मोबाइलबाट फेसबुक चलाउनुहुन्छ र च्याट गर्नुहुन्छ भने अब अलिकति झन्झट हुने भएको छ। फेसबुकले मोबाइल एप्सबाट म्यासेज पठाउने सुविधा बन्द गर्ने घोषणा गरेको छ। यसबाट आइओएस र एन्ड्रोइड एप्स प्रभावित हुनेछन्। यद्यपि डराइहाल्नुपर्ने अवस्था भने छैन। बरु अब म्यासेजिङ सेवा प्रयोग गर्न फेसबुककै डेडिकेटेड मोबाइल म्यासेन्जर एप प्रयोग गर्नुपर्नेछ। नेटिभ आइओएस र एन्ड्रोइडबाट भन्दा म्यासेन्जरबाट २० प्रतिशत छिटो रिप्लाई हुने र विभिन्न खाले समस्या पनि समाधान हुने बिश्वास फेसबुकले लिएको छ। मोबाइल वेब, आइप्याड, विन्डोज फोन र डेस्कटप कम्प्युटरमा भने म्यासेजिङ सुविधा हटाइनेछैन। फेसबुकले युरोपेली राष्ट्रहरूमा गत अप्रिल महिनामै म्यासेजिङ सेवा बन्द गरिसकेको छ। यसका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई एप्स डाउनलोडको लिंक पठाउन थालेको छ। च्याट सुविधा बन्द गर्नुअघि फेसबुकले प्रयोगकर्तालाई विभिन्न सूचना पनि दिनेछ। फेसबुकले प्रयोगकर्तालाई एप्समा गरिएको परिवर्तनको कारण जनाउँदै इमेल पनि लेख्ने बताएको छ।