साप्ताहिक संवाददाता
तपाईंलाई अचम्म लाग्ला, यतिबेला म गाईजात्रा महोत्सवको तयारीमा व्यस्त छु।
हास्य कलाकारिता प्रारम्भ गर्नुभएको हो ?
होइन-होइन, हास्य कलाकारिता गर्न सक्ने प्रतिभा त ममा छैन तर यसपटकको गाईजात्रा महोत्सवमा म पहिलो पटक प्यारोडी गीतमार्फत दर्शकमाझ आउँदैछु।
यसअघि कहिल्यै नगाएको यो विधामा प्रस्तुत हुन कसरी तयार हुनुभयो ?
नेपालमा लामो समयदेखि गाईजात्रा महोत्सव हुँदै आएको छ, मैले अहिलेसम्म दर्शकका रूपमा समेत त्यस्ता महोत्सवमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी थिइनँ। प्रज्ञाभवनमा आज शुक्रबार प्रारम्भ हुने गाईजात्रा महोत्सवमा प्यारोडी गीत गाउने प्रस्ताव पाउँदा सुरुमा त विश्वासै लागेन।
प्रस्ताव पाएपछि के भन्नुभयो ?
म अत्यन्त एक्साइटेड भएँ। कलाकार भएपछि हरेक प्रकारको प्रस्तुति दिन सक्नुपर्छ भन्ने लागेर उक्त प्रस्ताव तत्काल स्वीकार गरे।
महोत्सवमा तपाईंले प्रस्तुत गर्ने प्यारोडी गीत कस्तो छ ?
मेरा तीनवटा लोकप्रिय गीत उध्रेको चोली, रातो घाँघरा तथा माछी मारन...को धुनमा आधारित प्यारोडी प्रस्तुत गर्दैछु। हास्यकलाकार घनश्याम गौतमले ती गीतको धुनमा आधारित हास्यव्यंग्यात्मक शब्द तयार पार्नुभएको छ।
प्यारोडी गीत रेकर्ड नै भैसक्यो कि ?
'खानलाई होइन, लुट्नचाहिँ पाइन्छ, आफ्नो भागको ५ करोड माग्नलाई पाइन्छ, पुरानै दौरा-सुरुवाल सिलाएर लाइन्छ' जस्ता शब्दबाट प्रारम्भ हुने यो प्यारोडी गीत रेकर्ड गर्नै पर्दैन। स्टेजमा मैले लाइभ परफरमेन्स गर्ने भएकाले पुरानै गीतको ट्रयाकमा हास्यव्यंग्यात्मक शब्दलाई प्रत्यक्ष प्रस्तुत गर्दैछु।
स्टेजमा नृत्यलाई प्राथमिकता दिनुहुन्छ कि शब्दलाई ?
गाईजात्रा विशेष कार्यक्रम भएकाले दर्शकलाई कमेडीको स्वाद दिनुपर्छ। त्यसैले यसपालि नृत्यभन्दा बढी 'कमिक एक्ट' गर्ने तयारी गरेकी छु। महोत्सवका २१ वटा शोमा फरक-फरक पहिरनमा प्रस्तुत भएर दर्शकलाई फरक-फरक स्वाद दिने प्रयास गर्नेछु।