साप्ताहिक संवाददाता
पछिल्ला दुई वर्षमा १८ कीर्तिमान बने, यो नेपाली एथलेटिक्सका लागि दुर्लभ प्रदर्शनजस्तै हो। 'हाम्रा लागि यो गर्विलो प्रदर्शन हो,' एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले बताए। पछिल्लो पटक मलेसियामा भएको एथलेटिक्स च्याम्पिनसिपमा नेपालको गतिलो प्रदर्शनले पनि खेलाडीहरूमा उत्साह थपेको छ।
मलेसियामा नेपाल समग्रमा तेस्रो स्थानमा थियो, त्यहाँ नेपालले ३ स्वर्ण, ३ रजत र २ कांस्य जितेको थियो। २ स्वर्ण जितेर हरिबहादुर रिमाल नायक बनेका थिए। मलेसियामा सम्पन्न भएजस्तो प्रतियोगिता वर्षमा दुईपल्ट खेल्ने प्रशिक्षक राणाको योजना छ। राणाका अनुसार त्यसले दक्षिण एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न खेलाडीहरूलाई मद्दत मिल्नेछ।
नेपाली एथलेटिक्समा देखिएको यस्तो सुधारको रहस्य के हो त ? केही समयअघि एथलेटिक्सले राष्ट्रिय टिमको अवधारणा तयार पारेको थियो। यसअन्तर्गत प्रतियोगिता होस् अथवा नहोस् राष्ट्रिय टिम नियमित अभ्यासबाट गुजि्ररहेको हुनेछ। राष्ट्रिय टिममा परेका खेलाडी पनि राम्रो प्रदर्शनका लागि दबाबमा रहन्छन्, किनभने प्रत्येक चार महिनामा राष्ट्रिय टिम फेरिन सक्छ।
अहिले नेपाली एथलेटिक्सको ध्यान दक्षिण कोरियाको इन्चेनमा हुने एसियाली खेलकुदमा केन्दि्रत छ। नेपाली एथलेटिक्सले इन्चेनमा कुनै पदक जित्ने अपेक्षा राखेको छैन, तर त्यहाँ केही राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भने छ। एसियाली खेलकुदका लागि अहिले १२ खेलाडी नियमित अभ्यासमा छन्।
'एसियाली खेलकुद हाम्रा लागि हामी कहाँ छौं भनेर जाँच्ने अवसर हो। एसियाडमा पाइने एक्सपोजरले हामीलाई दक्षिण एसियाली खेलकुदमा राम्रो प्रदर्शनका लागि मदत गर्नेछ,' प्रशिक्षक राणा भन्छन्- 'हाम्रो मुख्य लक्ष्य त दक्षिण एसियाली खेलकुद नै हो। नियमित अभ्यास कायम राख्ने हो भने हामीले दक्षिण एसियाली खेलकुदमा धेरै सुधार गर्न सक्छौं।'