'एउटा परदेशी आई सोध्यो मलाई...' शुक्रबार साँझ लाजिम्पाटस्थित र्याडिसन होटलको हलमा निर्माण गरिएको आकर्षक स्टेजमा उक्लिएर गायिका देविका बन्दनाले यो गीत गाउन थालेपछि दर्शकदीर्घामा रहेका संगीतपारखीहरू हषिर्त भए। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय देविकालाई सुन्न सर्वसाधारणदेखि सांगीतिक क्षेत्रका स्थापित अनुहारहरूको बाक्लो उपस्थिति थियो। एक दर्जन वाद्यवादकसहित प्रस्तुत भएकी देविकाले आफ्नो सांगीतिक यात्राका क्रममा लोकप्रिय भएका डेढ दर्जनभन्दा बढी गीत सुनाउँदा दर्शकले राति ११ बजिसकेको पत्तै पाएनन्। देविकाले कुनै पनि गीत गाउनुअघि उक्त गीतसँग जोडिएका रोचक प्रसँग सुनाउँदा कार्यक्रम थप रोचक भएको थियो।