भन्ने लाग्यो। पछि 'खुदा कसम’ हेर्दा त देख्छु, विनोद खन्ना जीवितै छन्। सबैले विनोद खन्ना आएपछि सिठ्ठी बजाए, मचाहिँ खुसीले नाच्न थालें। विनोद खन्ना मरेका छैनन् भनेर मैले खुसीले बाहिर निस्किएर हल्ला गरें। अहिले सम्झन्छु, म साँच्चैको ग्वाँच पो रहेछु।
कलाकारिता कहिलेदेखि प्रारम्भ गर्नुभयो ?
२०४९ सालदेखि, देवी टेलिसिरियलबाट। त्योभन्दा अघि एउटा नाटकमा पनि काम गरेको थिएँ।
कलाकारका रूपमा सबैभन्दा खुसी लागेको क्षण ?
२०६१ सालमा विराटनगरको रंगशालामा स्थानीय उद्योग वाणिज्य महासंघले कार्यक्रम गरेको थियो। त्यहाँ हाम्रो पनि प्रस्तुति थियो। हामीलाई हेर्न १० औं हजार मान्छे आएका रहेछन्। गोपाल फिस्टेलाई त भीडले उचाली-उचाली स्टेजसम्म पुर्यायो। मैले त नेतालाई हेर्न त्यत्रा मान्छे आएको देखेको थिएँ, कलाकार पनि यसरी सम्मानित हुँदा रहेछन् भन्ने लाग्यो। त्यो दिन म धेरै खुसी थिएँ।
कहिले थाहा भयो, आफू पनि लोकपि्रय रहेछु भन्ने कुरा ?
एउटी झापाली युवतीले पत्र लेख्दै प्रेम प्रस्ताव राखिन्। साह्रै मरिहत्ते गरिन्। तपाईंका लागि जस्तोसुकै दुःख खेप्न पनि तयार छु भनिन्। त्यो बेला लाग्यो— लौ बेमान तँ पनि लोकपि्रय रै'छस्।
अहिले गाईजात्रा आफ्नो सांस्कृतिक कारणले भन्दा पनि हास्यव्यङ्ग्यका कारणले लोकपि्रय छ। काठमाडौंकै बासिन्दा भएका नाताले दुःख लागेको छैन ?
हास्यव्यङ्ग्य कार्यक्रम पनि गाईजात्राकै एउटा पाटो हो। यसको पनि इतिहास छ नि। २०३३ सालमा सत्यमोहन जोशीले पुरानो परम्परालाई आधुनिक रूपमा मनाउने उद्घोष गर्नुभएको थियो। त्यहीँबाट मह जन्मियो। यो ठूलो इतिहास हो। म यसलाई काठमाडौंको संस्कृति मान्छु।
अनि यसको सांस्कृतिक पक्ष नि ?
त्यो पनि चलिरहेको छ। हास्यव्यङ्ग्य त्यसैको फरक धार हो। त्यो पनि चल्दै जान्छ, हास्यव्यङ्ग्य पनि अघि बढ्दै जान्छ।
अब गाईजात्रामा पहिलेजस्तो गौरव पनि रहेन, कार्यक्रमको स्तर खस्कियो भन्नेहरूलाई के भन्नुहुन्छ ?
हो, अहिले व्यवसायिक भएर गएको छ। पहिले यो आन्दोलन थियो, कलाकारहरूमा राम्रो गर्नुपर्छ र यसैको मद्दतबाट प्रजातन्त्र ल्याउनुपर्छ, लोकतन्त्र ल्याउनुपर्छ भन्ने थियो। अहिले यो विशुद्ध मनोरञ्जन भएको छ। तैपनि यसको स्तर खस्कियो भन्नेचाहिँ म मान्दिनँ। यद्यपि त्यसो भन्दैमा सबै राम्रो छ भनेको होइन। राम्रो गरिएन भने दर्शकले विकल्प खोज्छन्। यसमा कलाकार स्वयं चनाखो हुनुपर्छ।
अश्विनी कोइराला