साप्ताहिक संवाददाता
लिंग महोत्सव
हिन्दू परम्परामा लिंग पूजा गर्ने चलन छ। नेपालमा पनि सन्तानको आशामा भगवानको लिंग पुजिने चलन छ। यस्तै किसिमको एउटा परम्परा जापानमा पनि छ। जापानको कावासाकी सहरस्थित कानायामा तीर्थमा वाषिर्क रूपमा लिंग महोत्सव हुन्छ। अप्रिल महिनाको पहिलो शनिबार हुने यो महोत्सवमा फलामको ठूलो कृत्रिम लिंगलाई खटमा राखेर नगर परिक्रममा गराइन्छ। पुरुषले उक्त लिंग स्पर्श गरे यौन क्षमता बढ्नुका साथै शुक्रकीट बलियो हुने, यौनकर्मी महिलाले स्पर्श गरे यौनरोगहरू नसर्ने, विवाहित पुरुषले छोए वैवाहिक जीवन राम्रो हुने तथा अविवाहितले छोए असल श्रीमान् वा श्रीमती पाइने जनविश्वास छ।
पिसाब दिवस
अमेरिकाको न्यूजर्सीस्थित प्रिन्सटोनमा वाषिर्क रूपमा पिसाब दिवस आयोजित गरिन्छ। प्रत्येक वर्षको मार्च महिनाको दोस्रो शनिबार हुने यो दिवस प्रिन्सटोनको युद्धको सम्झना गर्दै सम्पन्न गरिन्छ। बि्रटिस सेनाध्यक्ष चाल्र्स महुड तथा उनको सेनाले प्रिन्सटोनमाथि आक्रमण गर्दा उनीहरू पराजय भोगेर भागेका थिए। त्यो बेला 'ब्याटल अफ प्रिन्सटोन' नामकरण गरिएको युद्धमा पराजित भएर भागेका बि्रटिस सेनालाई स्थानीय व्यक्तिहरूले पिसाब छ्यापेका थिए। त्यही दिनको सम्झना गर्दै सन् १८७७ मा त्यसको शतवाषिर्की मनाइएको थियो। सन् १८७७ देखि १८८३ सम्म उक्त दिन सार्वजनिक बिदा दिएर त्यसलाई विजय दिवसका रूपमा मनाइन्थ्यो। मौसमका कारण सन् १८८४ देखि यसलाई मार्च महिनामा सारियो।
गोलभेंडा महोत्सव
स्पेनको बुनोल भ्यालेन्सियामा वाषिर्क रूपमा सञ्चालन हुने गोलभेंडा फ्याक्ने दिवस अहिले विश्वकै आकर्षक महोत्सवमध्ये एक हो। अगस्ट महिनामा पर्ने यो महोत्सव सन् १९४५ देखि मात्र प्रारम्भ भएको हो। उक्त वर्षको अगस्ट महिनामा केही युवाले खुसियालीका लागि सांगीतिक प्रस्तुति दिने क्रममा भीड बढेर स्थानीय तरकारी बजारमा केही युवा लडे। लडेका युवाहरूले त्यही तरकारीले अरूलाई हाने, जसमा गोलभेंडा पनि थियो। उक्त घटना निकै रमाइलो भएपछि त्यसले वाषिर्क महोत्सवको रूप लिँदै गयो। अहिले यो महोत्सव साप्ताहव्यापी रूपमा आयोजित हुन्छ।
कुट्ने दिवस
बोलिभियाको माचा तथा पोटोसी क्षेत्रमा वाषिर्क रूपमा छिमेकीलाई कुट्ने दिवस सम्पन्न गरिन्छ। प्रत्येक वर्षको मे महिनामा हुने यो महोत्सवमा पहिले त छिमेकीको हत्या नै सम्म पनि हुन्थ्यो। भक्तपुरको बिस्केट जात्रामा रथ तान्न छिमेकी टोलमा ढुंगा हानेजस्तो यो महोत्सवमा छिमेकीलाई मुक्का हानेर रगतपक्ष बनाइन्थ्यो। ६ सय वर्षभन्दा अघिदेखि चलेको यो चलनले छिमेकीलाई हिर्काएर रगत जमिनमा झार्न सके खेतीपाती राम्रो हुन्छ भन्ने जनविश्वासका आधारमा निरन्तरता पाउँदै आएको छ। यो महोत्सव अहिले पनि हुन्छ, तर प्रहरीले निगरानी राख्ने हुनाले मानवीय क्षति भने कम हुने गरेको छ। अहिले झगडामा कुनै पनि व्यक्तिको अलिकति पनि रगत बगे प्रहरीले हस्तक्षेप गर्छ।
बाँदर भोजन दिवस
हाम्रो देशमा नाग पञ्चमी, काग-कुकुर-गाईतिहारजस्ता चाडपर्वमा विभिन्न जनावरलाई खानेकुरा ख्वाएर पूजा गर्ने चलन छ। यस्तै थाइल्यान्डमा बाँदरलाई खानेकुरा ख्वाएर बाँदर भोजन दिवस मनाइन्छ। सन् २००७ देखि चलनमा आएको यो महोत्सवको मुख्य ध्येय थाइल्यान्ड आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्नु हो। यो पर्वका क्रममा बैंककको छेवैमा रहेको लोवकुरीका बाँदरलाई विभिन्न किसिमका फलफूल ख्वाइन्छ। उक्त दृश्य हेर्न धेरै पर्यटक त्यहाँ पुग्छन्।
बर्मुडा दिवस
विश्वमा फेसनका रूपमा चलेको हाफ पाइन्टको चलन बर्मुडाबाट आएको कुरामा दुईमत नहोला र बर्मुडावासीले पहिलो पटक त्यही हाफ पाइन्ट लगाएर अफिस गएको दिनलाई दिवसकै रूपमा मनाउने चलन छ। प्रत्येक वर्षको मे २४ मा पर्ने यो दिवस अहिले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय हुँदै गएको छ। यो दिवस हेर्न विश्वका धेरै व्यक्ति बर्मुडा पुग्छन्। प्रारम्भमा यसलाई बर्मुडाका स्थानीयवासी चिसो मौसममा समुद्रमा गएको दिनका रुपमा लिइन्थ्यो भने पछि बर्मुडावासी कार्यालय जाँदा हाफ पाइन्टमा गएको दिनको सम्झना गर्दै मनाउन थालियो। बर्मुडाबासीले लगाएको हाफ पाइन्ट अहिले फेसनका रूपमा लोकप्रिय भएपछि यो दिवसमा हुने महोत्सव तथा झाँकीले बाँकी विश्वलाई मोहित बनाइरहेको छ।
बच्चा नाघ्ने पर्व
स्पेनको ग्रामीण भेग क्यास्टि्रलो डी मुर्सियामा वाषिर्क रूपमा बच्चा नाघ्ने पर्व आयोजित हुन्छ। सन् १६२० तिर प्रारम्भ भएको अनुमान गरिएको एल कोलाचो (बच्चा नाघ्ने) पर्वमा १२ महिना नपुगेका शिशुहरूलाई सुताएर उनीहरूलाई नाघिन्छ। यसरी शिशुलाई नाघ्ने व्यक्तिले भूतको पहिरन लगाएका हुन्छन्। भूतको पहिरन लगाएर नाघ्दा शिशुलाई भूतप्रेतले छुँदैन भन्ने स्थानीय जनविश्वास छ।