एसियाली देशबीच हुने खेलकुदको सबैभन्दा ठूलो मेलामा नेपालले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन। सविता राजभण्डारीले तेक्वान्दोमा जितेको रजत पदक नै नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक हो। ४ वर्ष पहिलेको गोन्जाउ एसियाड नेपालका लागि सन्तोषजनक रहेन। त्यतिबेला अन्तर्राष्ट्रिय प्रतियोगितामा सधंै आशा गरिने तेक्वान्दो पूरै फ्लप भयो। गोन्जाउमा नेपालको नाक राख्ने काम गरेका थिए, मुक्केबाज दीपक महर्जनले।
चार वर्षपछि नेपाल फेरि त्यही खेल मेलामा सहभागी हुन जाँदैछ। नेपालले पदक जित्ला वा नजित्ला वा विगतको भन्दा राम्रो वा खराब प्रदर्शन गर्ला, हेर्न बाँकी नै छ, तर त्यही ठूलो खेल अघि आइरहेका बेला नेपालका खेलकुद मन्त्रीदेखि राष्ट्रिय खेलकुदपरिषद् (राखेप) तथा नेपाल ओलम्पिकका पदाधिकारीहरू भने जुँगाको लडाइँमा लागिपरेका छन्। यी खेलकुदका जिम्मेवार निकायबीचको 'शीतयुद्ध' मा नेपाली खेलाडीहरू मारमा परेका छन्। खेलकुदका आधिकारिक संस्था तथा ती संस्थाका पदाधिकारीहरूको व्यवहारले खेलाडीको मनोविज्ञानमा असर परेको छ, जसले उनीहरूको प्रशिक्षण र खेललाई नै असर गर्न सक्छ।
प्रतियोगिताका लागि अन्य देशले 'फुल फेज' मा तयारी गरिसकेका छन्, तर नेपालमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राखेपका सदस्य-सचिव युवराज लामाबीचको द्वन्द्वको चपेटामा खेलाडीहरू मिचिएका छन्। कहिले मन्त्री पौडेलले सदस्य-सचिव लामालाई पदबाट निकाल्ने प्रयास गरे। लामा उनीविरुद्ध अदालत पुगे। त्यसले ठूलो अन्यौल जन्मायो, विशेषगरी संघ, खेलाडी एवं प्रशिक्षक वृत्तमा। पौडेलले लामा हुँदाहुँदै राखेपका उपाध्यक्ष तथा आफ्नै पार्टी एमालेका साथी टेन्डी शेर्पाको संयोजकत्वमा एसियाली खेलकुद तयारी समिति गठन गरे। टेन्डीले आफ्नो काम सुरुवात गर्ने बताइरहँदा अर्कातर्फ लामाले शेर्पा समिति अवैधानिक भएको र आफूले नै एसियाली खेलको तयारी गर्ने जानकारी दिए।
अब खेलाडीले के गर्ने त ? कुन कमिटीले बोलाएको प्रशिक्षणमा सहभागिता जनाउने ? खेलाडीको काम खेल्ने र पदाधिकारीहरूको काम खेल्ने वातावरण मिलाउने हो, तर राजनीतिबाट छिरेका खेलकुदका उच्च पदाधिकारीहरू खेलाडीको नाम बेचेर आफैं रजाइ गर्न खोजिरहेका छन्, खेलाडीको समस्या समाधानभन्दा घाउमा थप नुन थप्न खोजिरहेका छन्। गत साता राखेप सदस्य-सचिव लामा र मन्त्री पौडेलबीच वार्ता मिलेको कुरा बाहिर आएको छ। लामाले पत्रकार सम्मेलनमै मन्त्री पौडैल विरुद्धको मुद्दा फिर्ता लिन सक्ने बताउँदै 'सफ्ट मार्ग' अपनाएका छन्, तर झगडाको अन्यसँगै लामाले अर्को नयाँ लफडालाई अघि बढाउने संकेत गरे, किनभने उनले सर्वोच्च अदालतले चार वर्षअघि मान्यता दिएको रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई अघि सार्दै अघि बढ्ने बताए।
समस्या तब-तब सुरु हुन्छ जब नेपालले ठूला प्रतियोगिता जस्तै, ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने मिति नजिकिँदै जान्छ। राखेप र नेपाल ओलम्पिक कमिटीबीच सधैं विवाद हुन्छ। नेपालले इन्चोनमा सहभागिता जनाउन अन्तर्राष्ट्रिय मान्यता प्राप्त ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीसँग मिलेर अघि बढ्नुपर्छ। राणा ओलम्पिक कमिटीले केही काम गरेको पनि छैन, तर प्रधान ओलम्पिक कमिटीले पनि अन्तर्राष्ट्रिय चार्टर्डको नाम बेच्नेबाहेक अन्य कुनै ठोस योगदान दिन सकेको छैन। प्रधान कमिटीको सबैभन्दा ठूलो उपलब्धि सातदोबाटोमा उसले बनाएको ठूलो भवन मात्र हो। अब राखेप तथा ओलम्पिक कमिटीबीच विवाद चर्कने पक्का छ र मारमा पर्नेछन् मेहनत गरेर रगत-पसिना बगाउने खेलाडीहरू। यस विषयमा सरकारले बेलैमा ध्यान नदिने हो भने नेपालले दक्षिण कोरियाको इन्चोनमा राम्रो प्रदर्शनको आशा नगरे हुन्छ।