मेला भर्न आएका तीर्थयात्रीहरू सधैंजसो गैरहने मूलखर्क र राम्चेको पहिरोमा रोकिने गरेका थिए, तर यो वर्ष राम्चेको पहिरोले पनि पर्यटकहरूलाई साथ दिएको छ। मेलाका लागि सम्पूर्ण तयारी पूरा भैसकेकाले शनिबारदेखि नै गोसाइँकुण्डमा तीर्थयात्रीहरूको घुइँचो छ। समुद्री सतहबाट १४ हजार १ सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई आवश्यक सहयोग पुर्याउन गोसाइँकुण्ड क्षेत्र विकास समितिले विभिन्न उपसमिति गठन गरेको छ।
भक्तजनलाई पर्याप्त बासको व्यवस्था मिलाउन भैरहेका होटलका अतिरिक्त सयभन्दा बढी थर्कु छाप्रो राखिने भएको छ। तीर्थयात्रीहरूको स्वास्थ्यको विशेष हेरचाह गर्न गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा जिल्ला स्वास्थ्य कार्यालय र गि्रनसिटी अस्पताल तथा चोलाङपाटीमा नेपाली सेनाको नारायणदल गणद्वारा नि:शुल्क शिविर सञ्चालन गरिनेछ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला भर्न आउने तीर्थयात्रीहरूका लागि खाने-बस्ने दररेटसमेत तोकेको छ। मेलामा आउने तीर्थयात्रीहरूका लागि घट्टेखोलादेखि गोसाइँकुण्डसम्मकै लागि खाने-बस्ने दररेट तोकिएको छ, घट्टेखोलामा दाल-भात-तरकारी-अचारको १ सय ५० देखि २ सय ५० रुपैयाँसम्म पर्नेछ भने छाप्रामा सुतेको ३ सयदेखि ५ सयसम्म लाग्नेछ। तोकिएको दररेटभन्दा बढी रकम लिने उपर कारबाही गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए।
यस्तै गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीहरू बीच बाटोमा लुटिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी खटाएको छ। तीर्थयात्रीहरूलाई ठग्न नदिन प्रशासन कार्यालयले सिभिलमा गुप्तचरसमेत पठाउने योजना बनाएको छ। होटलवालाहरूले मौकाको फाइदा उठाउँदै तीर्थयात्रामा आउनेहरूलाई विगतका दिनमा ठगेको गुनासो आएपछि प्रशासनले यस्तो सतर्कता अपनाएको हो।